भारतमा दाह संस्कारका लागि ठाउँको अभाव, पार्कमै जलाउन थालियो शव


भारतमा दाह संस्कारका लागि ठाउँको अभाव, पार्कमै जलाउन थालियो शव

नेपालगन्ज १५ वैशाख : कोरोना महामारीका कारण जुन रफ्तारमा मानिसको मृत्यु भइरहेको छ, भारतको राजधानी दिल्लीमा दाहसंस्कारका लागि ठाउँको अभाव हुन थालेको छ ।

शवको चाप बढेपछि पछिल्ला दिनमा अस्थायी शवदाह गृह बनाउन थालिएको छ । महामारीको दोस्रो लहर बढेसँगै मृतकको संख्या पनि लगातार बढ्दै गएको छ । सोमबार दिल्लीमा मात्र ३६० जनाको मृत्यु भएको छ ।

मेडिकल अक्सिजन, इन्टेसिभ केयर युनिट बेड र जीवन रक्षक औषधिको आपूर्तिले धान्न सकिरहेको छैन । केही दिन यता भारतमा संक्रमणको १० लाखभन्दा बढी मामिला प्रकाशमा आएको छ ।

सोमबारको तथ्यांकको तुलनामा मंगलबार नयाँ संक्रमितको संख्यामा केही कमी आएको छ । सोमबार तीन लाख ५२ हजार ९९१ नयाँ संक्रमित थपिएका थिए भने मंगलबार यो संख्या तीन लाख २३ हजार १४४ रह्यो ।

Kids Festival 2022
kanti aarogya hospital

यसका साथै भारतमा एक करोड ७० लाख जना अहिलेसम्म कोरोनाबाट संक्रमित भइसकेका छन् । यो महामारीले भारतमा एक लाख ९२ हजार मानिसको मृत्यु भइसकेको छ ।

घण्टौंसम्म प्रतीक्षा

संक्रमित र मृतकको वास्तविक तथ्यांक सरकारले जारी गरेको तथ्यांकको तुलनामा निकै बढी हुन सक्ने कयौंको भनाइ छ ।

एनडिटिभी न्यूज च्यानलको एउटा रिपोर्टअनुसार गत साता कम्तीमा पनि एक हजार एक सय ५० जनाको मृत्यु दिल्ली सरकारको रेकर्डमा सामेल भएको छैन । अन्य सहरमा पनि यस्ता खोजी रिपोर्ट प्रकाशमा आएका छन्, जहाँ सरकारी तथ्यांकभन्दा कयौं बढी संक्रमित र मृतक रहेको दावी गरिएको छ । अन्त्येष्टि गर्ने ठाउँका कर्मचारीहरु रातदिन काम गरिरहेका छन् । उनीहरु शोक सन्तप्त परिवारहरुलाई मद्दत गरिरहेका हुन्छन् भने दाहसंस्कारका लागि दाउरा जुटाउने, चिता बनाइदिने तथा अन्य रिवाज निर्वाह गरिरहेका हुन्छन् ।

दिल्लीमा पार्किङ्ग, पार्क र खाली मैदानलाई पनि अन्त्येष्टि स्थलका रुपमा प्रयोग गर्न माग भइरहेको छ । धेरै परिवारले आफ्नो परिवारका सदस्यको अन्तिम संस्कारका लागि घण्टौंसम्म प्रतीक्षा गर्नु परिरहेको छ ।

शवदाह स्थल विस्तार गर्न आवश्यक

दिल्लीको सराय काले खान शवदाह स्थलमा शवको अन्तिम संस्कारका लागि २७ वटा नयाँ प्लेटफर्म बनाइएको छ । सोही ठाउँ नजिकैको पार्कमा ८० वटा त्यस्ता प्लेटफर्म बनाइएको छ ।

सराय काले खानमा पहिला एकसाथ २२ वटा शवमात्र जलाउन मिल्थ्यो । सो शवदाह स्थलका एक कर्मचारीले हिन्दू अखबारलाई जनाएअनुसार बिहानदेखि आधा रातसम्म लगातार काम गर्नुपरिरहेको छ ।

गाजीपुरको शवदाह स्थलमा पार्किङ गर्ने ठाउँमा २० अतिरिक्त प्लेटफर्म बनाइएको छ । इन्डियन एक्सप्रेस अखबारसँग कुरा गर्दै त्यहाँका एक कर्मचारीले बताएअनुसार यति धेरै शव आउन थालेको छ कि, थप प्लेटफर्म बनाउन आवश्यक देखिएको छ ।

प्रत्येक शव पूर्ण रुपमा जल्नका लागि ६ घण्टा समय लाग्छ । मानिसहरु आफ्नो परिवारका मृतकको अन्त्येष्टिका लागि तीन÷चार घण्टासम्म पालो कुरेर बस्नु परिरहेको छ ।

शवदाह स्थलको अवस्था

दिल्लीका अन्य शवदाह स्थलको अवस्था पनि यस्तै गम्भीर छ । कोरोना संकटसँग जुधिरहेका मानिसलाई मद्दत गर्ने गैर सरकारी संस्था ‘सेन्टर फर होलिस्टिक डेभलपमेन्ट’ का प्रमुख सुनील कुमार अलेदियाका अनुसार सहरका केही शवदाह स्थलमा सुविधा विस्तारका लागि ठाउँ नै छैन ।

शवदाह गृहको माग यसैगरी बढ्दै जाने देखिन्छ । दुई करोड जनसंख्या भएको सहरमा अस्पताल भरिभराउ छन् भने मेडिकल अक्सिजनको आपूर्ति कम देखिन्छ । सहरका कम्तीमा दुई अस्पतालमा अक्सिजन आपूर्ति अवरुद्ध भएपछि बिरामीहरु मृत्युवरण गर्न बाध्य भएका थिए । यस्तो अवस्थामा एम्बुलेन्सले पनि धान्न सकेन ।

अस्पतालमा बेड पाउन मुस्किल, बेड पाएको अवस्थामा पनि बिरामीलाई अस्पतालसम्म कसरी लैजाने भन्ने समस्या । कयौं मानिसले त यस्तै प्रतीक्षामा मृत्युवरण गर्न पुगे ।

अन्तर्राष्ट्रिय समुदायबाट मद्दतको प्रतिबद्धता

सामाजिक सञ्जालमा सहयोग माग्नेको ताँती लागेको छ । कोही अक्सिजन सिलिन्डरका लागि सहयोग मागिरहेका छन् भने कोही आइसियू बेड मागिरहेका छन्, कसैलाई जीवनरक्षक औषधि चाहिएको छ ।

यहाँसम्म कि, दिल्लीमा कोरोना परीक्षणको क्षमता पनि दबाबमा आएको छ । यस्तोमा कयौं मुलुकले भारतलाई सहयोगको हात बढाएका छन् । कसैले अक्सिजन पठाइरहेका छन् भने कसैले भेन्टिलेटर । -रातोपाटीबाट