एनआरएन अष्ट्रेलिया चुनाव : आईसीसी सदस्यका लागि भण्डारीको उम्मेदवारी


एनआरएन अष्ट्रेलिया चुनाव : आईसीसी सदस्यका लागि भण्डारीको उम्मेदवारी

पर्थ (अस्ट्रेलिया) ४ साउन : डेढ दशकदेखि अस्ट्रेलियामा रहेर नेपाली भाषाको उन्नयनमा सक्रिय रहेका नविन भण्डारीले आईसीसी सदस्यका लागि उम्मेदवारी दिने भएका छन् ।

आसन्न गैर आवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको अधिवेशनमा भण्डारीले आईसीसी सदस्यका लागि उम्मेदवारी दिने भएका हुन् । उनले उक्त पदमा आफ्नो आवश्यकता रहेको दाबी गर्दै उम्मेदवारीका लागि तयार रहेको बताए । संगठनप्रति आस्था र सद्भाव भएको कारणले प्रतिस्पर्धामा उत्रिएको उनको ठम्याई छ ।

वेस्टर्न अस्ट्रेलियाबाट प्रतिनिधित्व गर्दै एनआरएनएलाई सबल र सफल बनाउने उद्देश्यमा जुटेका भण्डारी अस्ट्रेलियामा रही व्यावसायीक र सामाजिक काममा समेत सक्रिय रहँदै आएका छन् ।

उनी नेप्लिज एशोसीएशन अफ वेस्टर्न अस्ट्रेलिया (नव)द्वारा पर्थमा सञ्चालित नेपाली भाषा पाठशाला ‘स्कुल’का प्रिन्सिपल हुन् ।

Kids Festival 2022
kanti aarogya hospital

भण्डारीले आफ्नो उम्मेदवारीका विषयमा बोल्दै भने ‘एनआरएनए सफल बनाउनका लागि सामूहिक काममा जोड दिनुपर्छ, पवित्र संस्थामा रहेर सामाजिक उत्तरदायित्वलाई निभाउनका लागि उम्मेदवारी घोषणा गरेको हुँ ।’

नेपाली युवाले अस्ट्रेलियामा आएर सम्भवतः पहिलो चाइल्ड केयर सेन्टर चलाउनेमा पनि भण्डारी पर्छन् । उनले सामसोन किन्डर गार्डेन नामको चाइल्ड केयर चलाएका छन् ।
यसअघि देखि नै एनआरएनएमा सक्रिय रहेका उनी गएको अधिबेशनमा संयोजकको पदमा पराजित भएका थिए ।

भण्डारीले जसरी भाषा पाठशाला अस्ट्रेलियामा स्थापित गरेका छन् । त्यसरी नै विश्वव्यापी स्तरमा बढाउन सकिने उद्देश्यलाई पनि एनआरएनएको चुनावसँग दाँजेका छन् ।
उनले आईसीसी सदस्यका लागि सबैको साथ र सहयोग आवश्यक रहेको भन्दै भोटका लागि अपील गरे । अधिवेशन आगामी ३१ जुलाईमा हुँदैछ ।