सन्दीप लामिछाने क्यानको कप्तानमा नियुक्त


सन्दीप लामिछाने क्यानको कप्तानमा नियुक्त

नेपालगन्ज २९ मंसिर : नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट संघ कप्तान ज्ञानेन्द्र मल्ललाई पदमुक्त गरेको छ । कप्तानबाट मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरिलाई पदमुक्त गर्ने निर्णय गरिएको क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्ले जनाएका छन् ।

अनुशासन उल्लंघन गरेको सम्बन्धमा गठन भएको छानबिन समितिको सिफारिसका आधारमा मल्ल, ऐरि, सोमपाल कामी र कमल सिंह ऐरिलाई २०२२ को सेन्ट्रल कन्ट्रयाक्टमा शुरुको ६ महिनाका लागि सहभागि नगराउने निर्णय पनि भएको छ ।

त्यसैगरी नेपाली क्रिकेट टिमको नयाँ कप्तानको रुपमा सन्दीप लामिछानेलाई चयन गरिएको छ । सन्दिप नेपालकै सबैभन्दा कान्छो क्रिकेट कप्तान बनेका छन् । यसअघि पारस खड्का २२ वर्षको उमेरका कप्तान बनेका थिए । सन्दिप २१ वर्ष मात्र पुगेका छन् । आफूभन्दा पाका धेरै खेलाडी रहेको राष्ट्रिय टिमलाई उनले नेतृत्व गर्नुपर्ने छ ।

सन्दिप अन्तर्राष्ट्रिय स्तरमा सबैभन्दा बढी ख्याति कमाएका नेपाली क्रिकेटर हुन् । विभिन्न देशहरुमा हुने फ्रेन्चाइज टि–२० क्रिकेटमार्फत उनले आफूलाई विश्वस्तरीय क्रिकेटरको रुपमा चिनाएका छन् । १७ वर्षको उमेरमा विश्वकै सर्वाधिक चर्चित टि–२० प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपीएलमा) मा पहिलोपटक स्थान बनाएपछि उनको चर्चा चुलिएको थियो । त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेको छैन ।

Kids Festival 2022
kanti aarogya hospital

सन्दिपले अहिलेसम्म सबैजसो देशका क्रिकेट लिगहरुमा खेल्न भ्याइसकेका छन् । नेपालमा क्रिकेट कप्तान नियुक्त हुँदै गर्दा उनी अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) खेल्न व्यस्त छन् । पछिल्लो समय नेपाली राष्ट्रिय टिमबाट पनि उनको प्रदर्शन उच्चकोटिको छ । यसै वर्ष आइसीसी विश्व लिग २ अन्तरगत नेपालले अमेरिका र ओमानविरुद्ध खेलेको त्रिकोणात्मक सिरिजमा उनले सर्वाधिक विकेट लिएका थिए ।

टि–२० फ्रेन्चाइजमा कप्तानी गरेको अनुभव सन्दिपसँग छ । उनले हालै एभरेस्ट प्रिमियर लिगमा काठमाडौं किङ्स ११ को कप्तानी गरेका थिए । यद्यपि राष्ट्रिय टिमलाई नेतृत्व गर्ने कुरा भने उनका निम्ति कम्ति चुनौतिपूर्ण छैन । राष्ट्रिय टिममा अहिले धेरै खेलाडीहरु उनीभन्दा सिनियर छन् । त्यसो त पारस खड्काले पनि आफूभन्दा सिनियर खेलाडीको सफल नेतृत्व गर्दै कप्तानीमा आफूलाई स्थापित गरेका थिए । सम्भवतः त्यही दृष्टान्तका कारण पनि क्यानले सन्दिपमाथि भरोसा गरेको छ ।

सन्दिप नेपालले अहिलेसम्म पाएका सर्वोत्कृष्ट बलर हुन् । उनको स्पिन बलिङ विश्वस्तरीय छ । पछिल्लो समय ब्याटिङमा पनि सम्भावना देखाउन थालेका छन् । क्रिकेट कप्तान आफैंमा कठिन जिम्मेवारी हो । टिमका सबै खेलाडीहरुसँग समन्वय राख्ने, ठीक समयमा ठिक निर्णय लिने र मैदानबाहिर पनि सन्तुलितरुपमा प्रस्तुत हुन सक्ने खुबी चाहिन्छ । सन्दिप क्रिकेटिङ माइन्ड भएका खेलाडी हुन् । उनले टिमलाई नेतृत्व दिन सक्नेमा शंका छैन । यद्यपि, कतिपय सन्दर्भमा उनको अपरिपक्वताको चर्चा हुने गर्छ । केही समयअघि तत्कालीन कप्तान पारस खड्कालाई ट्विटरमा अनफलो गरेको विषयमा उनी आलोचित बनेको थियो ।

संघले गठन गरेको छानबिन समितिले उनीहरुले आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो । क्यानले गर्ने खेलाडीहरूको ग्रेडको विषयमा चार जनाले मिडियामा बोल्दै असन्तुष्टी जनाएका थिए । सोही विषयमा क्यानले उनीहरुलाई स्पष्टीकरण नै सोधेको थियो ।