बैजापुरको कोल्टेपानीमा पात टिप्न गएकी दुर्गालाई बाघले झम्ट्यो


बैजापुरको कोल्टेपानीमा पात टिप्न गएकी दुर्गालाई बाघले झम्ट्यो

बाघ आक्रमणबाट बाँचेकी दुर्गा थारु राप्तीसोनारी अस्पतालमा प्राथमिक उपचार गर्दै । तस्विर:सेतोखरी

बैजापुर(बाँके) २१ पुष : बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४, बैजापुरको नयाँबस्तीकी दुर्गा थारुलाई पाटे बाघले झम्टेकोछ । स्थानीय गौरी सामुदायिक वनको कोल्टेपानी भन्ने स्थानमा उनलाई बयस्क पाटे बाघले झम्टिएको थियो । बुधबार दिउँसो १२ बजे अन्य साथीहरुको समुहमा पात टिप्न भन्दै कोल्टेपानी सामुदायिक जङ्गल गएकी बैजापुर नयाँबस्तीका ३० वर्षिया थारुलाई बाघले एक्कासी झम्टेको हो ।

पाटे बाघले झम्टेपछि प्रतिकार गर्दै पात टिप्न घरेलु हतियार ‘खुर्पा’ले बाघको अनुहारमा प्रहार गर्दै थारु बाघ आक्रमणबाट बाँच्न सफल भइन । उनको दुवै हातमा बाघले कोतारेकोछ ।

‘गाउँमा हुन लागेको बिवाहको लागि गाउँभरीका महिलाहरु जंगलमा पात टिप्न गएका थियौ, पात टिपिरहेको अवस्थामा अचानक बाघले आक्रमण गर्यो,’ उनले भनिन्– ‘चार वटै पन्जा मेरो शरीरमा पारेर मुखले आक्रमण गर्न खोज्दा मेरो हातमा भएको खुर्पा (हतियार)ले हिर्काउदै बेस्सरी कराए अनि बाच्न सफल भए ।’

बाघबाट बाँचेर आफुले नयाँ जीवन पाएको थारुले बताइन् । बाघको पञ्जाले उनको शरिरका विभिन्न भागमा घाउ बनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

शरीरका अन्य भागमा समेत घाउचोट लागेका थारुको बैजापुर स्थित राप्तीसोनारी अस्पतालमा प्राथमिक उपचार गरिएकोछ । राप्तीसोनारी अस्पतालका चिकित्सक डाक्टर राम शाहका अनुसार बाघ आक्रमणबाट घाईते भएकी थारुको स्वास्थ्य अवस्था सामान्य रहेकोछ । भने उनको थप उपचारका लागि नेपालगन्ज पठाइएकोछ । राप्तीसोनारी अस्पतालका चिकित्सक डाक्टर शाहका अनुसार रेविज लगायतका अन्य जोखिमको निदान गर्न नेपालगन्ज रिफर गरिएको हो ।

यसअघि पनि पुष ३ गते जनसिद्धेश्वर बहुमुखी क्याम्पस फत्तेपुरका प्रमुख लोकमणी बटाला बाघको आक्रमणबाट बच्न सफल भएका थिए । क्याम्पसबाट शनिबार बिहान साढे ६ बजे राप्तिसोनारी गाउँपालिका वडा नम्बर –५ गोरधुईतर्फ मोटरसाईकलमा जाँदै गर्दा आलीनगरमा पर्ने थारुमरैला खोलामा बाघले झम्टिन खोज्दा क्याम्पस प्रमुख बटाला भाग्न सफल भएका हुन् ।

आलीनगर पुग्नैलाग्दा सडक बनाउने कम्पनीको छाप्रो रहेको स्थानमा हल्का ओरालोबाटोमा पछाडीबाट बाघले झम्टिइको थियो ।

पछिल्लो समय बाँकेमा बाघ आक्रमणको घटनामा बृद्धि भएकोछ । बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघ आक्रमणको घटना बढ्दै गएकोहो । तर, यतिबेला बाँकेमा राष्ट्रिय निकुञ्ज बाहेक पनि राष्ट्रिय वनमा लगातार बाघ भेटिनुले बाँकेमा राष्ट्रिय निकुञ्ज सहित राष्ट्रिय वनमा बाघको आक्रमण र त्रास बढ्दै गएकोछ ।

यसअघि बाँकेको पूर्वी क्षेत्र नरैनापुरमा बाघले एक जना मान्छे र एउटा गाई खाएको थियो । कार्तिक २५ गते गाई चराउन जङ्गल गएका नरैनापुर गाउँपालिका वडा नम्बर– ४ पण्डितपुरुवाका लखन गडरिया र उनको एउटा गाईलाई बाघले खाएको थियो ।

ईलाका प्रहरी कार्यालय भोजभगवानपुरका ईन्चार्ज प्रहरी निरीक्षक वसन्त गौतमका अनुसार नरैनापुरको पर्यटकस्थल गोर्बद्धन धामदेखि ५ किलोमिटर पूर्वपट्टी जङ्गलमा बाघले आधा खाएको अवस्थामा गडरियाको शव फेला परेको थियो । राष्ट्रिय जङ्गलमा समेत बाघ देखिएपछि स्थानीय त्रसित बनेका छन् ।

बाँकेको पूर्वी गाभरमा यही वर्षको भदौ अन्तिमतिर २ वटा बाघले एकजना भारतीय नागरिकलाई खाएको थियो । उक्त घटनापछि सो क्षेत्रमा पटक–पटक बाघ देखिएपछि बाँके राष्ट्रिय निकुञ्जले मान्छे खाने बाघ नियन्त्रण गर्न दुई वटा घरपालुवा हात्तिसहितको टोली परिचालन गरेकोछ । तर, अझैसम्म उक्त बाघ निकुञ्जले नियन्त्रणमा लिन सकेको छैन ।

नरैनापुर क्षेत्रमा बाघ आक्रमणबाट मान्छे मृत्यु भएको यो सम्भवत पहिलो घटना हो । नरैनापुरमा बाघले मान्छे खाएको क्षेत्र आसपास पर्यटकस्थल गोर्बद्धन धाम, बरफानी बाबा समेत रहकोछ ।

नरैनापुरमा बाघ आक्रमणको घटना सेलाउन नपाउँदै नेपालगन्जदेखि पूर्व २०–२५ किमीको दूरीमा रहेको फत्तेपुरको आलीनगर क्षेत्रमा बाघ आक्रमणको हप्तादिनपछि पुनः बैजापुर क्षेत्रमा बाघले पात टिप्न गाएकालाई झम्टेपछि यतिबेला सो क्षेत्रमा बाघको त्रास फैलिएकोछ ।