जमुनाह नाकामा खटिएका दुई जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि


जमुनाह नाकामा खटिएका दुई जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

नेपालगन्ज २६ पुष : बाँकेको नेपालगन्ज स्थित नेपाल–भारत सीमानाका जमुनाहमा कार्यररत दुई जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएकोछ ।

जमुनाह नाकामा रहेको हेल्थ डेक्समा कार्यररत दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीएमसी) का फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

‘हेल्थ डेस्कमा कार्यरत एक जना ल्याब कर्मचारी र अर्का पारामेडिक्स (सिनियर अहेब) लाई कोरोना पुष्टि भएको हो’ सेतोखरीसंग कुरा गर्दै ओलीले भने–‘एकजनालाई हिजो र अर्कालाई आज कोरोना संक्रमण पुष्टि भएकोछ । दुबैजनाको स्वास्थ्य अवस्था सामान्य छ ।’

संक्रमित दुवै जना स्वास्थ्यकर्मीमा सामान्य रुघाखोकीका लक्षण पाइएकोछ । हेल्थ डेस्कमै खटिएका कर्मचारी कोरोना भाइरसबाट संक्रमित हुन थालेपछि अब नाकामा स्वास्थ्य जाँच गर्न स्वास्थ्यकर्मीको अभाव हुन सक्ने ओलीले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

ओलीका अनुसार जमुनाह नाकामा रहेको उक्त हेल्थ डेस्कमा कुल १५ जना स्वास्थ्यकर्मी खटिएकाछन् ।

भारतमा कोरोना भाइरसको संक्रमण तीब्ररुपमा फैलिन थालेपछि नेपालीहरु धमाधम घर फर्किरहेका छन् । यसरी भारतबाट आएका नेपालीहरुलाई नेपालगन्ज नाकामै एन्टिजेन जाँच गरेर पठाउने गरिएको छ । सोही क्रममा ती दुई स्वास्थ्यकर्मी संक्रमित भएका हुन् ।

त्यसका लागि नेपालगन्ज नाकामा रहेको जमुनाहा हेल्थ डेस्कमा कोरोना जाँच गर्नेको ठेलमठेल देखिन्छ । प्रहरीले कोरोना जाँच गरेर मात्रै जान भनेपछि भारतबाट आएकाहरू घण्टौँ लाइन लागेर एन्टिजेन जाँच गर्ने गरेका छन् ।
दैनिक करिब आठ सयसम्म एन्टिजेन जाँच हुने गरेको छ । सानो ठाउँ छ । लाइन लाग्दा लामो र भीड देखिन्छ । यसले गर्दा सीमामा खटिएका स्वास्थ्यकर्मीलाई भारतबाट आएकाहरुको स्वास्थ्य जाँचमा सकस भइरहेकोछ । यहि ठेलमठेल भीडका कारण सावधानी अपनाउदा अपनाउँदै स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भयो । 

नेपालगन्ज नाकामा कोरोना देखिएकालाई एम्बुलेन्समा राखेर नेपालगन्जस्थित बालमन्दिरको आइसोलेसनमा ल्याउने गरिएको छ । आइसोलेसनमा ल्याइएका व्यक्तिलाई सम्बन्धित पालिकाबाट गाडी मगाएर पठाउने गरिएको छ ।

थप समाचार

नेपालगन्ज नाकाबाट दिनहुँ ‘कोरोना संक्रमित’ नेपाल आउँछन्