अमेरिकामा गोली प्रहारबाट एक नेपालीको मृत्यु, एकजना घाइते


अमेरिकामा गोली प्रहारबाट एक नेपालीको मृत्यु, एकजना घाइते

वष्टन (अमेरिका) : अमेरिकाको मेरील्याण्ड राज्यमा गोलीप्रहार र आगजनीमा परि एक नेपालीको मृत्यु भएको छ ।

मृत्यु भएका नेपाली संखुवासभा खाँदबारी ६ तल्लो पांगाका सागर घिमिरे भएको पुष्टि भएको छ ।

घिमिरेले केही समय अघिमात्र साउथ क्यारोलाइनास्थित क्लाफ्लिन युनिभर्सिटीबाट कम्प्युटर साइन्समा स्नातक गरेको उनका सहोदर काका कप्तान घिमिरेले बताए ।

शनिबार बिहान बाल्टिमोर काउण्टीको उडलनमा भएको उक्त आगजनी तथा गोली प्रहारमा घिमिरेसहित ४ जनाको ज्यान गएको स्थानीय अधिकारीहरुलाई उदृत गर्दै एनबीसी न्युजले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

५१ वर्षीय एक व्यक्तिले घरमा आगो लगाएपछि घरबाहिर सटगन लिएर बसेको र घटनास्थलमा प्रहरी आउनासाथ प्रहरीको गोलीबाट ती व्यक्तिको मृत्यु भएको बताइएको छ ।
घटनामा अर्का एक नेपाली युवा पनि घाइते भएको र उनको अवश्था खतरामुक्त भएको बाल्टिमोर एशोसियसन अफ नेपलिज अमेरिकाका पूर्वमहासचिव तथा पत्रकार गौतम दाहालले बताए ।

सागर ४ वर्ष अगाडि उच्च शिक्षा अध्ययनका लागि अमेरिका आएका थिए । उनी विक्रम घिमिरे र दुर्गा घिमिरे (स्वर्गीय)का कान्छा छोरा हुन् । मृतक घिमिरेका एक दाजु र एक दिदी रहेका छन् ।

‘राम्रो अंकका साथ ब्याचलर्स गरेको थियो,’ उनका काका कप्तानले भने, ‘पढाइमा तेज भएकोले उसले स्कलरसिप पनि पाएको थियो ।’ कप्तान दुखद खबर सुनेपछि अन्तिम सँस्कारका लागि क्यालिफोर्नियाको ओकडेलबाट बाल्टिमोर जाँदैछन् । -बाह्रखरीबाट