पाँच वटै टिम उपाधी जित्ने दाउमा, कसले के भने ?


पाँच वटै टिम उपाधी जित्ने दाउमा, कसले के भने ?

नेपालगन्ज २० फागुन : कोरोना भाइरस संक्रमणका कारण भएको बन्दाबन्दी खुलेपछि विस्तारै नेपाली खेलकूद क्षेत्र पुरानै लयमा फर्किदैछ । कोरोनाका कारण लामो समय खेलक्षेत्रमा उत्रिन नपाएका खेलाडीलाई बन्दाबन्दी खुलेपछिको वातावरणले केही सहज बनाएको छ । यद्यपी कोरोना भाइरस संक्रमणको जोखिम रहेकै बेला आयोजना गरिने खेलकूद प्रतियोगिताले खेलाडीमा उर्जा समेत प्रदान गरेकोछ ।

विस्तारै खेलकूद क्षेत्र पुरानै लयमा फर्किदै आएपछि खेलक्षेत्रबाट टाढा जस्तै रहेका खेलाडी आफ्नो खेल क्षमता, कुसलतामा निखार ल्याउन प्रयासरत छन् । बन्दाबन्दी खुलेपछि सहज बनेको वातावरणमा दक्षिण एसियामा नम्बर एक क्लब च्याम्पियनसिपका रुपमा प्रधानमन्त्री कपलाई स्थापना गर्ने उद्देश्यका साथ विगत ७ वर्षदेखि भइरहेको प्रतियोगिता आयोजनाले खेलाडीमा नयाँ जोस र जाँगर समेत थपेकोछ ।

नेपालगन्जमा २०७० सालबाट शुरु भएको प्रधानमन्त्री कपको सातौं संस्करण शुक्रबारदेखि हुदैँछ । यसका लागि तीन विभागीय टिमसहित पाँच वटा टिम नेपालगन्ज आइसकेकोछ ।

सातौं संस्करणको पिएम कप महिला भलिबल आयोजना भइरहदाँ पहिलो संस्करणमा नेपाल पुलिस क्लबले हात पारेको थियो, भने दोस्रो र पाँचौंमा नेपाल एपिएफ तथा तेस्रो र चौथो संस्करणमा रेल्वे इण्डियाले उपाधी जितेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

प्रतियोगिताको सातौं संस्करणमा आईपुग्दा सहभागी हुन लागेका पाँच वटै टिम उपाधी जित्ने दाउमा छन् ।

आयोजक बाँके जिल्ला भलिबल संघले बिहीबार नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा उपस्थित भएका टिम कप्तान सबैले सातौं संस्करणको उपाधी जित्ने उद्घोष गरे ।
कोरोना महामारीका कारण भएको बन्दाबन्दी खुले पश्चात हालै पोखरामा सम्पन्न टाइगर कपमा समेत उपाधी हात पारेको पुलिस क्लब यसपाली प्रधानमन्त्री कपको पनि उपाधी दोहोर्याउने दाउमा छ ।

पुलिस क्लबका कप्तान कोपिला उप्रेतीले प्रधानमन्त्री कपको छैठौं संस्करणमा प्राप्त गरेको सफलतालाई पुनः यसपटक दोहो¥याउने उद्घोष गरिन् ।

उनी भन्छिन्, ‘प्रधानमन्त्री कपको छैठौं संस्करण र पोखरामा प्राप्त गरेको जितलाई नेपालगन्जमा पुनः दोहोर्याउने आशाका साथ आएका छौं, प्रतियोगितामा जसरी पनि उपाधी जितेर जाने हाम्रो कोसिस हुनेछ ।’

