यी जुम्ल्याहा दाजुभाइ केही मिनेटको अन्तरमा जन्मिए, केही घन्टाको फरकमा बिते


यी जुम्ल्याहा दाजुभाइ केही मिनेटको अन्तरमा जन्मिए, केही घन्टाको फरकमा बिते

नयाँदिल्ली ४ जेठ : भारतमा अहिले कोरोनाभाइरसको दोस्रो लहर फैलिरहेको छ। लाखौं मानिस संक्रमित भएका छन् दैनिक चार हजार मानिसले ज्यान गुमाइरहेका छन् ।

महामारीको यो लप्कोले मिरूतस्थित सेन्ट थोमस स्कुलका शिक्षक ग्रेगोरी रेमन्ड राफेलको घरलाई पनि छोयो । उनका जुम्ल्याहा दुई छोरालाई अप्रिल २४ मा ज्वरो आयो ।
आइटी इन्जिनियर दुबै जनाको अघिल्लो दिन बर्थडे थियो । सन् १९९७ मा राफेलकी पत्नी सोजाले उनीहरूलाई केही मिनेटको अन्तरालमा जन्म दिएकी थिइन् ।

जुम्ल्याहा यी दाजुभाइले त्यसपछि लगभग सबै काम सँगसँगै गरे । दुबैले एउटै विश्वविद्यालयमा आइटी पढे र इन्जिनियर बने। दुबै जना हैदरावादमा काम गर्थे । केही समयपछि उनीहरू काम गर्न विदेश जाने सोचमा थिए ।

बुवा राफेलका अनुसार २४ औं जन्मदिन मनाएका उनीहरूलाई आएको ज्वरो निको नभएपछि मे १ मा उनीहरूलाई अस्पतालमा भर्ना गरियो। दुबै जनाको शरीरमा अक्सिजनको मात्रा निकै घटेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

आनन्द अस्पतालको कोभिड वार्डमा उनीहरूको उपचार भयो ।

अचानक मे १३ मा सोजालाई अस्पतालबाट फोन आयो । उनका एक जना छोराको कोरोनाले मृत्यु भएको जानकारी दिइयो ।

‘ऊ बितेको खबर सुनेपछि मलाई लागिसकेको थियो– अब अर्को छोरा पनि बाँच्दैन। किनकी उनीहरू छुट्टिनै नसक्ने थिए,’ राफेलले भने ।

नभन्दै त्यस्तै भयो । केही घन्टा नबित्दै सोही अस्पतालमा उपचार भइरहेका अर्का छोराको पनि मृत्यु भयो ।

‘कोरोनाले हाम्रो परिवार ध्वस्त बनाइदियो । मलाई थाहा छैन भगवानले किन हामीजस्ता मान्छेलाई नै यस्तो गर्छ,’ राफेलले भने,‘मलाई आशा छ– दाजुभाइ अहिले पनि सँगै होलान् ।’ -सेतोपाटीबाट