सहपाठी डा.सापकोटाप्रति भावपूर्ण श्रद्धाञ्जली 


सहपाठी डा.सापकोटाप्रति भावपूर्ण श्रद्धाञ्जली 

नेपालगन्ज : प्रिय साथी बरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. हरिप्रसाद सापकोटाको असामयिक निधनले म स्तब्ध छु । विहिवार दिउँसो मित्र गुमाउँदाको पीडाले मर्माहत छु । मृतात्माको चीर शान्तिको कामना गर्दछु ।
 
      उहाँ मेरो सहपाठी र सहकर्मी हुनुहुन्थ्यो ।  मिलनसार  एवं सहयोगी भावना भएका साथीको मुहार झलझलि सम्झिरहेको छु । उहाँको श्रीमतिको पनि केहि वर्ष अघि स्कुटर दुर्घटनमा परेर ज्यान गएको थियो । त्यसै त उहाँ पत्नि वियोगमा हुनुहुन्थ्यो । एक्लो महसुस भए पनि उहाँ दुःखि, गरिब जनताको सेवामा तल्लिन हुनुहुन्थ्यो । 
 
चार दशकको संगत 
 
२०३५ सालमा हाम्रो पहिलो पटक देखभेट भयो । त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगन्ज क्याम्पसमा हामी सहपाठी थियौं । त्यसपछि उहाँ  चिकित्साका उच्च शिक्षा हासिल गर्न रसिया जानु भयो । एमडी गरेर स्वदेश फर्कनु भयो ।  मैले नेपालमै उच्च शिक्षा हासिल गरें । हामी दुवैजना सरकारी सेवामा प्रवेश गरि सेवामा जुट्यौं । संयोगवश, म नेपालगन्जस्थि भेरी अञ्चल अस्पतालमा नाक, कान र  घाँटी रोग विशेषज्ञको रुपमा सेवा गर्न पुगें । त्यसै बेला साथीलाई भेरी अञ्चल अस्पतालमा हाडजोर्नी विशेषज्ञका रुपमा पाउँदा हाम्रो मित्रता पुनः नविकरण हुन पुग्यो । 
 
 म वीर अस्पताल काठमाडौंमा सेवारत रहें । उहाँ सुर्खेत पुग्नुभयो । मध्यमाञ्चल क्षेत्रीय अस्पतालमा निमित्त मेडिकल सुपरिटेण्डेन्टकारुपमा समेत काम गर्नुभयो । भेरी र कर्णालीका दुर्गम जिल्लाका बासिन्दाको हाड तथा  नसाको समस्यालाई मेरो मित्रले निको पारिदिनु भएको थियो । तर, उहाँ आफै कोरोनाको संक्रमणसँग संघर्ष गर्दा गर्दै निको हुन सक्नु भएन । 
 
कुनै बेला आफैले सेवा दिएको भेरी अञ्चल अस्पतालमा  आफ्नै उपचारका क्रममा  उहाँको निधन भयो । जो कोहि चिकित्सकको लागि यो अकल्पनीय घटना हो । 
 
कर्णाली प्रदेश अस्पतालमा कार्यरत रहेको बेला कोरोना संक्रमण हुन पुग्यो । उहाँलाई मधुेमह थियो । उच्च रक्तचापको पनि  समस्या थियो । शरीरमा अक्सिजनको मात्रा न्युुन थियो । नेपाल मेडिकल काउन्सिलको बैठक चलिरहेको बेला सहपाठिको दुःखद निधनको खबरले मलाई मर्माहत बनायो ।  
उहाँको नम्र र सहयोगी स्वभाव थियो । संवेदनशील र कामप्रति जागरुक हुनुहुन्थ्यो । चिकित्सकको जागीर खाने मात्र स्वभाव थिएन । समाजसेवी हुनुहुन्थ्यो । मानवीय भावनाले ओतप्रोत हुनुहुन्थ्यो । 
 
मैले सहकर्मी र सहपाठी गुमाएको छुँ । मुलुकले बरिष्ठ हाड तथा नसा रोग विशेषज्ञलाई गुमाएको छ । यो क्षणमा सहपाठी साथीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । यो दुःखद घडिमा शोक सन्तप्त  परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु । 
 
 (कोहलपुर मेडिकल कलेजमा प्राध्यापकको रुपमा कार्यरत बरिष्ठ नाक, कान घाँटी रोग विशेषज्ञ प्रा.डा.ढुण्डिराज पौडेलसँग सेतोखरीले गरेको कुराकानी ।)
 
 
 
 
 
Kids Festival 2022
kanti aarogya hospital
add