डा. कृष्ण आचार्य : जसले खजुरा क्यान्सर अस्पताललाई चम्काइदिए

मासिक एक लाख आम्दानी हुने क्यान्सर अस्पतालको आम्दानी अहिले दैनिक एक लाख पुगेको छ


डा. कृष्ण आचार्य : जसले खजुरा क्यान्सर अस्पताललाई चम्काइदिए

नेपालगन्ज २१ माघ : बाँकेको खजुरामा क्यान्सर अस्पताल स्थापनाका लागि स्थानीय वासिन्दाहरुले वि.सं. २०५६ सालमा महायज्ञ लगाएर करिब ५ करोड संकलन गरे । अस्पतालका लागि ४ बिघा जग्गाको बन्दोबस्त गरे । क्यान्सर अस्पताल सञ्चालन गर्नु त्यति सहज थिएन । उनीहरुले नेपाल सरकारलाई गुहारे ।

१० वर्षको निरन्तर प्रयासपछि वि.सं. २०६६ सालमा नेपाल सरकारले क्यान्सर अस्पताललाई ५ करोड अनुदान दियो । सरकारले वर्षेनी अनुदान दिदैं गएपछि भवन निर्माण भयो । चितवनको भरतपुरस्थित विपी कोइराला क्यान्सर अस्पतालको स्याटेलाइट सेवामार्फत वि.सं. २०७० असार २९ गतेदेखि खजुरामा क्यान्सरका बिरामीहरुको उपचार सेवा सुरु ग¥यो ।

अस्पतालमा अप्रेशन थ्रियटर, प्रयोगशाला, रेडियोलोजी विभाग, किमो थेरापी सेन्टरलगायतका संरचनाहरु निर्माण हुँदै गए । उपचार सेवा सुरु भएको ७ वर्षसम्म पनि क्यान्सर अस्पतालले गति लिन सकेन ।

दैनिक २०/२५ जना बिरामीको चेकजाँच गर्ने, शंकास्पद बिरामीलाई थप उपचारका लागि भरतपुर र भक्तपुरस्थित क्यान्सर अस्पतालमा पठाउने, बिरामीहरुलाई किमो दिने एउटा सानो स्वास्थ्य संस्था मै सिमित रह्यो ।

Kids Festival 2022
kanti aarogya hospital
add

अस्पताल सञ्चालक समिति र कार्यकारी निर्देशकले अस्पतालको उपचार सेवा बढाउनेतर्फ खासै पहल गरेनन् । वि.सं. २०७३ फागुनमा नेपाल सरकारले ‘प्रखर परोपकार मिसन नेपाल’द्वारा सञ्चालित नेपाल क्यान्सर अस्पतालको स्वामित्व सरकारले नै लिने र क्यान्सर अस्पतालको नाम परिवर्तन गरेर ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पताल’ राख्ने निर्णय ग¥यो ।

नेपाल सरकारले क्यान्सर अस्पताललाई संघीय सरकारकै मातहतमा राख्ने निर्णय भएपनि अस्पतालले गति लिन सकेन् । वि.सं. २०७७ असोज ५ गते अस्पतालका कार्यकारी निर्देशक फेरिए । भेरी अस्पताल नेपालगन्जका कन्सल्टेन्ट एनेस्थेसिलोजिस्ट डा. कृष्ण आचार्यले क्यान्सर अस्पताल खजुरामा कार्यकारी निर्देशकको रुपमा जिम्मेवारी सम्हाले ।

नयाँ कार्यकारी निर्देशकले जिम्मेवारी सम्हालेको २ महिनामै मंसिर ५ गतेदेखि सर्जरी सेवा शुरु भयो । विशेषज्ञ चिकित्सक थपेर अस्पतालले २०७७ चैतदेखि हिष्टोप्याथोलोजी सेवा सुरु ग¥यो । बिरामीहरुमा क्यान्सर भए नभएको यकीन गर्नका लागि क्यान्सर भएको आंशका भएको अंगको अप्रेशन गरेर मासुको टुक्रा निकालेर गरिने परीक्षणलाई हिस्टोप्याथोलोजी भनिन्छ ।

हिस्टोप्याथोलोजी परीक्षणपछि क्यान्सर रोग कुन अवस्थामा छ भन्ने पनि पत्ता लाग्छ । हिस्टोप्याथोलोजी सेवा शुरु भएपछि बिरामीहरु काठमाण्डौं, भरतपुर र भारतको लखनउ दील्ली पुगेर क्यान्सर भए–नभएको यकीन गर्नुपर्ने बाध्यता हट्यो ।

