स्टार सिटीको लगातार दोस्रो जित


स्टार सिटीको लगातार दोस्रो जित

नेपालगन्ज ४ चैत : सुदूरपश्चिमको च्याम्पियन स्टार सिटी युवा क्लबले एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा लगातार दोस्रो जित हाँसिल गरेको छ । बुधबार नेपालगन्ज रङ्गशालामा भएको खेलमा च्याम्पियन स्टार सिटीले प्रदेश नम्बर १ को च्याम्पियन सैनिक युथ क्लबलाई २–१ ले पराजित गरेको छ ।

स्टारको तर्फबाट कुलदीप कार्कीले पेनाल्टी मार्फत ३८ मिनेट र रुप बहादुर लामाले गोल गरेका थिए । सैनिकका जिवन गुरुङले ४० मिनेटमा गोल गरेका थिए । खेलमा म्यान अफ द म्याच सैनिका गोलकिपर एवम कप्तान किशोर गिरी घोषित भए ।

सुदूरपश्चिमको स्टार सिटीले दुई खेल जित्दै ६ अंक जोड्न सफल भएको छ । स्टारले पहिलो खेलमा प्रदेश नम्बर २ को च्याम्पियन मनकामना युवा क्लबलाई ३–० ले हराएको थियो ।

स्टार सिटीका प्रशिक्षक ललित चन्दले दोस्रो जितले टोलीको आत्मविश्वास बलियो बनेको बताए । झापाजस्तो टोलीलाई जित्नु प्रतियोगिताको ठूलो उपलब्धी भएको बताउँदै ललितले भने,‘ झापा नेपाली फुटबलकै बलियो टोली हो । हामी खुसी छौं झापाको टोलीलाई हराउन पाउँदा । एन्फा लिग जित्दै राष्ट्रिय लिग खेल्ने हाम्रो लक्ष्य हो । त्यसमा हामी केन्द्रित भएर खेलिरहेका छौं । टोलीमा सिनियर र युवा खेलाडीको संयुक्त रुपमा मिश्रित टिम छ । यसले हामीलाई प्रतियोगितामा च्याम्पियन बन्न सहयोग गर्ने विश्वास छ ।’

Kids Festival 2022
kanti aarogya hospital

मोफसलको टिमलाई एन्फाले प्रतियोगिता गरेर एउटा उत्कृष्ट सुरुआत गरेकोमा एन्फालाई प्रशिक्षक चन्दले धन्यवाद दिए ।

झापाका प्रशिक्षक सञ्जय राईले पहिलो रोजाईका खेलाडी नहुँदा समस्या भएको बताए । उनले भने, ‘हामीले यस प्रतियोगिताको लागि राम्ररी तयारी पनि पाएनौं । हाम्रो सिनियर खेलाडीले अन्य प्रतियोगिता खेलिरहेका कारण आज समस्या भयो ।’

चैतको १५ गतेसम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को च्याम्पियन सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को च्याम्पियन मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को च्याम्पियन धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट च्याम्पियन त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट च्याम्पियन धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को च्याम्पियन लेकाली युवा क्लब जुम्ला र सुदूरपश्चिम प्रदेशको च्याम्पियन स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन् । त्यस्तै विद्यागत रुपमा फेयर प्ले र सर्वोत्कृष्ट खेलाडीले ५० हजार पाउने छन् भने उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षकले जनही २५ हजार पाउने आयोजकले जनाएको छ ।

यसैगरी प्रतियोगिता अन्तर्गत भोली बिहीबार दुई खेल हुनेछ । जसमा पहिलो खेल मध्यान्ह १ बजे प्रदेश २ को च्याम्पियन मनकामना युवा क्लब रौतहट र लुम्बिनी प्रदेशको च्याम्पियन धम्बोझी स्पोर्ट क्लब, बाँकेबीच प्रतिस्प्रर्धा हुनेछ ।