बाँकेमा खोप नलगाएका थप एकजनाको मृत्यु, थपिए ८९ संक्रमित


बाँकेमा खोप नलगाएका थप एकजनाको मृत्यु, थपिए ८९ संक्रमित

सांकेतिक तस्विर

नेपालगन्ज १७ माघ : बाँकेको भेरी अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएकोछ ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर ओलीका अनुसार कोरोना भाइरसविरुद्धको खोप नलगाएका ती बृद्धको मृत्यु भएको हो ।

माघ १५ गते भेरी अस्पतालमा पीसीआर गरिएका उनलाई १६ गते भर्ना गरिएको थियो । रुकुम पश्चिम आठबीस नगरपालिका वडा नम्बर–६ का ६५ वर्षीय पुरुषको सोमबार बिहान ३ बजे मृत्यु भएको हो ।

मृतकले कोरोनाविरुद्धको कुनैपनि खोप लगाएका थिएनन् । पछिल्लो समयमा कोरोनाबाट मृत्यु भएका धेरैजसोले कोरोनाविरुद्धको खोप नलगाएको पाइएको छ । योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आएका ४ सय ४१ जनाको ज्यान गएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

यसैबीच, बाँकेमा आज थप ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा ७७ र एन्टिजेन परीक्षणमा १२ गरी थप ८९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

जिल्लाका तीनवटा पीसीआर ल्यावमा १४४ जनाको नमुना जाँच्दा ७७ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालाबाट ५५, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट १६ र बागेश्वरी ल्यावबाट ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै बाँकेको जमुनाह नाका स्थित हेल्थ डेस्कमा २४९ जनाको एन्टिजेन जाँच गर्दा थप १२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका मध्ये बाँकेका २४ जना छन् ।

योसँगै जिल्लामा कुल संक्रमितको संख्या १९ हजार ६ सय ६८ पुगेको छ । यस्तै सोमबार नै थप ५२ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार ७६८ पुगेको छ ।

हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ८५६ रहेको छ । एक जना सिकिस्त विरामी छन् । एकजनाको भेन्टिलेटरमा उपचार चल्दै गर्दा ३३ जना मध्यम खाले विरामी छन् । जसमध्ये २५ जनाले कोरोना विरुद्धको कुनैपनि खोप लगाएका छैनन् ।

थप समाचार

खोप नलगाएकामा संक्रमण : अस्पताल भर्ना र स्वास्थ्य जटिलता बढ्यो