हिस्टोप्याथोलोजी सेवा शुरु भएपछि परीक्षण सेवा शुरु गरेको एक महिनाको अवधीमा १० जनामा क्यान्सर भएको पत्ता लाग्यो । रक्तनली, पाठेघर, स्तनमा क्यान्सर भएका बिरामीहरुले चेकजाँच गराएको दुई÷तीन दिनमै शल्यक्रिया सेवा पाइरहेका छन् । सेवा शुरु भएको करिब एक वर्षको अवधिमा क्यान्सर अस्पतालले ५ सय ३२ बिरामीको शल्यक्रियासहितको उपचार गरेको छ भने हिस्टोप्याथोलोजी सेवामार्फत करिब ८ सय जना शंकास्पद क्यान्सरका बिरामीमा क्यान्सर भए–नभएको यकीन गरिसकेको छ ।

सर्जरी र हिष्टोप्याथोलोजी सेवा थपिएपछि पश्चिम नेपालका नागरिकले बिरामीले सहजै उपचार सेवा पाउन थाले । क्यान्सर अस्पतालले क्यान्सर पहिचान भइसकेका बिरामीहरुलाई औषधीमार्फत दिइने किमो सेवालाई निरन्तरता दिइरहेको छ । पछिल्ला दिनहरुमा करिब ३ सय जना बिरामीले निरन्तर किमो सेवा लिइरहेका छन् ।

क्यान्सर अस्पताल खजुरामा पहिलो पटक दुरबिन प्रबिधिबाट बिरामीको अप्रेशन गरिदैँ । तस्विर : कृष्ण अधिकारी / सेतोखरी

डा. आचार्यकै पहलमा डेढ वर्षको अवधिमा ९ जना विशेषज्ञ चिकित्सक, ६ जना मेडिकल अफिसर र १४ जना स्टाफ नर्श जनशक्ति अस्पतालमा थपिए । कन्सल्टेन्ट सर्जन र महिला क्यान्सर रोग विशेषज्ञले क्यान्सरका बिरामीहरुलाई शल्यक्रियासहितको उपचार सेवा दिन थालेका छन् ।

क्यान्सर अस्पतालले जनरल मेडिसिन, नाक, कान, घाँटी, छाला रोग, स्त्री रोग, उपचार सेवा विस्तार गरिसकेको छ । आगामी फागुनदेखि डेन्टल र अर्थाेपेडिक सेवा शुरु गर्ने तयारी छ । क्यान्सर अस्पतालमा सर्पदंश उपचार सेवा शुरु भएको छ । डाइलाइसिस सेवा शुरु गर्नका लागि परामर्श भइरहेको डा. आचार्यले जानकारी दिए ।

काठमाण्डौंको नेपाल–कोरिया अस्पताल, नेपाल मेडिकल कलेजका महिला क्यान्सर रोग विशेषज्ञ चिकित्सकका साथै नेपालगन्ज मेडिकल कलेज, भेरी अस्पताल स्त्री रोग विशेषज्ञ र जनरल सर्जन चिकित्सकसँगको सहकार्य क्यान्सर अस्पतालले खजुरामै दूरबिन प्रविधीबाट पाठेघर र डिम्बाशयमा क्यान्सर भएका बिरामीको अप्रेशन सेवा दिन शुरु गरेको छ ।

नेपाल–कोरिया अस्पताल र क्यान्सर अस्पताल खजुराका विशेषज्ञ चिकित्सकहरुको टोलीले पाठेघर र डिम्बाशयमा क्यान्सर भएका बिरामीहरुको अप्रेशन गर्दै आएका छन् । उपचार सेवा विस्तार भएसँगै दैनिक २०÷२५ जना बिरामी आउने अस्पतालमा पछिल्ला दिनहरुमा एक सय ५० जना बिरामी आउन थालेका छन् । बिरामीको संख्या बढ्दै गएको छ ।

उपचार सेवा थपिदैं गएपछि अस्पतालको आम्दानी पनि बढ्दै गएको छ । मासिक एक लाख आम्दानी हुने क्यान्सर अस्पतालको आम्दानी दैनिक एक लाख पुगेको छ । अस्पताललाई नेपाल सरकारले वार्षिक करिब ६ करोड अनुदान दिदैँ आएको छ । अनुदानको अधिकांश रकम चिकित्सकको तलब भत्ता र प्रशासनिक काममा खर्च हुन्छ ।

