सोमबार, वैशाख २७, २०७८   ०९:५१:४२

भारतमा अब दैनिक कोरोना संक्रमण घट्न लागेको हो?


सेतोखरी   2078-01-21

नेपालगन्ज २१ वैशाख : पछिल्लो समय कोरोना भाइरसको दोस्रो लहरले आक्रान्त बनेको भारतमा मे महिना सुरू भएसँगै केही राज्यहरूमा दैनिक संक्रमितको संख्या घट्न थालेको देखिएको छ ।

टाइम्स अफ इन्डियाका अनुसार महाराष्ट्र, पञ्जाब, दिल्ली, उत्तर प्रदेश, तेलंगना, मध्य प्रदेश र उत्तराखण्डमा केही दिनयता दैनिक संक्रमित थपिने क्रम घटेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अप्रिल ३० मा एकैदिन भारतभर ४ लाख बढी नयाँ सक्रमित थपिएका थिए । त्यसअघि दिनदिनै नयाँ रेकर्डमा थपिने संक्रमित पछिल्ला तीन दिनमा भने घटेका छन् । मे १ मा ३ लाख ९२ हजार, मे २ मा ३ लाख ६८ हजार हुँदै मे ३ मा ३ लाख ५५ हजार संक्रमित थपिएका छन् ।

सरकारले भने अहिले नै कोरोना संक्रमण घट्न थाल्यो भनेर ढुक्क हुने स्थिति नभएको बताएको छ । संक्रमण घटे पनि भारतमा अहिले पनि दैनिक मृत्यु हुनेको संख्या ३ हजारभन्दा माथि छ । सोमबारमात्रै ३ हजार ४ सय ३४ संक्रमितले ज्यान गुमाएका छन् ।

यसअघि अत्याधिक संक्रमण फैलिएका राज्यमा संक्रमण दर घटे पनि बिहार, आन्ध्रप्रदेश, केरला राज्यमा भने दैनिक संक्रमण बढिरहेको छ ।

भारतमा अहिलेसम्म २ करोड २७ लाख बढी मानिसमा कोरोना संक्रमण भएको छ भने २ लाख २२ हजारले ज्यान गुमाएका छन् । अहिले भारतमा ३४ लाख कोरोनाका सक्रिय संक्रमित छन् । -सेतोपाटीबाट