मैत्रीपूर्ण खेलमा नेपाल विजयी


मैत्रीपूर्ण खेलमा नेपाल विजयी

नेपालगन्ज १५ माघ : त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शनिबार सम्पन्न मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ । अफ्रिकी राष्ट्र मरिससविरूद्धको पहिलो खेलमा नेपालले १–० गोलअन्तरको संघर्षपूर्ण जित हात पारेको हो । नेपालका लागि एक मात्रै गोल विमल घर्तीमगरले गरेका हुन् ।

विजयी गोल गरेका विमलले ‘म्यान अफ दि म्याच’ अवार्ड पाएका छन् । प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले मरिससविरुद्धको खेलमा अञ्जन विष्ट, विमल घर्तीमगर, सुनिल बल, तेज तामाङ, सुमन लामा, सुरज ज्यू ठकुरी, सुमन लामा, देबेन्द्र तामाङ, दिनेश राजबंशी र किरणकुमार लिम्बु जस्ता पहिलो रोजाइका खेलाडीहरुलाई मैदान उतारेका थिए ।

तर, अल्मुताइरीले अनुभवी टोलीलाई मैदान उतारे पनि खेलको पहिलो हाफमा आपसी तालमेल नमिल्दा खेलाडीहरु मैदानको बीच भागमै अलमलिन पुगेका थिए भने केही अवसरलाई मरिससका डिफेन्डरहरुले विफल बनाए ।
खेलको तेस्रो मिनेटमै सुनिलले अग्रता लिने मौका गुमाए । सुनिलले करिब २० करिब २० यार्डबाट गरेको प्रहार डिफ्लेक्ट हुँदै बाहिरिएको थियो ।

यस्तै, १३ औं मिनेटमा सुमनको प्रहार आकासियो । उनले डिबक्स बाहिरबाट गरेको लामो प्रहारले गोल पोस्टको दिशा लिन सकेन । १६ औं मिनेटमा मरिससका एड्रिएन फ्रान्कोइसको प्रहार गोल पोस्ट नजिक पुग्न पाएन । उनले गरेको प्रहार नेपाली डिफेन्डर देवेन्द्र तामाङलाई लाग्दै डिफ्लेक्ट हुन पुग्यो ।

Kids Festival 2022
kanti aarogya hospital

३१ औं मिनेटमा सुमनको अर्को सशक्त प्रहारले दिशा लिन सकेन । करिब ३० यार्डबाट गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो । ३६ औं मिनेटमा फ्रान्कोइसको ‘वान भर्सेज वान’को मौकालाई गोलरक्षक किरणले विफल पारिदिए । पहिलो हाफको अतिरिक्त समयमा अन्जनले अर्को मौका खेर फ्याँके । ‘वान भर्सेज वान’को स्थितिमा सिक्स यार्डभित्रबाट गरेको प्रहारले दिशा लिन सकेन ।

तर, नेपालले दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन ग¥यो । प्रशिक्षक अल्मुताइरीले दोस्रो हाफमा जगजित श्रेष्ठ, मनिष डाँगी, सुदीप गुरुङलगायतका खेलाडीलाई मैदान प्रवेश गराएर आक्रमक खेल खेल्ने प्रयास गरेका थिए ।
त्यसअघि ४७ औं मिनेटमा मरिससका फर्नाडो ज्याकसनले गोलको अवसर गुमाएका थिए । उनको प्रहारलाई गोलरक्षक किरणले ड्राइभ गर्दै सहजै बचाए ।

पहिलो हाफमा बल नियन्त्रणमा लिएर खेल्न नसकेका विमलले राष्ट्रिय टोलीका लागि कमब्याक गोल गरे । उनले खेलको ५५औं मिनेटमा मरिससका ३ डिफेन्डरलाई छक्याउँदै गोल गरे । डिबक्सभित्रबाट गरेको प्रहारलाई मरिससका गोलरक्षक केभिन जेनले ड्राइभ गर्दै बचाए पनि पोलमा ठोक्किएर गोलमा परिणत भएको थियो ।

७५ औं मिनेटमा जगजित श्रेष्ठले अग्रता दोब्बर बनाउने मौका गुमाए । कर्नर साइडबाट गरेको प्रहारलाई मिडल पोस्टमा रहेका मरिससका गोलरक्षक जेनलले उचाइको फाइदा लिँदै पञ्च गर्दिए । जगजित ६३औं मिनेटमा सुनिल बलको स्थानमा मैदान छिरेका थिए ।

लगत्तै नेपालले दुई उत्कृष्ट मुभ बनाए पनि अन्जन र जगजित गोल गर्नबाट चुके । अन्जनले डिबक्सभित्रबाट गरेको प्रहारलाई गोलरक्षक जेनलले नियन्त्रण लिन सकेनन्। उक्त बललाई जगजितले नियन्त्रणमा लिँदै हेडरमार्फत् दोस्रो प्रयास गरे पनि गोलरक्षक जोनलले पञ्च गर्दै बचाए ।

त्यसपछि दुवै टोलीबाट केही प्रयास भए पनि गोल हुन नसक्दा नेपालले १–० को जित हात पारेको हो । नेपालले अब मरिससविरुद्ध दोस्रो खेल मंगलबार खेल्नेछ । यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बेलुका ४ः४५ बजेबाट सुरु हुनेछ ।