अस्पतालले क्यान्सरका बिरामीहरुको भित्री सेकाइ गरेर गरिने उपचारका ब्राकी थेरापी शुरु गर्ने तयारी गरिरहेको छ । माघ महिनाभित्रै ब्राकी थेरापी शुरु गर्ने अस्पतालको लक्ष्य छ । अस्पतालले ६ बेडको आईसीयु सेवा शुरु गर्ने तयारी गरिरहेको छ । त्यसैगरी, अस्पतालको बेड संख्या ४० बाट बढाएर एक सय बेड पु¥याउने लक्ष्य छ । क्यान्सरका बिरामीहरुको उपचारका लागि निकै महत्वपूर्ण मानिने रेडियसन थेरापी लागि लिन्याक मेसिन खरिदको प्रक्रिया अगाडि बढाएको छ ।

डा. आचार्यकै पहलमा लिन्याक मेसिनका लागि संघीय सरकारबाट २९ करोड ४० लाख बजेट सुनिश्चता भएर खरिदको प्रक्रिया अगाडि बढेकाले आगामी ३/४ महिनामा खजुरा क्यान्सर अस्पतालमा रेडियसन थेरापी पनि शुरु हुनेछ । रेडियसन थेरापी शुरु भएपछि क्यान्सरका बिरामीलाई उपचारका लागि चितवनको भरतपुर, भक्तपुर र भारतको लखनऊ, दील्ली जानुपर्ने बाध्यता हट्नेछ ।

सहज रुपमा गुणस्तरीय उपचार सेवा पाउन थालेपछि अस्पताल प्रति बिरामीहरुको विश्वास पनि बढ्दै गएको छ । कार्यकारी निर्देशक डा. आचार्य अस्पतालकै क्वार्टरमा बस्छन् । कार्यकारी निर्देशक भएपनि शल्यक्रिया गर्नुपर्ने बिरामीलाई आफै कन्सल्टेन्ट एनेस्थेसोलिष्टको रुपमा एनेस्थेसिया सपोर्ट दिन्छन् । हरेक दिन राति १०/११ बजे बिरामीहरुको ‘राउण्ड’ लिन्छन् । बिरामीहरुको अनुगमन गर्ने र समस्याहरु सुन्ने उनको बानी छ ।

शल्यक्रिया गरेर उपचार गराएका हरेक बिरामीसँग प्रत्यक्ष सम्पर्क राख्छन् । बिरामीलाई सम्भव भएसम्म सहज उपचारका लागि प्रबन्ध मिलाइ दिन्छन् । पछिल्ला दिनहरुमा डा. आचार्य क्यान्सर अस्पतालबाहेक अन्य स्वास्थ्य संस्थामा काम गर्न छाडेर आफ्नो पूरा समय र ध्यान क्यान्सर अस्पताल मै केन्द्रित गरेका छन् ।

क्यान्सर अस्पताललाई दिगो रुपमा सञ्चालनका लागि अस्पतालको ओएनएम सर्भे गराएर स्थायी दरबन्दीहरु स्वीकृत गराउने कार्यमा उनी लागि परेका छन् ।

को हुन् डा. आचार्य ?

वि.सं. २०३८ सालमा कास्कीको भरतपोखरीमा जन्मिएका आचार्यले २०५४÷०५६ मा अमृत साइन्स क्याम्पसबाट आइएस्सी गरे । नेपाल सरकारको छात्रवृत्तिमै त्रिवि शिक्षण अस्पतालबाट एमबीबीएस गरेका हुन् ।

एमबीबीएसपछि डा. आचार्यले कान्ति बाल, जिल्ला अस्पताल संखुवासभा र मुगुमा काम गरे । वि.सं. २०६९ देखि ७२ को ब्याजमा त्रिवि शिक्षण अस्पतालबाट एनेस्थेसियोलोजी एमडी गरेका हुन् । त्यसपछि वि.सं. २०७७ सालसम्म भेरी अस्पताल नेपालगन्जमा एनेस्थेसियोलोजिष्टको रुपमा काम गरे । भेरीमा काम गर्दा डा. आचार्यकै पहलमा ६ बेडको आईसीयु वार्ड स्थापना भयो ।

