कोरोना फैलिएपछि १५ गतेसम्म गाउँपालिकाको अत्यावश्यक बाहेक सबै सेवा बन्द
नेपालगन्ज ११ माघः बाँकेको राप्तीसोनारी गाउँपालिकाका कर्मचारीमा कोरोना संक्रमण फैलिएको छ ।
केहीदिन अघि पनि गाउँपालिका र वडा कार्यालयमा कार्यरत कर्मचारीलाई संक्रमण पुष्टी भएको थियो । मंगलबार पुनः परीक्षण गर्दा कर्मचारीमा समेत संक्रमण फैलिएको पाइएकोछ ।
गाउँपालिका र महालेखा परीक्षकको कार्यालयमा कार्यरत गरि २४ जना कर्मचारीको कोभिड ‘एन्टिजिन’ परीक्षण गर्दा मंगलबार १२ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ । कर्मचारीलाई कोरोना संक्रमण भएपछि बाँकेको राप्तीसोनारी गाउँपालिकाले अत्यावश्यक बाहेक अन्य सबै सेवा बन्द गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले कार्यालयका सम्पूर्ण कर्मचारीको एन्टिजिन परीक्षण गर्दा प्रायः कर्मचारीहरु संक्रमित देखिएको हुँदा कार्यालय बन्द गर्नु परेको बताए ।
प्रमुख प्रशासकीय अधिकृत शाहीका अनुसार माघ १२ गतेदेखी १५ गतेसम्म अत्यावश्यक सेवा बाहेक गाउँपालिकाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु बन्द गरिएको छ ।
कार्यालयको लेखा, योजना, प्राविधिक, महिला बालबालिका तथा जेष्ठ नागरिक लगायत विभिन्न शाखामा कार्यरत कर्मचारी तथा महालेखा परीक्षकको कार्यालयबाट खटिएर आएका कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य शाखाका सुरेश शर्माले जानकारी दिएका छन् ।
गाउँपालिकामा केहीदिन देखी महालेखा परीक्षकको कार्यालयबाट कर्मचारी खटिएर लेखा परीक्षण(अडिट) गरिरहेका थिए । मलेपका कर्मचारी नै संक्रमित भएपछि लेखा परीक्षण कार्य समेत स्थगित भएको गाउँपालिकाले जनाएको छ ।
थप समाचार
नरैनापुर गाउँपालिकाका कर्मचारीमा कोरोना फैलियो, ५ दिनका लागि गाउँपालिका बन्द