आइसोलेसनका नाममा न्यू होटल ईन्द्रेणीद्वारा अबैध रकम असुली

होटलमा नाम दर्ता कोरोना विरामी घरमा, १४ दिनको पैसा लिदैं विरामीलाई अगाडी नै घर पठाउदै


आइसोलेसनका नाममा न्यू होटल ईन्द्रेणीद्वारा अबैध रकम असुली

नेपालगन्ज : नेपालगन्ज न्यूरोड स्थित न्यू होटल ईन्द्रेणीले आइसोलेसनका नाममा कोरोना पोजेटिभ भएकाहरुबाट अबैध रुपमा रकम असुलीरहेको छ भने स्वास्थ्य मन्त्रालयको नियम विपरित आइसोलेसन सञ्चालन गरिरहेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्जको न्यू होटल ईन्द्रेणीलाई कोरोना पोजेटिभ राख्ने आइसोलेसनको अनुमति दिएको छ । तर, आइसोलेसनका नाममा न्यू होटल ईन्द्रेणीले कोरोना पोजेटिभ विरामीबाट अबैध रकम असुलीरहेको तथ्य फेला परेको छ ।

न्यू होटल ईन्द्रेणीले कोभिड–१९ स्वास्थ्य मन्त्रालयको नियम विपरित आइसोलेसन चलाई रहेको छ । तर, आइसोलेसन राख्न अनुमति दिने, निर्देशन दिने र अनुगमन गर्ने जिल्ला प्रशासन कार्यालय बाँके तथा कोभिड– १९ संकट व्यवस्थापन केन्द्र बाँके चुपचाप रहेको छ ।

आइसोलेसन तोकिएको न्यू होटल ईन्द्रेणीमा कोरोना पोजेटिभ भइ लक्षण नदेखिएका विरामीलाई राख्ने गरिन्छ र यस होटलको आइसोलेसनमा विरामीहरु जिल्ला प्रशासन कार्यालयबाट सिफारिस भएको रकम तिरेर बस्न पाउँछन् । त्यसैका लागि यो होटललाई आइसोलेसनका अनुमति दिइएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस न्यू होटल ईन्द्रेणीको आइसोलेसनमा कोरोना पोजेटिभ भएका विरामीहरु १४ दिन अनिवार्य बस्नुपर्छ र १५ दिनको दिन जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रले डिस्चार्ज रिपोर्ट पठाएपछि मात्र होटलले विरामीलाई छोड्न मिल्छ । अन्यथा होटलको आइसोलेसनमा दर्ता भइसकेको विरामी आईसोलेसन छोडी कहिं गएमा वा डिसचार्जको पत्र नआउँदै १५ औं दिन भन्दा अगाडी होटलले छोडिदिएमा त्यसको सम्पूर्ण जिम्मेवारी आइसोलेसन सञ्चालक हुनुपर्छ र कारवाहीको भागिदार बन्नु पर्छ ।

कोरोना आइसोलेसन रहेको न्यू होटल ईन्द्रेणीले कोरोना पोजेटिभ भएका विरामीको होटलमा नाम दर्ता गराईदिने तर, उनीहरुलाई घरमा बस्न दिने र ती विरामीबाट घरमा बस्न दिएपनि १४ दिनकै रकम असुल गर्ने गरेको तथ्य सेतोखरीसँग रहेको छ ।

त्यसैगरी होटलको आईसोलेसनमा बसेका तर, कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रको डिस्चार्ज पत्र नआउँदै १४ दिन अगाडी नै कोरोना पोजेटिभ विरामीलाई छोडीदिने र उनीहरुबाट १४ दिन होटलमा बसेकै रकम लिने गरेको तथ्य प्रमाण पनि सेतोखरीसँग रहेको छ ।

यस आइसोलेसनबाट कोरोना पोजेटिभ भएका कोही १० दिनमा, कोही, ११ दिनमा, कोही १२ दिनमा, कोही १३ दिनमा घर जाने गरेका छन् तर, उनीहरुबाट होटलले १४ दिन बसेको रकम असुली रहेको छ । यसरी कम दिन बसेर १४ दिनकै रकम तिर्ने ब्यक्ति सेतोखरीको सम्पर्कमा रहेकाछन् ।

यसरी कोरोना आइसोलेसन सञ्चालन गरेको न्यू होटल ईन्द्रेणीले कोरोना पोजेटिभ विरामीबाट अबैध रुपमा रकम असुलीरहेको छ । नेपालगन्ज– १ निवासी सुजन केसीले आइसोलेसनका नाममा लुट मच्चाउने होटल सञ्चालकलाई प्रशासनले हदैसम्मको कारबाही गर्नु पर्ने र आइसोलेसन खारेज गरी अबैध रुपमा असुल गरेको रकम सम्बन्धित कोरोना विरामीलाई फर्काउनु पर्ने बताउँछन् ।

सुरुमा निकै चर्को स्वरमा बोलेका आइसोलेसन सञ्चालक न्यू होटल ईन्द्रेणीका मालिक घनश्याम थापाले आफ्नो होटलमा केही त्यस्तो नभएको र भएको प्रमाणित भए आइसोलेसन बन्द गरी जुनसुकै कारबाही भोग्न आफु तयार रहेको बताए । तर, सेतोखरीसँग भएका तथ्य बारे एकपछि अर्को प्रश्न गर्दा होटल सञ्चालक थापाले केही गल्ती भएको स्विकार गरे ।

सञ्चालक थापाले भने ‘कोरोना पोजेटिभ भएको विरामी आइसोलेसनमा बसेको भनि नाम दर्ता देखाई उक्त विरामी घरमा बसेको कुरा साँचो हो म गल्ती स्विकार गर्छु । अब मैले के गर्नुपर्छ म सच्याउँछु ।’ जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका सदस्य तथा जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत रामकुमार सोनकरले छानविन गरिने र प्रमाणित भए आइसोलेसन बन्द गरी कारबाही गरिने बताए ।

प्रशासकीय अधिकृत सोनकरले कोरोना पोजेटिभ देखिएको विरामी १४ दिन अनिवार्य आइसोलेसनमा बस्नु पर्ने १५ दिनको दिन डिस्चार्ज हुने नियम रहेकोले त्यो भन्दा अगाडी होटलले छोडे कारबाही गरिने बताए ।