केही समय निमित्त प्रमुख हुँदा डा. आचार्यले भेरी अस्पतालको इमर्जेन्सीमा २४ घण्टे ल्याब सेवा शुरु गरे । भेरी अस्पतालमा सर्पदंशमा बिरामीहरुको उपचारका लागि डेलिकेटेड उपचार सेवा शुरु गरे । जसका कारण सर्पदंशका कारण ज्यान नै जोखिममा परेका दर्जनौ बिरामीको ज्यान जोगियो ।

डा. आचार्यको परिवार कास्कीबाट बसाइँ—सराइ गरेर बर्दियाको कालिका झरेका हुन् । कालिकामा झरेपछिका हरेक वर्ष उनको गाउँ टोलकै १–२ जना साथीभाइ तथा छिमेकीहरुको सर्पको दंशबाट मृत्यु हुने गरेको दुःखद् खबर उनले सुन्नु प¥यो । डाक्टर भएपछि सर्पदशंबाट हुने मृत्युलाई घटाउनका लागि योगदान पु¥याउनुपर्छ भन्ने सोँचाइ उनको एमबीबीएस पढ्दादेखि नै थियो ।

भेरीमा एनेस्थेसियोलोजिष्ट डाक्टरको रुपमा उनको जिम्मेवारी अस्पतालमा बिरामीहरुको अप्रेशन गर्दा बिरामीहरुलाई बेहोस बनाउने, उनीहरुको दुखाइ कम गर्ने र गम्भीर किसिमका बिरामीलाई आईसीयुमा राखेर उपचार गर्ने थियो । उनको मुख्य जिम्मेवारीमा नपर्ने भएपनि उनी सर्पदंशका बिरामीको उपचारमा दिनरात खटिन थाले ।

कुनै पनि सर्पदंशका बिरामी अस्पतालमा आएको खबर पाएको ५ मिनेटभित्रै अस्पतालमा पुगेर बिरामीको उपचारमा संलग्न हुनुपर्छ भन्ने मान्यताका साथ काम शुरु गरे । सर्पदंशका गम्भीर बिरामीहरुलाई आईसीयु वार्डको भेन्टिलेटरमा राखेर उपचार गर्ने काममा लागि डा. आचार्य र उनका सहकर्मीहरुको टिम रातदिन नभनेर खटियो ।

सर्पदंशका बिरामीहरुलाई भेन्टिलेटरमा राखेर उपचार गर्न शुरु गरियो । जसका कारण वि.सं. २०७१ सालको तुलनामा २०७२ सालमा सर्पदंशबाट हुने मृत्युदर ५० प्रतिशत घट्यो । डा. आचार्यले भेरी अस्पतालमा आउनुअघि पहिले एउटा सर्पदंशका बिरामीको उपचारमा १ सय ३९ भाइल्ससम्म एन्टिस्नेक भेनम खर्च हुने गरेको थियो ।

सिकिस्त अवस्थामा रहेका बिरामीलाई उनको सक्रियतामा भेन्टिलेटरमा राखेर उपचार गर्न थालिएपछि करिब १० भाइल्स एन्टिस्नेक भेनमबाटै बिरामी निको हुन थाले । सर्पदंशको उपचारमा उनले गरेको मेहनत र प्राप्त गरेको सफलताका कारण स्वास्थ्य मन्त्रालयले उनलाई सर्पदंशको प्रशिक्षकका रुपमा स्वास्थ्यकर्मीहरुलाई तालिम दिने जिम्मेवारी पनि दिदैँ आएको छ ।

थप समाचार

खजुरा क्यान्सर अस्पतालबाट सेवा लिनेको संख्यामा दोब्बर बृद्धि

क्यान्सर अस्पताल खजुरामा पहिलो पटक दुरबिन प्रबिधिबाट ४ जना बिरामीको अप्रेशन

२० दिनमा १५ जनामा क्यान्सर भेटियो : कार्यकारी निर्देशक डाक्टर आचार्य

अस्पताल सञ्चालन भएको ४ वर्षपछि पहिलोपल्ट स्तन क्यान्सरको सर्जरी

क्यान्सर अस्पताल खजुरामा पहिलो पटक मुटुरोग उपचार शिबिर

ग्यास्ट्रो सर्जन डाक्टर ध्रुब शाहको टिमद्वारा पहिलोपटक ‘ग्याष्टिक क्यान्सर’को सफल शल्यक्रिया

भयानक बन्दै क्यान्सर

मिर्गौला, क्यान्सर र मुटु रोगीलाई दुई लाख सहयोग गर्ने लुम्बिनी सरकारको निर्णय