शिक्षामा आर्कषण बढाउन राप्तीसोनारीका छात्रालाई निःशुल्क साईकल


शिक्षामा आर्कषण बढाउन राप्तीसोनारीका छात्रालाई निःशुल्क साईकल

छात्रालाई साइकल हस्तान्तरण गर्दै राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु ।

बाँके (राप्तीसोनारी) १२ पुष : शिक्षामा ठूलो लगानी गरिरहेको बाँकेको राप्ती सोनारी गाउँपालिकाले आईतबार छात्राहरुलाई साईकल वितरण गरेको छ । छात्रालाई उच्च शिक्षामा आर्कषण बढाउन भन्दै राप्तीसोनारी गाउँपालिकाले निःशुल्क रुपमा साइकल वितरण गरेको हो ।

गाउँपालिकाले कक्षा ११ र १२ मा अध्ययन गर्ने छात्रालाई लक्षित गर्दै उक्त साईकल निःशुल्क वितरण गरेको छ । गाउँपालिका कार्यालय परिसरमा आईतबार आयोजित एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष लाहुराम थारुले छात्रालाई साइकल हस्तान्तरण गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थारुले छात्राको शैक्षिक अवस्था सुधार्न साइकलले मद्दत पुर्याउने बताए । ‘शिक्षालाई गाउँपालिकाले प्राथमिकता दिदैँ गर्दा साइकलको पनि हामीले महसुस् गरिम, बिद्यालयका कक्षामा शुरुमा छात्राको संख्या धेरै हुन्छ, जब कक्षा बढ्दै जान्छ, तब छात्राको संख्या घट्दै जान्छ,’ उनले भने– ‘शिक्षामा अझै राम्रो सहज होस्, भन्नका लागि राप्ती सोनारी गाउँपालिकाले साइकल वितरण कार्यक्रम राखेको हो ।’

गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८/०७९ को बजेटबाट छात्रालाई साइकल वितरण कार्यक्रम सञ्चालन गरेको उनले बताए । ‘सुरुमा ७ सय ५० साइकल खरिद गर्ने योजना हामीले बनायौं, हामीले यो कार्यक्रम सञ्चालन गर्न थालेपछि संख्या बढेर झण्डै १२ सय पुग्दैछ,’ अध्यक्ष थारुले भने ।

Kids Festival 2022
kanti aarogya hospital

यस वर्ष भौतिक संरचना बाहेक विद्यालयका शिक्षक र कर्मचारीहरुको पारिश्रमिकमा मात्र करिव ६ करोड लगानी गरेको गाउँपालिका अध्यक्ष थारुले जानकारी दिए । साइकल पाउने भएपछि ड्रपआउट भएका छात्रा पुनः बिद्यालयमा फर्किने र टाढाबाट बिद्यालय आवतजावत गर्ने अपेक्षा लिइएको उनले बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीका अनुसार पहिलो चरणमा ७ सय ५० वटा साइकल वितरण गर्न करिब ६० लाख बजेट छुट्याइएको छ । ‘पहिलो चरणमा ७ सय ५० वटा साइकल वितरण गर्ने लक्ष्य छ, दोस्रो चरणसम्म १२ सय जति साइकल वितरण गरिनेछ,’ शाहीले बताए ।

गाउँपालिकाले आईतबार पहिलो दिन मात्र नेरा माध्यामिक बिद्यालय अगैया र सरस्वती माध्यामिक बिद्यालय भवानीयापुरमा अध्ययनरत १ सय ९० जना छात्रालाई साइकल हस्तान्तरण गरिसकेको जनाएको छ ।

छात्रालाई बिद्यालय शिक्षामा टिकाइ राख्न साइकल वितरण कार्यक्रम प्रभावकारी हुने सम्बद्ध सरोकारवालाले बताएका छन् । ‘बिद्यालय उमेरबाट नै छात्राले स्कुल छाड्ने गरेकाले गाउँपालिकाले ल्याएको यस्ता कार्यक्रम एकदमै उत्कृष्ट छन्,’ नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय अगैयाका शिक्षक विकास शर्माले भने ‘भौगोलिक हिसाबले धेरै टाढाबाट आउने छात्रालाई यसबाट धेरै राहत हुन्छ, भने साइकल पाउने आशाले पनि पढाईमा छात्राको आर्कषण बढ्छ ।’

आफ्नो बिद्यालयका ३२ जना छात्राले गाउँपालिकाबाट साइकल प्राप्त गरेको शिक्षक शर्माले सुनाए । सरस्वती माध्यामिक बिद्यालय भवानीपुरका छात्रा सुस्मिता चौधरीले साइकल पाएपछि अब बिद्यालय आउन–जान धेरै सहज हुने प्रतिक्रिया दिइन् । ‘गाउँपालिकाबाट साइकल पाउँदा एकदमै खुसी लागेको छ, बिद्यालय जानका लागि अब हामीलाई धेरै सजिलो हुने भयो,’ उनले खुशी ब्यक्त गरिन् ।

शिक्षक दरबन्दी नरहेका विद्यालयमा राप्ती सोनारी गाउँपलिाकाले आफ्नै आन्तरिक स्रोतबाट पारिश्रमिक दिने गरि शिक्षक नियुक्त गरेर शैक्षिक सुधारमा ठूलो भूमिका खेलेको छ । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत शाही, राप्ती सोनारी गाउँपालिका वडा नम्बर– ३ का वडाअध्यक्ष गंगाराम थारु लगायतले साइकल वितरण कार्यक्रम प्रभावकारी हुने बताए ।