नेपालगन्ज ७ पुषः कोरोना भाइरस संक्रमणको पहिलो र दोस्रो कहरमा बढि संक्रमित भेटिएको बाँकेमा बुधबार संक्रमण शून्य पाइएकोछ । यसअघि मङ्गलबार गरिएको परीक्षणमा समेत बाँकेका कुनै पनि ब्यक्तिमा कोरोना संक्रमण पाइएन ।
जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा कुनै पनि ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएन ।
जिल्लाका तीनवटा प्रयोगशालामा कुल ४९ जनाको नमुना परीक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ आएको हो । योसंगै बाँकेमा सञ्चालित ३ वटा प्रयोगशालामा पहिलोपटक कोरोना संक्रमण शून्य पाइएको छ ।
केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा भेरी अस्पतालको प्रयोगशालामा १२, नेपालगन्ज मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा ३१ र बागेश्वरी ल्याबमा ६ जनाको नमुना जाँच गरिएको थियो । सबै जनाको रिर्पोट नेगेटिभ आएको हो ।
यसअघि हिजो (मंगलबार) गरिएको कुल ५९ जनाको परीक्षणमा ४ जनाको मात्र रिर्पोट पोजेटिभ आएको थियो । अर्थात ५९ जनामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको केन्द्रले जनाएको हो ।
केन्द्रका फोकल पर्शन तेज ओलीका अनुसार भेरी अस्पतालको प्रयोगशालामा १६ जनाको परीक्षण गर्दा ३ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा परीक्षण गर्दा एक जनालाई कोरोना पुष्टि भएको थियो । भने बागेश्वरी ल्याबमा परीक्षण गरिएको ११ जनाको रिर्पोट नेगेटिभ आएको थियो । यी चारैजना बाँके जिल्ला बाहिरका संक्रमित हुन् ।
हालसम्म कोरोना संक्रमणका कारण बाँकेका मात्रै ३४५ जना र बाँके बाहिरका ४३६ गरि ७८१ जनाको मृत्यु भइसकेकोछ । हालसम्म पीसिआर विधीबाट कुल ८३६९४ जनाको परीक्षण गरिएको छ भने कुल १८४९० जना पोजेटिभ पाइएकाछन् ।
लगातार दुई दिन बाँकेका कुनै पनि ब्यक्तिमा कोरोना संक्रमण नपाइएपनि पछिल्लो पटक कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन नेपालका एक ब्यक्तिमा देखिएपछि कोरोना र कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेर आएकोछ ।
सर्वसाधरणहरुले स्वास्थ्य सम्बन्धिको मापदण्ड पूर्णरुपमा पालना गर्न छाडेकोले यसले थप जोखिम ल्याउने भन्दै स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूर्णरुपमा पालना गर्न स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले आग्रह गर्दै आएकाछन् ।
उनका अनुसार भारतबाट नेपालगन्ज स्थिती सीमानाका जमुनाह भएर आएका तीन जनामा कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनको आशंका गरिएकोछ । उनीहरुमा कोरोना भाइरस संक्रामणको नयाँ भेरियन्ट ओमिक्रोन भए नभएको पुष्टि गर्न स्वाब काठमाण्डौं पठाइसकेको बताए ।
थप समाचार