यस्तै पाँचौ संस्करणको उपाधी जितेको एपिएफ क्लबकी कप्तान रेश्मा भण्डारीले कोरोना महामारीका कारण भएको बन्दाबन्दी पश्चात भएको प्रतियोगिताको उपाधी जित्ने प्रयास आफ्नो टिमबाट हुने बताईन् । ‘हाम्रो टिमबाट उपाधी जित्ने अन्तिमसम्म प्रयास हुनेछ, त्यसका लागि हामीले राम्रो तयारी गरेकाछौं’ उनले भनिन् ।

त्रिभुवन आर्मी क्लबसँग नयाँ खेलाडी भएपनि निरन्तर अभ्यासमा रहेका कारण उपाधी जित्ने खेलाडीमा आत्मविश्वास जागेको छ । ‘म भर्खरै तालिमबाट फर्केकी छु, हामी निरन्तर प्रशिक्षणमा छौं, हाम्रो टिम नयाँ हो, बिगतमा हार ब्यहोरिरहेको अवस्थामा विगतका कमी कमजोरीलाई सुधार गरेर यसपाली उपाधी जित्न चाहन्छौं, त्यो आत्मविश्वास हामीलाई छ,’ त्रिभुवन आर्मी क्लबका कप्तान कृपा अधिकारी भनिन् ।

उनले भनिन्–‘हामी गल्तीबाट सिक्छौं, गल्तीलाई रिकभर गर्नसक्नुपर्छ । त्यो हामी यसपटकको खेलमा गरेर देखाउँछौं ।’

विभागीय क्लबलाई प्रतियोगितामा सधैं टक्कर दिने टिम हो, होंगाजी न्यू डायमण्ड एकेडेमी । जसको नेतृत्व चर्चित खेलाडी ललिता नाथले गरिरहेकी छन् । उक्त क्लबबाट राष्ट्रिय टिमका प्रतिनिधित्व गर्ने तीन खेलाडी छन् । उक्त टिमले पनि प्रधानमन्त्री कपको सातौं संस्करणलाई निकै चासोका साथ हेरिरहेको छ ।

सधैं उत्कृष्ट प्रस्तुतीका साथ विभागीय टिमलाई कडा टक्कर दिदैं उपाधि नजिक पुगेर पनि गुमाउदै आएको न्यू डायमण्ड यसपटक आफ्ना कमीकमजोरीलाई चिर्दै उपाधी जित्ने दाउँमा रहेको छ ।

क्लबकी कप्तान ललिता भन्छिन्, ‘पोखरामा केही समयअघि सम्पन्न भएको प्रतियोगितामा हाम्रो त्यति राम्रो प्रस्तुती हुन सकेन, आशा एवम् विश्वास छ, नेपालगन्जमा हामीले आफ्नो जित सुनिश्चित गर्नेछौं ।’

त्यसो त नेपाली भलिबल क्षेत्रको कुरा गर्दा न्यू डायमण्ड एकेडेमीको गर्वीलो ईतिहास् छ । महिला टोलीले साग ईतिहासमा पहिलो पटक रजत पदक जितेको थियो जहाँ न्यू डायमण्ड एकेडेमीबाट उत्पादन भएका खेलाडीको सहभागिता रहेको थियो ।

यता नेपालका चार चर्चित क्लबसँग खेल्न भर्खरै अगाडी बढ्दै गरेको स्थानीय क्लब हो, लुम्बिनी युनाइटेड । जसको नेतृत्व गर्दैछिन्, कप्तान शर्मिला नेपालीले ।

‘हाम्रो टिम नयाँ हो, तर आफूभन्दा सिनियर दिदीहरुसँग खेल्न पाउनु नै हाम्रो लागि गर्वको कुरा हो,’ सर्मिलाले भनिन् ।

कोरोना भाइरस संक्रमणकै बीच हुने प्रधानमन्त्री महिला भलिबल प्रतियोगिताको उपाधी कसले जित्छ अर्थात उपाधी जितेकाले दोहो¥याउनेछ वा नयाँ टिमले उपाधी जित्छ त्यो थाहा पाउन फागुन २५ गतेसम्म कुर्नै पर्छ ।