साफ उपविजेता खेलाडीलाई जनही ५ लाख दिइने


साफ उपविजेता खेलाडीलाई जनही ५ लाख दिइने

नेपालगन्ज १ कार्तिक : साफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली फुटबल टोलीका खेलाडीहरुलाई जनही ५–५ लाख रुपैयाँ उपलब्ध गराइने भएकोछ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले साफ च्याम्पियसिपको उपविजेता बनेको नेपाली फुटबल टोलीका खेलाडीहरुलाई जनही ५/५ लाख र प्रशिक्षकहरुलाई ३–३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको हो ।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार उक्त रकम प्रदान गरिने भएकोछ । माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलसम्म पुगेको थियो । तर, फाइनलमा भारतसँग ३–० ले पराजित भएको नेपाल उपविजेतामा सिमित रहृयो ।

यसैबीच नेपाली फुटबल टोली सोमबार मात्र नेपाल फर्किएको थियो । नेपाल फर्किएको नेपाली फुटबल टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा भब्य स्वागत गरिएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

साफको २८ वर्षे इतिहासमा नेपाल पहिलोपटक फाइनलमा पुगेको हो ।

साफ च्याम्पियनसिपका लागि नेपाली टोली गत भदौ २५ गते कतार गएको थियो । कतारमा मैत्रीपूर्ण खेल र अभ्यासपछि टोली असोज ११ गते मालदिभ्स पुगेको थियो । साफ च्याम्पियनसिपमा नेपालले पहिलोपटक लगातार दुई खेल जितेको थियो । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १–० र दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले हराएको थियो ।

तेस्रो खेलमा भने भारतसँगै १–० ले हारेको नेपाली टोलीले लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै पहिलोपटक साफको फाइनलमा पुगेको थियो ।

अहिले स्वदेश फर्किएको फुटबल टोलीमा मुख्य प्रशिक्षक अब्ब्दुल्लाह अलमुताइरी र रोहित चन्द भने छैनन् । मुख्य प्रशिक्षक अलमुताईरीले बगंलादेशसँगको खेलपछि नै नेपाल नर्फिकने भन्दै राजीनामा दिएका थिए भने इन्डोनेसियामा व्यावसायिक लिग खेलिरहेका रोहित उतैबाट जकार्ता गएका हुन् । तर, साफको फाइनलपछि अलमुताईरीले आफूलाई केही समयको विश्राम चाहिएको भन्दै पछि मात्रै यस विषयमा निर्णय लिने बताएका छन् ।