मासिक एक लाख आम्दानी हुने क्यान्सर अस्पतालको आम्दानी अहिले दैनिक एक लाख पुगेको छ
नेपालगन्ज २१ माघ : बाँकेको खजुरामा क्यान्सर अस्पताल स्थापनाका लागि स्थानीय वासिन्दाहरुले वि.सं. २०५६ सालमा महायज्ञ लगाएर करिब ५ करोड संकलन गरे । अस्पतालका लागि ४ बिघा जग्गाको बन्दोबस्त गरे । क्यान्सर अस्पताल सञ्चालन गर्नु त्यति सहज थिएन । उनीहरुले नेपाल सरकारलाई गुहारे ।
१० वर्षको निरन्तर प्रयासपछि वि.सं. २०६६ सालमा नेपाल सरकारले क्यान्सर अस्पताललाई ५ करोड अनुदान दियो । सरकारले वर्षेनी अनुदान दिदैं गएपछि भवन निर्माण भयो । चितवनको भरतपुरस्थित विपी कोइराला क्यान्सर अस्पतालको स्याटेलाइट सेवामार्फत वि.सं. २०७० असार २९ गतेदेखि खजुरामा क्यान्सरका बिरामीहरुको उपचार सेवा सुरु ग¥यो ।
अस्पतालमा अप्रेशन थ्रियटर, प्रयोगशाला, रेडियोलोजी विभाग, किमो थेरापी सेन्टरलगायतका संरचनाहरु निर्माण हुँदै गए । उपचार सेवा सुरु भएको ७ वर्षसम्म पनि क्यान्सर अस्पतालले गति लिन सकेन ।
दैनिक २०/२५ जना बिरामीको चेकजाँच गर्ने, शंकास्पद बिरामीलाई थप उपचारका लागि भरतपुर र भक्तपुरस्थित क्यान्सर अस्पतालमा पठाउने, बिरामीहरुलाई किमो दिने एउटा सानो स्वास्थ्य संस्था मै सिमित रह्यो ।
अस्पताल सञ्चालक समिति र कार्यकारी निर्देशकले अस्पतालको उपचार सेवा बढाउनेतर्फ खासै पहल गरेनन् । वि.सं. २०७३ फागुनमा नेपाल सरकारले ‘प्रखर परोपकार मिसन नेपाल’द्वारा सञ्चालित नेपाल क्यान्सर अस्पतालको स्वामित्व सरकारले नै लिने र क्यान्सर अस्पतालको नाम परिवर्तन गरेर ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पताल’ राख्ने निर्णय ग¥यो ।
नेपाल सरकारले क्यान्सर अस्पताललाई संघीय सरकारकै मातहतमा राख्ने निर्णय भएपनि अस्पतालले गति लिन सकेन् । वि.सं. २०७७ असोज ५ गते अस्पतालका कार्यकारी निर्देशक फेरिए । भेरी अस्पताल नेपालगन्जका कन्सल्टेन्ट एनेस्थेसिलोजिस्ट डा. कृष्ण आचार्यले क्यान्सर अस्पताल खजुरामा कार्यकारी निर्देशकको रुपमा जिम्मेवारी सम्हाले ।
नयाँ कार्यकारी निर्देशकले जिम्मेवारी सम्हालेको २ महिनामै मंसिर ५ गतेदेखि सर्जरी सेवा शुरु भयो । विशेषज्ञ चिकित्सक थपेर अस्पतालले २०७७ चैतदेखि हिष्टोप्याथोलोजी सेवा सुरु ग¥यो । बिरामीहरुमा क्यान्सर भए नभएको यकीन गर्नका लागि क्यान्सर भएको आंशका भएको अंगको अप्रेशन गरेर मासुको टुक्रा निकालेर गरिने परीक्षणलाई हिस्टोप्याथोलोजी भनिन्छ ।
