नेपाली सेनाको तदारुक्तामा नेपालगन्ज रंगशालाभित्र सरसफाई


नेपाली सेनाको तदारुक्तामा नेपालगन्ज रंगशालाभित्र सरसफाई

नेपालगन्ज रंगशालाभित्र आईतबार सरसफाई गरिँदै । तस्विर सौजन्य त्रिभुवन आर्मी क्लब

नेपालगन्ज २७ भदौ : मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति र नेपाली सेनाको राँझा स्थित भैरवप्रसाद गणको समन्वयमा नेपालगन्ज रंगशालाभित्र सरसफाई गरिएको छ । रंगशालाभित्र फुटबल मैदान, ट्रयाकमा उम्रिएको घाँस काटिएको छ भने प्याराफिटको सरसफाइ गरिएको छ । यो अभियान आगामी तीनदिनसम्म चल्नेछ ।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने क्रममा बनेका करोडौँका संरचनाको व्यवस्थापनमा केन्द्रले बेवास्ता गर्दा रंगशालाका सबै संरचनाहरु जीर्ण हुदैँ गएकाछन् । कोरोनाको कारण देखाउँदै विगत दुई वर्षदेखि रंगशाला बन्द छ भने आर्थिक अभावले उचित मर्मत सम्भार हुनसकेको छैन ।

यसरी लामो समयदेखि प्रयोगविहीन भएको नेपालगन्ज रंगशाला सरसफाई गर्न नेपाली सेनाको राँझास्थित भैरवप्रसाद गणले तदारुक्ता देखाएपछि आईतबार मैदानको घाँस काटान गरिनुका साथै प्याराफिटको सरसफाइ गरिएको हो ।

मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले आर्थिक अभावमा रंगशालाको पूर्ण सरसफाइ र व्यवस्थापन गर्न नसकिएको बताए । उनका अनुसार रंगशालाको सरसफाइदेखि व्यवस्थापनका लागि वार्षिक दश लाख रुपैयाँ खर्च हुन्छ । दुई वर्षदेखि बजेट नआएकाले पनि रंगशालाको सरसफाई हुननसकेको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

आठौँ राष्ट्रिय खेलकुदताका फुटबल मैदानमा ३६ लाखको बर्मुडा घाँस रोपिएको थियो । तर, अहिले बर्मुडा घाँसको ठाउँमा स्थानीय जातको घाँस उम्रिएर मैदान ढाकेको थियो । भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीको सहयोगमा रंगशाला चिटिक्क पार्ने काम भएको छ । नेपाली सेनाले रंगशालाको सरसफाइदेखि मैदानको घाँस काटिरहेको छ ।

तीन दिनमा मैदान र ट्रयाकको घाँस काटिसक्ने बताइएको छ । दुई वटा मेसिनले घाँस काटिरहेको छ । घाँस काटेर खेल्न मिल्ने भएपछि खेलाडीहरुलाई अभ्यास गर्न दिने तयारी गरिएको छ । रंगशालामा फुटबल खेल्न नदिइएकाले पनि घाँस उम्रिएको हो ।

रंगशाला सरसफाईका क्रममा नेपाल ओलम्पिक कमिटिका कोषाध्यक्ष रतन टण्डन, बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोहित शाह लगायत खेल प्रशिक्षक तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।