नेपालमै पहिलोपटक स्नातक तहमा खेलकुद विषयको पढाइ


नेपालमै पहिलोपटक स्नातक तहमा खेलकुद विषयको पढाइ

नेपालगन्ज २९ साउन : खेलकुद पर्यटनको सहर बन्दै गएको पोखरामा खेलकुद विषयको पढाइसमेत हुने भएको छ ।

गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयमा यस वर्षदेखि नेपालमै पहिलोपटक स्नातक तहमा चारवर्षे कार्यक्रम ‘ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट’ (बीएसएम) को अध्यापन सुरु गर्न लागिएको हो ।

विश्वविद्यालयले खेलकुद विषय अध्यापनका लागि अहिले भर्ना आह्वान गरिसकेको छ। यही साउन मसान्तसम्म विद्यार्थी भर्ना जारी रहने विश्वविद्यालयले जनाएको छ ।

प्रदेश सरकारले प्रदेशमा प्राविधिक दक्ष जनशक्ति उत्पादनको लक्ष्यसहित दुई वर्षअघि विश्वविद्यालय स्थापना गरेको हो। यस वर्षदेखि विश्वविद्यालयले आफ्ना शैक्षिक कार्यक्रम अघि बढाएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

बीएसएमसहित यस वर्षदेखि ब्याचलर इन इन्फरमेसन टेक्नोलोजी (बीआईटी) को पनि अध्यापन सुरु हुनेछ । देशमै पहिलोपटक स्नातक तहमा बीएसएमको चारवर्षे शैक्षिक कार्यक्रममा विद्यार्थीलाई खेलकुदका सैद्धान्तिक विषयसँगै प्रयोगात्मक अध्ययन अध्यापन गराइने विश्वविद्यालयका उपकुलपति प्राचार्य डाक्टर नवराज देवकोटाले बताए ।

उनका अनुसार अधिकतर पाठ्यक्रम अन्तर्राष्ट्रिय मापदण्डमा आधारित छ । पाठ्यक्रमममा १० देखि १२ वटा खेलका विषयमा सैद्धान्तिक अध्ययापनसमेत हुने बताइन्छ ।

‘नेपालमा अहिलेसम्म स्पोर्ट्समा युवालाई आकर्षण गर्ने कार्यक्रम देशका कुनै पनि विश्वविद्यालयमा नरहेकाले नयाँ सन्देश दिने गरी हामीले सुरुआत गरेका हौं,’ उपकुलपति देवकोटाले भने, ‘अध्यापनको मुख्य उद्देश्य युवालाई खेलकुद व्यवस्थापक, म्यानेजर, प्रशिक्षक, रेफ्रिसहित खेलकुद कार्यक्रम सञ्चालनमा सक्षम बनाउनु सँगसँगै खेलाडी बन्नसमेत सघाउने छ ।’

आठ सेमेस्टरमा सञ्चालन हुने कोर्षमा भलिबल, फुटबल, तेक्वान्दो, कराँते, ह्याण्डबल, एथलेटिक्स, जिम्न्यास्टिक, बास्केटबल, आर्चरी, ठेलो, क्रिकेट र स्विमिङलाई समावेश गरिएको छ ।

यसैगरी खेलकुद मार्केटिङ, खेलकुद अर्थतन्त्र, ‘फन्डिङ इन स्पोर्ट्स’, ‘स्पोर्ट्स टुरिजम’, ‘स्पोर्ट्स इन ग्लोबलाइजेसन’, ‘स्पोर्ट्स इन मिडिया’, ‘स्ट्राटेजिक म्यानेजमेन्ट इन स्पोर्ट्स इन्डस्ट्रिज’, ‘एथलेटिक्स केयर एन्ड रिह्याबिलिटेसन’लगायतका विषय पाठ्यक्रममा राखिएको छ ।

स्नातक तहमा खेलकुद विषयको अध्यापनबाट एक सक्षम खेल प्रशासक र खेल व्यवस्थापक बन्नका लागि विद्यार्थीलाई पर्याप्त ज्ञान प्राप्त गर्ने विश्वास लिइएको छ । गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले नेपालको खेलकुद विकासका लागि सो कार्यक्रम कोसेढुंगा बन्ने बताउँछन् ।

उनले भने, ‘खेलकुदमा भविष्य खोज्नेका लागि गण्डकी प्रदेशले एउटा सुनौलो ढोका खोलिदिएको छ । खेलकुदको प्रचुर सम्भावना भएको पोखरामा यस विषयको पढाइले खेलकुद व्यवस्थापन र खेलकुदमा दक्ष जनशक्ति उत्पादनमा सघाउने छ ।’

स्नातक तहमा चारवर्षे बीएसएम कार्यक्रमको शुल्क ३ लाख ३० हजार रहेकामा विद्यार्थीलाई छात्रवृत्तिको समेत व्यवस्था गरिएको विश्वविद्यालयले जनाएको छ ।

पहिलो वर्ष ५० विद्यार्थीका लागि कोटा रहेको र आगामी दसैंपछि कक्षा सञ्चालनको तयारी छ । स्नातक तहमा चारवर्षे कोर्ष पूरा भएपछि स्नातकोत्तर तहमा पनि खेलकुद विज्ञानका विषयमा अध्यापन गरिनेछ ।

नेपालको संविधानले उच्च शिक्षाको व्यवस्थापनको अधिकार प्रदेश सरकारलाई दिएको छ । यसैगरी माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई छ । -रासस