खजुरामा अन्तर विद्यालय रनिङ शिल्ड प्रतियोगिता शुरु


खजुरामा अन्तर विद्यालय रनिङ शिल्ड प्रतियोगिता शुरु

नेपालगन्ज २८ फागुन : खजुरा गाउँपालिका शिक्षा समितिको आयोजनामा आज शुक्रबारदेखि अन्तर विद्यालय तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता शुरू भएको छ । खजुरा गाउँपालिका वडा नम्बर– ४ स्थित जनकल्याण मावि बद्रीपुरमा भइरहेको प्रतियोगिताको लुम्बिनी प्रदेश सांसद बाबुराम गौतमले एक भब्य समारोहकाबीच उदघाटन गरे ।
सांसद गौतमले खेलले आत्मनिर्भर, स्वावलम्बन र अनुशासनको विकास गर्ने बताए । उनले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने खेलाडी उत्पादन र त्यसको पहलिो जग रनिङ शिल्ड भएको उल्लेख गरे ।

खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले तीन वर्षको दौरानमा रनिङ शिल्ड प्रतियोगितामा खजुरा क्षेत्रका विद्यालय र विद्यार्थीको उत्साहजनक सहभागिता रहेको बताए । उनले विद्यार्थीको सर्वाङ्गीण विकासमा ध्यान दिँदै खेल र शैक्षिक महोत्सव गरिँदै आएको बताए ।

अध्यक्ष कक्षपतिले खजुरामा खेल संरचना, खेलाडी उत्पादन र खेलाडीवीचको प्रतिस्पर्धामार्फत खेल विकास गरी खजुरालाई खेलकुद हबका रुपमा समेत विकास गरिने बताए ।

स्वागत मन्तव्य दिँदै शिक्षा समिति सदस्य भक्तबहादुर केसीले तेस्रो वर्षसम्म आइपुग्दा प्रतियोगिता स्थापित भएको र विद्यार्थीमा खेलकुदको विकास हुँदै गएको उल्लेख गरे ।
कार्यक्रममा स्वागत गीत, झाँकी र नृत्यमार्फत अतिथिलाई स्वागत गर्नुका साथै सहभागी विद्यालयका विद्यार्थीले मार्चपास गरि सलामी अर्पण गर्दा कार्यक्रमको मूख्य आकर्षण बनेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

उद्घाटन समारोहमा धन्यवाद ज्ञापन गर्दै सञ्चालन तथा व्यवस्थापन विद्यालय जनकल्याण माविका प्रधानाध्यापक भीमबहादुर थापाले कार्यक्रम सफल बनाउन आ–आफ्नो तप्काबाट लाग्ने सबैलाई धन्यवाद दिए ।

शुक्रबार नै एथलेटिक्स, भलिबल लगायतका विभिन्न खेल सञ्चालन गरिएको छ । प्रतियोगितामा खजुरा क्षेत्रका संस्थागत, निजी र मदरसा गरी ६५ विद्यालयका ४७५ छात्रा र ५४१ छात्र गरी १ हजार १६ जना खेलाडी सहभागी छन् ।

यस प्रतियोगिताको प्रथम संस्करण जनसेवा मावि, खजुरा–६, पुरैनाको व्यवस्थापनमा २०७५ फाल्गुण ३ देखि ६ गतेसम्म सञ्चालन भएको थियो भने दोस्रो संस्करण २०७६ पौष २७ गतेदेखि माघ ३ गतेसम्म अमर माविको व्यवस्थापनमा सम्पन्न भएको थियो । दुइवटै संस्करणमा ज्ञानोदय उमावि विजयी भएको थियो ।

यसैबची खेलका दौरानमा खेलाडीलाई चोटपटक लाग्न सक्ने सम्भावनालाई ख्याल राख्दै ५० जना खेलाडीहरुको खेल अवधिभर ५ लाखसम्मको उपचार बीमा गरिएको छ ।
प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय स्थान हाँसिल गर्ने विद्यालयहरुलाई मावि (कक्षा ९­ १२) तर्फ क्रमशः २५ हजार, १५ हजार, र १० हजार, तथा आधारभूत तह (कक्षा ६­८) १५ हजार, १० हजार र ७ हजार नगद पुरस्कार प्रदान गरिने छ । यसैगरी आधारभूत (१–५) मा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार, प्रमाणपत्र र ट्र«फी प्रदान गरिने छ ।