पिपिइ किन्ने पैसा र शव बोक्ने एम्बुलेन्सको अभावमा कोरोनाबाट मृत्यु भएका पुरुषको शव ३ दिनदेखि अल्पत्र

५ महिना पहिले रकम पठाउँदा पनि नेपालगन्ज उपमहानगरले एम्बुलेन्स खरिद गरेन


दामोदर भण्डारी दामोदर भण्डारी   मंगलबार, साउन २७, २०७७
पिपिइ किन्ने पैसा र शव बोक्ने एम्बुलेन्सको अभावमा कोरोनाबाट मृत्यु भएका पुरुषको शव ३ दिनदेखि अल्पत्र

नेपालगन्ज : कोरोना संक्रमणबाट मृत्यु भएका पुरुषको शव तीन दिन देखि अस्पतालमा अल्पत्र अवस्थामा छ । पिपिइ किन्ने पैसा र शव बोक्ने एम्बुलेन्सको अभावमा कोरोनाबाट मृत्यु भएका पुरुषको शव तीन दिनदेखि अल्पत्र परेको हो ।


बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले शव बोक्ने एम्बुलेन्स नपाउँदा कोरोनाबाट मृत्यु भएका पुरुषको शव व्यवस्थापन गर्न नसकिएको जानकारी दिए ।


सम्बन्धित निकायहरुबाट सहयोग नपाई रहेको जनाउदै प्रजिअ कुरुम्वाङ्गले पिपिइ किन्ने पैसा र शव बोक्ने एम्बुलेन्स नपाउँदा मृतक पुरुषको शव व्यवस्थापन गर्न नसकिएकोे बताए ।


‘शव व्यवस्थापन गर्दा प्रयोग गरिने सामग्रीहरु खरिद गर्न ५० ६० हजार लाग्छ कसैले सहयोग गर्दैन । शव बोक्ने एम्बुलेन्स खोज्दा भेटिदैन ।’ प्रजिअ कुरुम्वाङ्गले सेतोखरीसँग मंगलबार विहान भने ‘तीन दिनदेखि शव अस्पतालमा छ, म त्यसैका लागि लागिरहेको छु ।’

Kids Festival 2022
kanti aarogya hospital
add


प्रजिअ कुरुम्वाङ्गले कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा प्रयोग गर्नका लागि प्रदेश सरकारले नेपालगन्ज जनस्वाथ्यलाई एम्बुलेन्स खरिद गर्ने रकम दिएपनि खरिद नगर्दा यो समस्या आएको बताए ।


‘मैले सिधै प्रदेश न. ५ का मुख्य मन्त्रीसँग कुरा गरे एम्बुलेन्स चाहियो भनेर । प्रजिअ कुरुम्वाङ्गले भने ५ महिना अघिनै एम्बुलेन्स खरिद गर्नका लागि रकम पठाई सकेको जानकारी दिनु भयो । तर यहाँ एम्बुलेन्स खरिद गरिएको रहेनछ ।’प्रजिअ कुरुम्वाङ्गले भने ।

एम्बुलेन्स खरिद गर्ने काम नेपालगन्ज उपमहानगरपालिका स्थित जनस्वास्थ्य शाखाको हो ।


अछाम चौरपाटी निवासी ५० वर्षिय ती पुरुषलाई विरामी भएपछि कोहलपुर स्थित मेडिकल कलेजमा भर्ना गरिएको थियो । कोरोना संक्रमित ती पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो । उनको उपचारको क्रममा आईतबार साँझ ७ः३० बजे मृत्यु हुन पुगेको थियो । तर, ती पुरुषलाई कोरोना पोजेटिभ भएको सोमबार मात्र थाहा भएको प्रजिअ कुरुम्वाङ्गले जानकारी दिए ।

 

बाँकेमा आईतबार नै एक महिलाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमै कोरोनाबाट मृत्यु भएको थियो । हालसम्म बाँकेमा कोरोनाबाट ४ जनाको मृत्यु भइसकेको छ ।