आयोजक रोयलले जित्यो प्रथम बागेश्वरी कपको उपाधि


आयोजक रोयलले जित्यो प्रथम बागेश्वरी कपको उपाधि

नेपालगन्ज २१ असोजः प्रथम बागेश्वरी नकआउट फुटबल प्रतियोगिताको उपाधी आयोजक रोयल नेपालगन्ज फुटबल क्लबले हात पारेको छ ।

नेपालगन्ज रङ्गशालामा बिहीबार उपाधिका लागि भएको खेलमा आयोजक रोयल नेपालगन्जले न्यू डाँफे स्पोर्टस क्लबलाई २–० गोलले पराजित गरेर उपाधि जितेको हो । उपाधि जितेसँगै रोयलले एक लाख ११ हजार एक सय ११ रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपाधीका लागि भएको खेल निकै प्रतिस्पर्धात्मक बन्यो । खेलमा रोयलका विभुषण केसीले ५८ मिनेटमा गरेको गोलले टिमलाई अग्रता दिलाएको थियो । ‘डी’एरिया बाहिरबाट हानेको फ्रिकिक बललाई न्यू डाँफेका किपर प्रकाश बुढाले समात्न नसकेर फुस्काएपछि केसीले गोल गरे । एक गोलले पछाडी परेपछि न्यू डाँफेले उपाधिका लागि खेल रणनीति समेत परिवर्तन गरेको थियो ।

मेन डिफेन्स खेलिरहेका कृष्ण रानाभाट अगाडि बढेका थिए । त्यसको फाइदा रोयलले उठायो । रोयलले १० मिनेटपछि नै अर्को गोल थप्यो । रोयलका यमबहादुर बुढाथोकीले ६८ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए ।

Kids Festival 2022
kanti aarogya hospital
add

प्रतियोगिताका अन्य खेलमा आक्रमक खेल खेलेको न्यू डाँफेले फाइनलमा उत्साहजनक प्रदर्शन गर्न सकेन । यतिमात्र होइन उसले पोष्ट चार्ज गर्न नै सकेन । फाइनल खेलको म्यान अफ द म्याच रोयलका विभुषण केसी भए । उनलाई नेकपा एमाले, बाँकेका अध्यक्ष निरक गुरुङले पुरस्कार प्रदान गरे ।

द्वितिय हुने न्यू डाँफेले ५१ हजार एक सय ११ रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कार पाएको छ । बाँकेका कुल १४ वटा क्लबले भाग लिएको प्रतियोगिताको बेष्ट किपर रोयलका प्रितम खड्का, उत्कृष्ट खेलाडी रोयलकै मनिष थापा र हाइस्कोरर पनि रोयलकै विभुषण केसी भएका छन् ।

प्रतियोगिताको विजेता, उपविजेता, उत्कृष्ट खेलाडी, हाइस्कोरर, उत्कृष्ट किपरलाई श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी हरेन्द्र पाठक, भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्की, नेकपा एमाले, बाँकेका अध्यक्ष निरक गुरुङ, रोयलका अध्यक्ष सूर्यमणी अधिकारी, पर्यटन प्रर्बद्धन मञ्च, बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ, क्लबका सल्लाहकार किसन गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा आयोजक रोयल नेपालगन्ज फुटबल क्लबसहित जानकी गाउँपालिकाको न्यू भगवती क्लब, कोहलपुरको सिटी युथ क्लब, नेपालगन्जको युनाइटेड क्लब, खजुराको न्यू डाँफे स्पोर्टस क्लब, कर्णाली प्रदेश दंगा नियन्त्रण प्रहरी गण सम्पर्क कार्यालय नेपालगन्ज, सनलाईट युथ क्लब, हसनपुर, हेल्थ बिनिफिटनेस नेपालगन्ज, मोडेल टिम सीगाउँ, धम्बोझी क्लब नेपालगन्ज, नव दुर्गा युथ क्लब, कम्दी, साइनिङ स्टार युथ क्लब, भैरवप्रसाद गण राँझा र रेसिङ साहारा क्लब, कोहलपुरबीच प्रतिस्प्रधा भएको थियो ।