महिला भलिबलको राष्ट्रिय टिम तयार पार्न पालिकास्तरीय प्रतियोगिता : अध्यक्ष शाह


महिला भलिबलको राष्ट्रिय टिम तयार पार्न पालिकास्तरीय प्रतियोगिता : अध्यक्ष शाह

नेपालगन्ज ११ कार्तिक : बाँकेमा पहिलोपटक पालिकास्तरीय महिला भलिबल प्रतियोगिता हुने भएकोछ । जिल्ला खेलकुद विकास समिति, बाँकेले भोली (शुक्रबार)देखि कार्तिक १४ गतेसम्म बाँकेको खजुरास्थित भलिबल स्टेडियममा पालिकास्तरीय महिला भलिबल प्रतियोगिता गर्न लागेको हो ।

महिला भलिबलको राष्ट्रिय टीम तयार गर्ने उद्देश्यले पालिकास्तरीय प्रतियोगिता आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोहित शाहले जानकारी दिए ।

उनले गाउँ–गाउँबाट महिला भलिबल खेलाडी खोजी गरि उत्कृष्ट खेलाडी छनोट गरिने बताए । स्थानीय तहमा महिला खेलाडी भए पनि पहिचान हुन नसक्दा प्रतिभाहरु ओझेलमा परेको बताउँदै उनले प्रतिभाको खोजी गर्ने प्रतियोगिताको प्रमुख उद्देश्य रहेको बताए ।

‘महिला खेलाडी बाहिर आउन नसक्दा उनीहरुको प्रतिभा दबेर बसेको छ । यो प्रतियोगिताले प्रतिभाको खोजी गरि बाहिर ल्याउन मद्दत गर्ने छ,’ अध्यक्ष शाहले भने । प्रतियोगितामा जिल्लाका ८ वटै पालिकाका ८ वटा महिला टीम सहभागी हुने प्रतियोगिता संयोजक समेत रहेकी उपाध्यक्ष कृष्णा पाठकले बताइन् ।

Kanti Aarogya Hospital Nepalgunj

उनले जिल्लामा महिला भलिबलको सम्भावना प्रबल रहेपनि खेलाडी बाहिर आउन नसक्दा टीम बनाउन समस्या भएको बताइन् । ‘वडा तहसम्म लुकेका प्रतिभाको खोजी गरेर जिल्लास्तरीय महिला भलिबल टीम बनाउन प्रतियोगिता आयोजना गरेका हौं,’ उनले भनिन् ।

लिककम नकआउट प्रणालीमा हुने प्रतियोगितामा प्रथम हुने टीमले ५० हजार, दोस्रोले ३० हजार, तेस्रोले २० हजार र सान्तवना हुने टीमले १० हजार रुपैँया नगद पुरस्कार र ट्रफी पाउने भएका छन् । प्रतियोगिताको प्रतिनिधी सभा सदस्य नन्दलाल रोकायले गर्ने आयोजक जिल्ला खेलकुद विकास समिति बाँकेले जनाएकोछ ।