ढुङ्गा, गिट्टी तस्करीका नाइके मनोजलाई सिडिओ कुरुम्वाङ्गले पक्राउ गरे

जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता, शुक्रबारनै म्याद थप गरी थुनामा


दामोदर भण्डारी दामोदर भण्डारी   शुक्रबार, असार ५, २०७७
ढुङ्गा, गिट्टी तस्करीका नाइके मनोजलाई सिडिओ कुरुम्वाङ्गले पक्राउ गरे

राप्ती नदीबाट ढुङ्गा, गिट्टी तस्करी गरी लैजादै गर्दा केही दिन अघि बाँके प्रहरीले पक्राउ गरेका ट्याक्टर । चालक सहित ट्याक्टरलाई मुद्दा चलाइएको छ ।

नेपालगन्ज : ढुङ्गा, गिट्टी तस्करीका नाइके मनोज केसी पक्राउ परेका छन् । राप्ती नदीबाट वर्षौदेखि ढुङ्गा, गिट्टी तस्करी गर्दै आइरहेका मनोजलाई बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गले पक्राउ गरेका हुन् ।

लामो समयदेखि टिप्पटर, जेसीभी राखेर कानूनको उल्लङ्घन गर्दै राप्ती नदी दोहन गर्दै आईरहेका मनोजलाई प्रजिअ कुरुम्वाङ्गले पक्राउ गर्न सफल भएका हुन् ।

प्रजिअ कुरुम्वाङ्गले कानूनलाई अटेर गरी डनगिरी देखाएर नदी दोहन गरेकाले मनोजलाई पक्राउ गरिएको सेतोखरीलाई जानकारी दिए । अब नदीजन्य पदार्थ तस्करी गर्ने चालक र ओसार पसार गर्ने उपकरण मात्र होईन मालिकलाई नै पक्राउ गरेपछि मात्र नियन्त्रण हुने भएकाले तस्कर मनोजलाई पक्राउ गरिएको प्रजिअ कुरुम्वाङ्गले बताए ।

पक्राउ परेका मनोज विरुद्ध जिल्ला प्रशासन कार्यालय बाँकेमा शुक्रबार नै मुद्दा दर्ता गरि कारबाही प्रक्रिया अगाडी बढाइएको छ । पक्राउ परेका मनोजलाई म्याद थप गरी अहिले थुनामा राखिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

राप्ती नदीबाट ढुङ्गा, गिट्टी तस्करी गरिरहेका बेला केही दिनअघि चालक सहित टिप्पर र जेसिभीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको थियो । चालक र साधन छुटाउन मनोजले मालिक हुँ भन्दै प्रहरीलाई बारम्बार दवाव दिइरहेपछि उनलाई पक्राउ गरि मुद्दा दर्ता गरिएको प्रजिअ कुरुम्वाङ्गले जानकारी दिए ।

‘कानूनलाई अटेर गर्ने, दादागिरी देखाउने, तस्करी गर्ने कोही पनि अब कानूनबाट बच्नेवाला छैन । एक–एक तस्करलाई पक्राउ गरी कानूनको दायरामा ल्याउनेछौं । अब गाडी र गाडी चालक मात्र होइन सिधै मालिकलाई पक्राउ गर्छौं ।’ प्रजिअ कुरुम्वाङ्गले भने । यहि असार १ गते देखि राप्ती नदीबाट नदीजन्य पदार्थ ओसारपसारमा प्रतिबन्ध लागिसकेको छ । कसैले ओसारपसार गरे कारबाहीको भागिदार बन्नु पर्छ ।