१९ औं संस्करणको आहारारा गोल्डकप : एक विदेशीसहित ८ टिम उपाधिका लागि भिड्ने


१९ औं संस्करणको आहारारा गोल्डकप : एक विदेशीसहित ८ टिम उपाधिका लागि भिड्ने

पोखरामा पत्रकार सम्मेलनमार्फत प्रतियोगिताका बारेमा जानकारी दिदैं ।

नेपालगन्ज २९ फागुनः फुटबल प्रतियोगिताको नाम आउनेवित्तिकै सबैको मुखमा झुण्डिने नाम ‘आहारारा गोल्डकप’ हो । अझ फुटबल प्रेमी र खेलाडीका लागि यो नाम अलग हुन सक्दैन ।

घरेलु फुटबलमा आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको अलग पहिचान छ । गर्विलो ईतहास र यसको निरन्तरताले आम फुटबल प्रेमी र खेलाडीमा परेको छाप नामेट छ ।

मोफसलनमा निरन्तरत आयोजना हुनेमध्ये आहा रारागोल्ड कप एक हो । थुप्रै खेलाडी उत्पादन गर्ने मात्र नभई सम्भावना बोकेको यो प्रतियोगिता कोरोना भाइरसका कारण भएको बन्दाबन्दी खुलेसंगै आहारारा गोल्डकपको १९औं संस्करण आगामी चैत २१ गतेदेखि सञ्चालन हुने भएकोछ । यसअघि चैत १७ गतेदेखि हुने भनिएको प्रतियोगिता कोरोना र आवश्यक ब्यवस्थापनका कारण केही समय पछि धकलिएको हो ।

विगतमा १० देखि १२ टोलीको सहभागिता रहेन आहारारामा यसपटक भने कोरोनाका प्रभाव परेकोछ । कोरोनाको प्रभावका कारण यसपटक आहारारामा सहभागी टोलीको संख्या घटेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

कोरोना विश्वमा प्रवेश गरिरहँदा समेत सामना गर्दै गत वर्ष प्रतियोगिता आयोजना गरेको सहारा क्लब पोखराले १९ औँ संस्करणको आयोजनाको तयारीलाई तीब्र पारेको छ ।
देशको विषम परिस्थितिमा समेत आयोजना हुदैँ आएको प्रतियोगितामा यो वर्ष पनि एक विदेशी टिम सहित ८ वटा टिमले सहभागिता जनाउने शनिबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।

पोखरा रंगशालामा हुने प्रतियोगितामा प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन नेपाल आयल निगम मनाङ मस्र्याङ्दी, नेपाल पुलिस क्लब, रुस्लान थ्री स्टार, नेपाल एपीएफ क्लब, संकटा क्लब, मछिन्द्र क्लब, अफ्रिकन रुट एसोएसन डउला क्यामरुन र आयोजक सहारा क्लबले प्रतिस्पर्धा गर्ने अध्यक्ष थापाले जानकारी दिए । तर, यो वर्ष त्रिभुवन आर्मी क्लब, हिमालयन शेर्पा क्लब, जावलाखेल युथ, विग्रेड ब्वाइज क्लबल लगायतको सहभागिता नरहने भएको हो ।

‘कोरोना माहामारीका कारण प्रतियोगिताको मिति केही पछाडि धकेलियो भने केही प्रतियोगी टिम पनि आउन पाएनन्,’ अध्यक्ष थापाले भने । अघिल्ला संस्करणमा १२ टिमले सहभागी हुन्थे ।

प्रतियोगिताको उपाधि जित्नेले १० लाख १ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले ५ लाख १ हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले अप्रिला स्कुटर प्राप्त गर्नेछ ।

प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्सका अध्यक्ष सूर्यबहादुर केसीको यसै वर्ष निधन भएकाले उत्कृष्ट पाँच विधाको पुरस्कार उनै केसीलाई समर्पण गरिने आयोजकले जनाएको छ ।

कोरोनापछि लयमा फर्किइरहेको खेल जगतलाई आहाराराले थप चलायमान बनाउने विश्वास आयोजकको लिएकोछ । सहाराले सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७७ बाट एकजना राष्ट्रिय खेलाडीलाई सम्मान गर्ने छ । ३५ हजार, प्रमाणपत्र र दोसल्लासहित उत्कृष्ठ खेलाडी सम्मान प्रदान गरिने अध्यक्ष थापाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगितामा करिब एक करोड एक लाख ८१ हजार रुपैयाँ खर्च हुने र एक करोड २९ लाख एक हजार आम्दानी हुने अनुमान गरिएको आयोजक सहारा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।

बचत रकमबाट क्लबले सहारा फुटबल एकेडेमीको सञ्चालनार्थ खर्च गर्दै आएको छ । क्याराभान गोल्ड कपसहित २० वर्षदेखि सहारा क्लबले पोखरामा फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

आयोजक सहारा क्लबले ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यका साथ बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लब स्तरीय आमन्त्रित फुटबल प्रतियोगिता गर्दैछ ।

यसअघि १८ औं संस्करणको आहारारा क्लब प्रतियोगिताको विजेता नेपाल आयल निगम मनाङ मस्र्याङ्दी रहेको थियो भने उपविजेता नेपाल पुलिस क्लब रहेको थियो ।