अस्पतालले थेग्न सक्दैन, अवस्था भयाबह बन्दै : मेसु थापा
नेपालगन्ज ६ वैशाख : कोरोना भाइरस संक्रमणको जटिलताले यतिबेला भेरी अस्पताल नेपालगन्जको कोभिड वार्ड भरिएकोछ । कोरोनाको दोस्रो लहर शुरु भएसँगै बाँकेमा जटिल खालका बिरामीको संख्या बढ्दै गएको छ । जटिल खालका बिरामीका लागि छुट्याइएका आइसियु र भेन्टिलेटर कक्ष भरिएका छन् ।
भेन्टिलेटर र आइसीयु चाहिने बिरामीको संख्या दैनिक उकालो लाग्दै गएपछि समग्र बाँकेको स्वास्थ्य अवस्थाप्रति चिन्ता र चासो हुन थालेकोछ ।
बाँकेमा कोरोना संक्रमितको संख्या दिनहुँ उकालो लाग्दैछ । तर, संक्रमितको संख्यामा बृद्धि मात्र भएको छैन, उनीहरुको स्वास्थ्यमा समेत जटिलता पनि उत्तिकै बढ्दो छ । यसले गर्दा अस्पतालमा आवश्यक पर्ने स्वास्थ्य सामाग्री समेत अपुग हुन थालेकोछ ।
जनस्वास्थ्यका मापदण्ड पालना नगरे र कोरोनालाई सामान्य रुपमा लिए बाँकेको स्थिति अझ भयावह हुँदै जाने भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेण्डेनट डाक्टर प्रकास थापाको भनाई छ । हाल अस्पतालमा देखिएको संक्रमितको तथ्यांकले बाँकेको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको पुष्टि गरिरहेकोछ ।
बाँकेमा कोरोना संक्रमितको संख्या यही गतिमा बढ्दै गए केही दिनमा भेन्टिलेटर नपाएर विरामीको मृत्यु हुने संख्या बढ्न सक्ने मेसु डाक्टर थापाको अनुमान छ । कोभिड वार्डमा विरामीका लागि शय्या अभाव हुदै गएकाले बिरामीको मृत्यु हुन नदिन सबैले सावधानी अपनाउनुपर्नेमा उनी जोड दिन्छन् ।
कोरोनाको संक्रमणको चेनब्रेक गर्न जिल्लामा लकडाउन गर्नुपर्ने उनको तर्क छ । समयमै कोरोनाको जोेखिमलाई मध्यनजर गरि यो कदम उठाइएन भने हामी सबै फेल हुनेछौं ।
भेरी अस्पतालमा रहेको कोरोना विशेष आइसोलेसन वार्डमा कोरोना पोजेटिभका लागि १०२ बेड र संकास्पद बिरामीलाई राख्न ४० शैया गरि कुल १४२ शैयाको वार्ड छ । यस्तै अस्पतालभित्रको १५ शैयाको कोभिड आइसियू पनि प्याक भैसकेको छ ।
संक्रमण फैलिने क्रम नरोक्ने हो भने अस्पतालहरूले थेग्न नसक्ने गरि बिरामीको चाप बढ्दा समग्र स्वास्थ्य प्रणाली नै फेल हुन सक्ने जोखिम रहेको छ ।
कोरोना भाइरस हाल आक्रामक शैलीमा फैलिदै गएको विज्ञहरुको विश्लेषण छ । यही गतिमा संक्रमण फैलिदै गए अस्पतालले बिरामीको संख्या थेग्न नसक्ने अवस्था आउने भन्दै चिकित्सकले चेतावनी समेत दिएकाछन् ।
नेपालगन्जस्थित भेरी अस्पतालमा शनिबार, आईतबार र सोमबार दिउँसो गरि तीन दिनमा ६ जनाको मृत्यु भइसकेको छ । जसमा एक २० वर्षिया स्टाफ नर्स समेत रहेकी छन् । उनीहरु छ जना नै एक सातादेखि भेन्टिलेटरमा उपचाररत थिए । कोभिडको जटिलताका कारण उनीहरुको मृत्यु भएको हो ।
भेरी अस्पतालको तथ्यांक अनुसार सोमबार बेलुकासम्म ४० जना आइसियुमा र ७ जनाको भेन्टिलेटरमा राखि उपचार भइरहेको छ।
यो पनि पढ्नुहोस्
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?