कहिले थामिएला भारतको चुनावी सभाले निम्त्याएको कोरोना सुनामी ?


कहिले थामिएला भारतको चुनावी सभाले निम्त्याएको कोरोना सुनामी ?

नेपालगन्ज २४ वैशाख : गएको सोमबार भारतीय एक सरकारी वरिष्ठ अधिकारीले देशका कुनै पनि स्थानमा अक्सिजनको अभाव नरहेको दाबी गरे । तर, देशभर अक्सिजन, आईसीयू, भेन्टिलेटर तथा बेडको अभाव भएको समाचार सार्वजनिक भइरहेका छन् ।

संक्रमितको मृत्यु दर उच्च हुँदा शव जलाउन घाट र दाउराको समेत अभाव भएका खबर भारतीय सञ्चार माध्यममा आइरहेकै छन् ।

केन्द्र सरकारका अधिकारीहरुले कतै पनि अक्सिजन अभाव नभएको जिकिर गरिरहँदा केन्द्रिय गृह मन्त्रालयका एक अधिकारीले माग अनुसार अक्सिजन आपूर्ति गर्न नसकिएको स्वीकारेको बीबीसी हिन्दीले जनाएको छ । उनका अनुसार अस्पताललाई समझदारीपूर्वक अक्सिजन प्रयोग गर्न निर्देशन दिइएको छ ।

अति जटिल अवस्थामा रहेका विरामीलाई मात्र अक्सिजन दिँदा समेत अभाव नटरेको चिकित्सकको भनाई छ । भारतमा हाल कायम रहेको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने भन्दै विज्ञहरुले यसअघि नै बारम्बार चेतावनी दिएका थिए । स्वास्थ्य मामलासम्बन्धी संसदीय समितिले गएको वर्ष नोभेम्बरमै अक्सिजन र शय्या अभाव हुने भनी आवश्यक तयारी गर्न सरकारलाई निर्देशन दिएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

विज्ञहरुले समेत छिट्टै कोरोनाको सुनामी आउने चेतावनी दिएका थिए । यो वर्ष मार्चको सुरुवातमै पनि सरकारद्वारा गठित वैज्ञानिकहरुको विशेषज्ञ टोलीले कोरोनाको अधिक संक्रामक भेरियन्टको बारेमा पूर्वचेतावनी दिएका थिए । यसका बाबजुद केन्द्रीय स्वास्थ्यमन्त्री हर्षबद्र्धन गोयलले मार्च ८ मा छिट्टै कोरोना महामारी अन्त्य हुने घोषणा गरे ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार बुधबार मात्रै भारतमा तीन लाख ८२ हजार तीन सय १५ जनामा कोरोना संक्रमण पुष्टि हुँदा तीन हजार सात सय ८० संक्रमितको मृत्यु भएको छ । कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको भारतमा करिब दुई साता यता दैनिक तीन लाखबढी कोरोना संक्रमित थपिइरहेको तथ्यांक छ ।
कोरोनाको संक्रमणदर बढिरहँदा अहिले भारतमा देशव्यापी लकडाउन गर्नुपर्ने माग उठेको छ । अहिलेसम्म कम्तिमा ११ राज्य र केन्द्र शासित प्रदेशहरुमा मात्रै निषेधाज्ञा जारी गरिएको छ ।

भारतीय मेडिकल एशोसिएशन (आईएमए)ले कोरोना संक्रमणको चेन ब्रेक गर्न तत्काल देशव्यापी लकडाउन गर्नुपर्ने भनेको छ । कोरोनाको चेन ब्रेक गर्नका लागि १५ दिन देशव्यापी लकडाउन गर्न हामी सरकारसँग अपिल गर्छौं, आईएमएका अध्यक्ष डा. सहजानन्द प्रसाद सिंहले भने । गएको वर्ष समयमै लकडाउन नगर्दा अमेरिकाले ठूलो मूल्य चुकाउनु परेको स्मरण गराउँदै उनले पहिल्यै यसबारे सोचेको भए अस्तव्यस्त स्वास्थ्य क्षेत्रको बोझ कम हुने बताए ।

सरकारका केही अधिकारीले छिट्टै महामारी अन्त्य हुने झुठा आश्वासन दिँदा विज्ञहरुले त्यसको ठीक उल्टो तेस्रो लहरको चेतावनी दिएका छन् ।

भारत सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार के विजय राघवन अहिले जुन तरिकाले संक्रमण फैलिएको छ त्यसअनुसार कोरोनाको तेस्रो लहर आउने देखिएको बताउँछन् । कोरानाको तेस्रो लहर कहिले सुरु हुन्छ भनी यकिन गर्न नसकिए पनि स्वास्थ्य मापदण्ड पालना गर्दै यसका लागि तयार रहनुपर्ने उनको सुझाव छ ।

कोरोनाको नयाँ म्युटेन्टसँग लड्नका लागि खोपलाई समेत अपडेट गर्न आवश्यक रहे पनि त्यस्तो गर्न नसकिएको राघवन बताउँछन् । भाइरसको नयाँ फैलावट जस्तै मानिसले पालना गर्दै आएको स्वास्थ्य सावधानीमा समेत परिवर्तन गर्नुपर्ने उनको तर्क छ ।

कहाँ चुक्यो सरकार ?

गएको वर्ष सेप्टेम्बरमा भारतमा दैनिक संक्रमितको संख्या औषत ९० हजार थियो । स्वास्थ्य मापदण्डको पालना र लकडाउन लगायतका सावधानीपछि नयाँ वर्षको सुरुमा यो संख्या २० हजार भन्दा तल झ¥यो । त्यस बेला प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनालाई परास्त गरेको घोषणा पनि गरे ।

धेरै सार्वजनिक स्थल खुला गरियो र मानिसहरुको चहलपहल बढ्यो । मोदीले मानिसलाई भौतिक दूरी कायम गर्न र स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह त गरिरहेकै थिए, तर उनी आफैंले भने कुनै मापदण्ड पालना नगरेको कुरा चुनावी सभाले पुष्टि ग¥यो ।

पाँच राज्यमा चुनावी सभा गर्दा भौतिक दूरी कायम राख्ने विषयलाई कुनै पनि राजनीतिक दलले वास्ता गरेनन् । सभालाई सम्बोधन गर्दा न मोदी लगायत अन्य नेताले मास्क लगाए न त्यहाँ उपस्थित उनीहरुका समर्थकले नै ।

यसैबीच उत्तराखण्डको हरिद्वारमा लाखौं मानिस भेला हुने कुम्भ मेला सञ्चालन गर्न पनि सरकारले मन्जुरी दियो । त्यो मेलामा ९० लाखभन्दा बढी मानिस सहभागी भएको बताइएको छ ।

सार्वजनिक नीति र जनस्वास्थ्यका जानकार डा. चन्द्रकान्त लहरियाले संक्रमण बढ्नुमा प्रधानमन्त्री मोदी स्वयं जिम्मेवार रहेको टिप्पणी गरेका छन् । मोदीको बोली र व्यवहारमा बेमेल देखिएको उनको जिकिर छ । –बाह्रखरीबाट