देश परायाको खेल मैदान बन्योः राजा ज्ञानेन्द्र


देश परायाको खेल मैदान बन्योः राजा ज्ञानेन्द्र

नेपालगन्ज २६ पुष : राजा ज्ञानेन्द्र शाहले देश पराईहरुको खेल मैदान बनिसकेकोले हरेक नेपालीले खतराको अनुभूति गरिरहेको बताएका छन् ।

३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राजा ज्ञानेन्द्रले राष्ट्रियताका आधारहरुमाथि प्रहार भई देशको अस्तित्वसमेत संकटमा परेको अवस्थामा एकताको महत्व र पृथ्वीनारायण शाहका योगदान एवं दिव्य उपदेशको सान्दर्भिकता थप बढेको उल्लेख गरेका छन् ।

‘राष्ट्र निर्माताबाट परराष्ट्र मामिलाका नीति र व्यवहारको संवेदनशीलतालाई सदैव आत्मसात गरिरहनुपर्ने सन्देश तथा दिव्य उपदेशका उपेक्षाका कारण नै यतिबेला हामी असन्तुलनको परिणाम व्यहोर्दै छौं,’ सन्देशमा राजा शाहले भनेका छन् ।

राष्ट्रको कीर्ति र जनताको सुखबाहेक प्रजातन्त्रको अर्को कुनै लक्ष्य हुन नसक्ने उनले प्रस्ट पारेका छन् । ‘जनइच्छा र प्रगतिसँग सरोकार नराख्ने प्रणालीका नाम जनतन्त्र, जनवाद, लोकतन्त्र, गणतन्त्र, जनगणतन्त्र, जेसूकै चयन गरियून, यसले राष्ट्रहित र जनसेवाको चरित्र धारण गरेको छैन भने त्यो निरर्थक साबित हुनेछ,’ सन्देशमा उनले भनेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

प्रणाली केवल साधन हुने र साधन परिवर्तनलाई नै महान उपलब्धिका रुपमा वर्णन गर्ने प्रयास हुँदै आएको उनको भनाइ छ । ‘सबैभन्दा उन्नत दाबी गरिएको तन्त्रमा जनताले सास्ती र राष्ट्रले अस्तित्वप्रति नै चिन्ता गर्नुपर्ने परिस्थिति बन्दछ भने त्यस्तो तन्त्रमा अभ्यासको व्यर्थ प्रयासमा समय बर्बाद गर्न नहुने निष्कर्षमा पुग्न विलम्ब गरिनु हुँदैन,’ उनले भनेका छन् ।

उनले आफ्नो गौरवमय अस्तित्वलाई जोगाइराख्न हिमाल, पहाड र तराईका जनता सबै एक बन्न पनि आह्वान गरेका छन् । उनले भनेका छन्, ‘हाम्रो राष्ट्रियता सुदृढ राखौं अनि समग्र राष्ट्रलाई सिँगारौँ भन्ने हाम्रो आजको आकांक्षा र आवश्यकता हो ।’

थप समाचार

भोली सिंहदरबार जाँदै राजा ज्ञानेन्द्र

पृथ्वी जयन्तीमा बिदा दिन संघीय सरकार चुपचाप