आयोजक रोयलले सनलाईटलाई ७–१ ले हरायो


आयोजक रोयलले सनलाईटलाई ७–१ ले हरायो

नेपालगन्ज १५ असोज : प्रथम बागेश्वरी नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रोयल नेपालगन्ज फुटबल क्लब विजयी भएकोछ । रोयलले हसनापुरको सनलाईट युवा क्लबलाई ७–१ गोलले पराजित गर्दै विजयी यात्रा शुरु गरेको हो । प्रतियोगितामा पहिलो गोल भने सनलाईटले गरेको थियो ।

खेल शुरु भएको ६ मिनेटमै सनलाईटका कृष्ण खड्काले गोल गरेर टीमलाई अग्रता दिलाएका थिए । रोयलले ३२ मिनेटमा बराबरी गोल गर्यो । रोयलका विशाल थापाले पहिलो गोल गरेका थिए । खेलको ४० औं मिनेटमा विशालले पुनः अर्को गोल गर्दै टिमलाई अग्रता दिलाए ।

खेलको मध्यान्तरसम्ममा २–१ गोलले अग्रता लिएको रोयलले त्यसपछि लगातार ५ गोल थप्यो । रोयलका भुपेन्द्र शाहीले ५९ र ७६ मिनेटमा, विभुषण केसीले ६४ र ६५ मिनेटमा, प्रकाश बुढाथोकीले ६१ मिनेटमा गोल गरेका थिए । खेलमा रोयलका विशाल थापा म्यान अफद द म्याच घोषित भए । उनलाई क्लबका उपाध्यक्ष माधव अर्यालले पुरस्कार प्रदान गरे ।

प्रतियोगिताको लुम्बिनी प्रदेशका सांसद एवम ओलम्पियन सुरेन्द्र हमालले रेफ्री अमर घलेलाई बल हस्तान्तरण गरि उद्घाटन गरे । सो क्रममा बोल्दै हमालले खेलको विकासका लागि प्रतियोगिताहरु निरन्तर हुनुपर्ने बताए । उनले खेल र खेलाडीको विकासमा बाँकेको महत्वपूर्ण योगदान रहेको भन्दै यसको निरन्तरताका लागि बाँकेबासी अग्रसर हुनुपर्नेमा जोड दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस्तै कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेललाले जिल्लाको खेलकुद र खेलाडीको विकास र प्रर्बद्धनका लागि आधुनिक नेपालगन्ज रंगशालामा नियमित अभ्यास र प्रतियोगिता हुन सके फुटबल लगायतको खेलकुदको विकास हुने बताए ।

आयोजक रोयल नेपालगन्ज फुटबल क्लबका अध्यक्ष सूर्यमणीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा महासचिव दीर्घराज आचार्यले स्वागत मन्तब्य राखेका थिए ।

कार्यक्रममा बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी, सशस्त्र प्रहरीका प्रमुख एसपी अशोक बम, नरेन्द्र गिरी, नेपाली सेनाका मेजरद्वय कपुर सिंह र दीप श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोहित शाह, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका कार्यलय प्रमुख महेश चन्द, एन्फाका पूर्व उपाध्यक्ष गोर्बद्धन सिंह सम्झना, बाँके जिल्ला फुटबदल संघका भोजराज शाही, पर्यटन प्रर्बद्धन मञ्च बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठ, ब्याडमिन्टन संघका सञ्जय थापा, एन्फा बाँकेका कोषाध्यक्ष वीरेन्द्र श्रेष्ठ, क्लबका सल्लाहकार किसन गुरुङ लगायतको सहभागिता रहेको थियो ।

नेपालगन्ज रङ्गशालामा भइरहेको प्रतियोगितामा जिल्लाका १४ वटा क्लबबीच प्रतिस्प्रर्धा भइरहेकोछ । जसमा जानकी गाउँपालिकाको न्यू भगवती क्लब, कोहलपुरको सिटी युथ क्लब, नेपालगन्जको युनाइटेड क्लब, खजुराको न्यू डाँफे स्पोर्टस क्लब, कर्णाली प्रदेश दंगा नियन्त्रण प्रहरी गण सम्पर्क कार्यालय नेपालगन्ज, सनलाईट युथ क्लब, हसनपुर, हेल्थ बिनिफिटनेस नेपालगन्ज, मोडेल टिम सीगाउँ, धम्बोझी क्लब नेपालगन्ज, नव दुर्गा युथ क्लब, कम्दी, साइनिङ स्टार युथ क्लब, भैरवप्रसाद गण, राँझा, रेसिङ साहारा क्लब, कोहलपुर र आयोजक रोयल नेपालगन्ज फुटबल क्लब नेपालगन्जबीच प्रतिस्प्रर्धा हुनेछ ।

प्रतियोगिताको विजेतालाई एक लाख एघार हजार एक सय एघार रुपैयाँ र द्वितीय हुनेलाई ५१ हजार एक सय ११ रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र दिइनेछ । प्रतियोगिता अवधिभर उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कष्ट गोलकर्ता र अनुसाशीत टिमलाई ट्रफि र प्रमाणपत्र दिइने आयोजकले जनाएकोछ । शनिबार दिउँसो २ बजे धम्बोझी क्लब नेपालगन्ज र मोडेल टिम सी गाउँबीच प्रतिस्प्रर्धा हुनेछ ।