प्रथम बागेश्वरी कप : धम्बोझी र रेसिङ साहरा विजयी


प्रथम बागेश्वरी कप : धम्बोझी र रेसिङ साहरा विजयी

नेपालगन्ज १६ असोज : रोयल नेपालगन्ज फुटबल क्लबले आयोजना गरेको प्रथम बागेश्वरी नकआउट फुटबल प्रतियोगितामा नेपालगन्जको धम्बोझी क्लब र कोहलपुरको रेसिङ साहराले विजयी शुरुवात गरेका छन् । नेपालगन्ज रंगशालामा चलिरहेको प्रतियोगितामा धम्बोझी क्लबले मोडेल टीम र रेसिङ साहराले न्यू भगवतीलाई पराजित गरेका हुन् ।

पहिलो खेलमा धम्बोझीले मोडेल टीमलाई ३–१ गोलले पराजित ग¥यो । धम्बोझीले प्रशान्त केसीको गोलबाट ४५ मिनेटमा अग्रता लिएको थियो । ७४ मिनेटमा मिलनध्वज सलामीको गोलमा धम्बोझीले अग्रता बढायो । ८० मिनेटमा फेरि प्रशान्तले धम्बोझीका लागि अर्को गोल थपे । मोडेलका तर्फबाट सरोज खत्रीले ८२ मिनेटमा एक गोल गरेका थिए ।

पहिलो हाफसम्म राम्रो प्रतिस्पर्धा गरिरहेको मोडेल त्यसपछि खस्किएको थियो । पहिलो हाफमा धम्बोझीले भन्दा गोलका अवसर मोडेलले पाएको थियो । त्यो अवसरलाई मोडेलले सदुपयोग गर्न सकेन ।

खेलमा धम्बोझीका प्रशान्त केसी म्यान अफ द म्याच भए । उनलाई भेरी अञ्चल ट्रक व्यवसायी संघका अध्यक्ष किसन गुरुङले ट्रफी हस्तान्तरण गरे ।

Kids Festival 2022
kanti aarogya hospital
add

अर्को खेलमा रेसिङले न्यू भगवतीलाई २–० गोलले पराजित ग¥यो । प्रतिस्पर्धात्मक खेलको ६५ मिनेटमा न्यू भगवतीले आत्मघाती गोल खाएको थियो । रेसिङका मनोज ओलीले बायाबाट क्रस गरेको बल न्यू भगवतीको डिफेन्डरको खुट्टामा लाग्दै गोल भएको थियो । आत्मघाती गोल खाएपछि अलिकति निराश बनेको न्यू भगवतीले सम्हालिन नपाउदै अर्को गोल खाएको थियो । ६८ मिनेटमा रेसिङका निराजन शाहीले गोल गरेका थिए ।

यो खेलमा रेसिङका निराजन शाही म्यान अफ द म्याच भए । उनलाई नेपालगन्ज फुटसलका अध्यक्ष मोहनबहादुर अधिकारीले पुरस्कृत गरे ।

असोज २१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई एक लाख एघार हजार एक सय एघार रुपैया र द्वितिय हुनेलाई ५१ हजार एक सय एघार रुपैया, मेडल, ट्रफी र प्रमाणपत्र दिइने छ । आईतबार दिउँसो दुई बजे न्यू डाँफे स्पोर्टस क्लव र सिटी युथ क्लव तथा चार बजे नवदुर्गा युथ क्लव र दंगा पुलिसका बीचमा खेल हुनेछ ।