आजबाट खुल्यो अष्ट्रेलियाको सीमा, सबैजना जान पाउने


आजबाट खुल्यो अष्ट्रेलियाको सीमा, सबैजना जान पाउने

सिड्नी(अष्ट्रेलिया) २९ मंसिर : अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा बुधबारदेखि खुला भएको छ । यो सँगै कोरोना भाइरसविरूद्धको मान्यताप्राप्त खोपको दुबै मात्रा लगाएका अन्तर्राष्ट्रिय विद्यार्थी र भिसाबाहकले अष्ट्रेलिया प्रवेश पाउने भएका छन् ।

सरकारको पछिल्लो निर्णयसँगै भिसा लागेर अष्ट्रेलिया जान नपाएका विद्यार्थी, अभिभावक र अन्य नागरिकहरू निश्चित मापदण्ड पुरा गरेर जान पाउने भएका छन् । कोभिड–१९ महामारीपछि सन् २०१९ को मार्चबाट बन्द भएको अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा प्रतिबन्ध क्रमशः खुकुलो गर्दै लगेको हो ।

अष्ट्रेलिया प्रधानमन्त्री मोरिसनका अनुसार क्रमशः अन्य प्रतिबन्धात्मक व्यवस्थालाई खुकुलो पार्दै जनजीवन सहज हुँदै जाने बताएका छन् । सरकारले अष्ट्रेलिया भित्रले नागरिकलाई अनिवार्य क्वारेन्टिनको व्यवस्थालाई केही खुकुलो बनाएको छ । तर, तोकिएका खोपहरू पूर्णमात्रामा लगाएको हुनुपर्नेछ ।

यद्यपि राज्य अनुसार क्वारेन्टिनको नियम भने फरक हुन सक्नेछ । अष्ट्रेलियालाई पुरानै अवस्थामा फर्काउन र राज्यको अर्थतन्त्रलगायत विकासका लागि पनि विद्यार्थीको सहभागिता जरूरि भएकोले राज्य उनीहरूलाई स्वागत गर्न तयार रहेको प्रधानमन्त्री मोरिसनले बताएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

करिब पाँच हजार नेपाली विद्यार्थी अष्ट्रेलियाका विभिन्न विश्वविद्यालय तथा कलेजमा भर्ना भएर नेपालबाटै अनलाइन पढाइ गर्दै डलरमा शुल्क तिरीरहेका छन् । त्यसबाहेक आउन चाहनेको घुइँचो र चासो हेर्ने हो भने त्यो आधा लाख हाराहारी पुग्नसक्छ । अष्ट्रेलियाले फाइजर, जोन्सन एन्ड जोन्सन, अस्ट्राजेनेका, मोर्डेनासँगै भारतीय तथा चिनियाँ खोपलाई मान्यता दिएको छ ।

यसैबीच कोभिडका कारण लामो समयदेखि सिमा बन्द हुँदा भिसा अवधि सकिएर अष्ट्रेलियामै फसेका वा बाहिर मुलुकमा रहेका ४८५ (टेम्पोरेरी ग्राजुयट) भिसावाहकलाई सरकारले पुनः भिसा आवेदन गर्न पाउने व्यवस्था मिलाएको छ । अन्तर्राष्ट्रिय सीमा बन्द हुँदा विदेशमा फसेका ४८५ अस्थायी भिसा वाहक (टीआर)को अधिकार कतौटी भएको महशुस गर्दै सरकारले यो कदम चालेको हो ।

४८५ अर्थात टेम्पोरेरी ग्राजुयट भिसा भर्खरै स्नातक सकाएका अन्तर्राष्ट्रिय विद्यार्थीलाई अस्ट्रेलियामा काम जारी राख्न प्रदान गरिने भिसा हो। जसबाट उनीहरूलाई पढाइपछि अर्थोपार्जन र विषयगत दक्षतामा काम गर्ने अवसर पाउँछन् ।

२१ महिना अन्तर्राष्ट्रिय सिमा बन्द हुँदा विभिन्न मुलुकमा फसेका भिसाधारीले आफूले पाएको कामको अधिकार गुमाउने भएकोले सरकारले उनीहरूका लागि मौका दिएको हो । हाल अस्ट्रेलियामा अध्यनरत करिब तीस हजार अन्तर्राष्ट्रिय विद्यार्थीको टीआर भिसाको समयावधि सकिन लागेको छ ।

स्नातक तहको पढाई सकिएपछि प्राप्त हुने यो अवसर गुमाएका हजारौं अन्तर्राष्ट्रिय विद्यार्थी देश बाहिर रहेकोले अस्ट्रेलिया आउन नपाएका वा फसेकाले यो अवसरका लागि पुनः आवेदन दिन पाउने भएका हुन् । संघीय सरकारले बिहीबार गरेको निर्णय अनुरूप वर्तमान भिसावाहक वा सन् २०२० को फेब्रुअरी १ तारिख वा त्यसपछि भिसा समाप्त भएका मानिसलाई भिसा पुनः प्राप्त गर्न आवेदन दिन अनुरोध गरिएको छ । -सेतोपाटीबाट