नयाँदिल्ली ९ वैशाख: भारतमा भेटिएको कोरोनाको नयाँ भेरियन्टले दोस्रो लहरलाई भयावह बनाइरहेको छ ? के यो भेरियन्ट दुनियाँभर फैलिएर विश्वव्यापी खतरा बनिसकेको छ ? यसकै कारण संक्रमण लगातार बढिरहेको विषयमा वैज्ञानिकहरु निश्चिन्त भइसकेका छैनन् ।
जिनोम सिक्वेन्सिङका लागि पर्याप्त नमुना संकलन हुन नसक्नु यसको एउटा प्रमुख कारण हो । यद्यपि, महाराष्ट्रमा संकलन गरिएको सीमित नमुनामध्ये ६१ प्रतिशतमा यही भेरियन्ट पाइएको छ ।
भारत र बेलायतबीच हवाई यात्रा बन्द हुनुअगावै यो भेरियन्ट बेलायत पुगिसकेको थियो । बेलायती स्वास्थ्यमन्त्री म्याट हेनककका अनुसार बेलायतमा हालसम्म १०३ संक्रमितमा भारतीय भेरियन्ट पाइएको छ ।
जीआईएसएआईडीका अनुसार भारतीय भेरियन्ट अहिलेसम्म कम्तीमा १७ देशमा भेटिइसकेको छ । दुई म्युटेसन ई४८४क्यू र एल४५२आर एकैपटक नयाँ भेरियन्टमा आएका हुन् वा होइनन् भन्ने पत्ता लगाउन वैज्ञानिकहरु कोसिस गरिरहेका छन् ।
यस्तो परिवर्तन पत्ता लगाउन वैज्ञानिकहरु भाइरसको जिनोम सिक्वेन्सिङको अध्ययन गर्छन्, जसलाई संक्रमितको स्वाबबाट निकालिन्छ । उनीहरुले भाइरसको जेनेटिक कोड तोड्छन् र पुनः म्युटेसन ट्रयाक गर्छन् ।
यी म्युटेसनको अधिकांश हिस्साले खासै महत्व राख्दैन । न त यसले भाइरसको व्यवहारमा परिवर्तन नै ल्याउँछ । तर, ई४८४क्यूजस्ता म्युटेसनले भाइरसलाई थप खतरनाक बनाइदिन्छ ।
लुसियाना स्टेट युनिभर्सिटी हेल्थ साइन्स सेन्टर सर्वेपोर्टका डा. जर्मी कामिलका अनुसार यो म्युटेसन निकै हदसम्म दक्षिण अफ्रिका र ब्राजिलमा भेटिएको ई४८४के म्युटेसनसँग मेल खान्छ ।
‘यो भेरियन्ट चाखलाग्दो छ । यो दुई म्युटेसन हुनु र विश्वका अन्य भेरियन्टमा पनि देखिनु चिन्ताजनक कुरा हो,’ विश्व स्वास्थ्य संगठनमा कोभिडको टेक्निकल अफिसर मारिया बेन केरखोवले बताइन् ।
वैज्ञानिकका अनुसार भारतीय भेरियन्टसम्बन्धी पर्याप्त तथ्यांक संकलन भइसकेको छैन । भारतमा दोस्रो भेरियन्टको पहिलो केस गत अक्टोबरमा पत्ता लागेको थियो ।
जीआईएसएआईडी डेटाबेसमा अहिलेसम्म विश्वभरका अनुसन्धानकर्ताले भारतीय भेरियन्टको ६५६ जिनोम सिक्वेन्स सेयर गरेका छन् । भारतले हालसम्म सेयर गरेको आठ हजार १७० जिनोम सिक्वेन्समध्ये २९८ सिक्वेन्स मात्र भारतीय भेरियन्टको हो ।
‘भारतीय भेरियन्टमा दुवै खतरनाक म्युटेसन भएकाले यो चिन्ताजनक विषय हो । विश्वको फरक–फरक क्षेत्रमा पाइएका यी म्युटेसनले आम मानिसको प्रतिरोधी क्षमतामा विपरीत प्रभाव पार्छन्,’ क्याम्ब्रिज युनिभर्सिटीमा क्लिनिकल माइक्रोबायोलजीका प्रो. रवी गुप्ताले भने । उनका अनुसार भारतमा यो म्युटेसन भाइरसको अनियन्त्रित प्रसारको परिणाम हो ।
डा. कामिलका अनुसार कुनै पनि वैज्ञानिकका लागि अहिले नै भारतीय भेरियन्टलाई विश्वको सबैभन्दा खतरनाक भेरियन्ट बताउनु असामयिक हुनसक्छ । अहिले विश्वमा सबैभन्दा बढी चिन्ता बेलायती भेरियन्टलाई लिएर भइरहेको छ, जुन विश्वको ५० भन्दा बढी देशमा फैलिइसकेको छ ।
नेचर पत्रिकामा प्रोफेसर गुप्ता र उनका सहकर्मीहरुले प्रकाशित गरेको शोधानुसार केही भेरियन्ट निश्चित रुपमा यी खोपहरुबाट बच्नेछन् । यिनीहरुको नियन्त्रण आगामी पुस्ताको खोप र वैकल्पिक भाइरल एन्टिजेनको प्रयोगले मात्र हुनेछ ।
अन्य भेरियन्टको तुलनामा यो भेरियन्ट खतरनाक छ कि छैन भन्ने विषयमा चिन्तित हुन आवश्यक नभएको प्रो. गुप्ता बताउँछन् । धेरै संक्रमित भेटिनुले गम्भीर रुपमा संक्रमित बिरामीको संख्या बढ्छ भन्ने विषयमा चिन्ता गर्न उनको सुझाव छ । -बाह्रखरीबाट
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी