गोल्ड मेडलिष्ट बोगटीले जिते नेपालगन्ज म्याराथनको उपाधी


गोल्ड मेडलिष्ट बोगटीले जिते नेपालगन्ज म्याराथनको उपाधी

नेपालगन्ज ४ मंसिर : सातौं धारा नेपालगन्ज म्याराथनको उपाधी गोल्ड मेडलिष्ट किरणसिंह बोगटीले जितेका छन् । सशस्त्र प्रहरी बल (एपिएफ)का बोगटी १३ औं सागका गोल्ड मेडलिष्ट हुन् । यस्तै हाफ म्याराथनको उपाधी गोल्ड मेडलिष्ट सन्तोषी श्रेष्ठले जितेकी छन् । उनी पनि साग गोल्ड मेडलिष्ट हुन् ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) का विजेता(गोल्ड मेडलिष्ट) द्वय बोगटी र श्रेष्ठले सातौं धारा नेपालगन्ज म्याराथन र हाफ म्याराथनको उपाधी जितेका हुन् ।

नेपालगन्ज म्याराथन विजेता बोगटीले निर्धारित दुरी ४२.१९५ किलोमिटर २ घण्टा २९ मिनेट ४१ सेकेण्डमा पुरा गर्दै उपाधी हात पार्न सफल भए । गत वर्षको म्याराथन एपिएफकै गोपीचन्द्र पार्कीले जितेका थिए । उनले २ घण्टा १८ मिनेट ५९ सेकेण्डमा उक्त दुरी पुरा गरेका थिए । बोगटीले गत वर्षका म्याराथन विजेता पार्कीले तय गरेको समय अवधि भन्दा ११ मिनेट ३२ सेकेण्ड बढि समय लगाएर उपाधी जित्न सफल भए ।

Kids Festival 2022
kanti aarogya hospital

बोगटीले नेपाली सेनाका नरेन्द्र रावललाई पछि पार्दै उपाधी जितेका हुन् । दोस्रो भएका सेनाका रावलले २ घण्टा ३३ मिनेट २८ सेकेण्डमा निर्धारित दुरी पुरा गर्न सफल भए । उनी नेपाली सेनाका त्रिभुवन आर्मी क्लबका हुन् ।
एपिएफका सन्तोष विक्रम विष्टले २ घण्टा ३३ मिनेट ३४ सकेण्डमा पुरा गर्दै तेस्रो बने । आर्मीका खडक बहादुर खड्काले २ घण्टा ३३ मिनेट ४५ सकेण्डमा पूरा गर्दै चौथो बनेका थिए । आर्मीका देवराज महतरा पाँचौं, पाँचथरका प्रताप धमसङ र प्यूठानका हिमु गिरी सातौं बनेका थिए ।

यस्तै हाफ म्याराथनको उपाधी धादिङकी सन्तोषी श्रेष्ठले जितेकी छन् । सागकी स्वर्णपदक विजेता श्रेष्ठले साविक हाफ म्याराथन विजेता एपिएफकी पुष्पा भण्डारीलाई पछि पार्दै उपाधि जित्न सफल भएकी हुन् । सागकी गोल्ड मेडलिष्ट श्रेष्ठले हाफ म्याराथन २१ किलोमिटरको दुरी एक घण्टा १८ मिनेट ४८ सेकेण्डमा पुरा गरेकी हुन् । एपीएफकी भण्डारीले एक घण्टा १९ मिनेट १८ सेकेण्डमा दौड पुरा गरेकी हुन् ।

तेस्रो भएकी सुर्खेतकी विन्दु हमालले एक घण्टा ३६ मिनेट ३९ सकेण्डमा पूरा गरेकी थिइन् । कञ्चनपुरकी सरस्वती बोहरा चौथो, साधना शाही पाँचौं, बर्दियाकी कल्पना थारु छैटौं र सुखर्तेकी चन्द्रमाया राउत सातौं स्थानमा रहिन् ।

म्याराथनतर्फ विजेताले एक लाख, उपविजेतालाई ५० हजार, तृतीयलाई २५ हजार, चौथोलाई १५ हजार, पाँचौंलाई १० हजार, छैटौंलाई ८ हजार र सातौंलाई ७ हजार प्रदान गरिएको छ । त्यसैगरी हाफ म्याराथन (महिला) तर्फ विजेताले ५१ हजार, उपविजेताले २५ हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार, पाँचौंले ८ हजार, छैटौंले ७ हजार र सातौंले ६ हजार प्रदान गरिएकोछ ।

शनिबार विहान भएको म्याराथनको युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज ‘अथक’ले उद्घाटन गरेका थिए । लगत्तै मन्त्री गहतराज महानायक राजेश हमालसंगै वाकाथनमा सहभागी भएका थिए । नेपाली सेनाका पश्चिम कमाण्ड सेनापति उपरथी प्रेम शाही, नम्बर ४ बाहिनीपति सहायक रथी हरेन्द्र पाठक, कृतिमानी धावक बैकुण्ठ मानन्धरसहित १९ जनाले २१ किलोमिटर दौडेका थिए । फुल म्याराथनमा ५० जना खेलाडी, हाफ म्याराथनमा १२ जना र सबै बिधामा मिलाएर कुल २ हजार खेलाडीले म्याराथन दौडमा भाग लिएको आयोजकले जनाएको छ ।

यसैबीच समाजका पाँच जना विशिष्ट ब्यक्तिहरुलाई धारा नेपालगन्ज म्याराथनको संरक्षक बनाईएकोछ । म्याराथनको पूर्वसन्ध्यामा(शुक्रबार) रघुराज वन्त, केशवबहादुर आले, सञ्जय सिंह, शशी स्वाँर र सन्तोष खड्कालाई म्याराथनको संरक्षक बनाइएको हो । महानायक राजेश हमाल र कृतिमानी धावक बैकुण्ठ मानन्धरले नेपालगन्ज म्याराथनको संरक्षक भएका पाँचै जनालाई प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।