हिस्टोप्याथोलोजी परीक्षणपछि क्यान्सर रोग कुन अवस्थामा छ भन्ने पनि पत्ता लाग्छ । हिस्टोप्याथोलोजी सेवा शुरु भएपछि बिरामीहरु काठमाण्डौं, भरतपुर र भारतको लखनउ दील्ली पुगेर क्यान्सर भए–नभएको यकीन गर्नुपर्ने बाध्यता हट्यो ।
हिस्टोप्याथोलोजी सेवा शुरु भएपछि परीक्षण सेवा शुरु गरेको एक महिनाको अवधीमा १० जनामा क्यान्सर भएको पत्ता लाग्यो । रक्तनली, पाठेघर, स्तनमा क्यान्सर भएका बिरामीहरुले चेकजाँच गराएको दुई÷तीन दिनमै शल्यक्रिया सेवा पाइरहेका छन् । सेवा शुरु भएको करिब एक वर्षको अवधिमा क्यान्सर अस्पतालले ५ सय ३२ बिरामीको शल्यक्रियासहितको उपचार गरेको छ भने हिस्टोप्याथोलोजी सेवामार्फत करिब ८ सय जना शंकास्पद क्यान्सरका बिरामीमा क्यान्सर भए–नभएको यकीन गरिसकेको छ ।
सर्जरी र हिष्टोप्याथोलोजी सेवा थपिएपछि पश्चिम नेपालका नागरिकले बिरामीले सहजै उपचार सेवा पाउन थाले । क्यान्सर अस्पतालले क्यान्सर पहिचान भइसकेका बिरामीहरुलाई औषधीमार्फत दिइने किमो सेवालाई निरन्तरता दिइरहेको छ । पछिल्ला दिनहरुमा करिब ३ सय जना बिरामीले निरन्तर किमो सेवा लिइरहेका छन् ।
डा. आचार्यकै पहलमा डेढ वर्षको अवधिमा ९ जना विशेषज्ञ चिकित्सक, ६ जना मेडिकल अफिसर र १४ जना स्टाफ नर्श जनशक्ति अस्पतालमा थपिए । कन्सल्टेन्ट सर्जन र महिला क्यान्सर रोग विशेषज्ञले क्यान्सरका बिरामीहरुलाई शल्यक्रियासहितको उपचार सेवा दिन थालेका छन् ।
क्यान्सर अस्पतालले जनरल मेडिसिन, नाक, कान, घाँटी, छाला रोग, स्त्री रोग, उपचार सेवा विस्तार गरिसकेको छ । आगामी फागुनदेखि डेन्टल र अर्थाेपेडिक सेवा शुरु गर्ने तयारी छ । क्यान्सर अस्पतालमा सर्पदंश उपचार सेवा शुरु भएको छ । डाइलाइसिस सेवा शुरु गर्नका लागि परामर्श भइरहेको डा. आचार्यले जानकारी दिए ।
काठमाण्डौंको नेपाल–कोरिया अस्पताल, नेपाल मेडिकल कलेजका महिला क्यान्सर रोग विशेषज्ञ चिकित्सकका साथै नेपालगन्ज मेडिकल कलेज, भेरी अस्पताल स्त्री रोग विशेषज्ञ र जनरल सर्जन चिकित्सकसँगको सहकार्य क्यान्सर अस्पतालले खजुरामै दूरबिन प्रविधीबाट पाठेघर र डिम्बाशयमा क्यान्सर भएका बिरामीको अप्रेशन सेवा दिन शुरु गरेको छ ।
नेपाल–कोरिया अस्पताल र क्यान्सर अस्पताल खजुराका विशेषज्ञ चिकित्सकहरुको टोलीले पाठेघर र डिम्बाशयमा क्यान्सर भएका बिरामीहरुको अप्रेशन गर्दै आएका छन् । उपचार सेवा विस्तार भएसँगै दैनिक २०÷२५ जना बिरामी आउने अस्पतालमा पछिल्ला दिनहरुमा एक सय ५० जना बिरामी आउन थालेका छन् । बिरामीको संख्या बढ्दै गएको छ ।
उपचार सेवा थपिदैं गएपछि अस्पतालको आम्दानी पनि बढ्दै गएको छ । मासिक एक लाख आम्दानी हुने क्यान्सर अस्पतालको आम्दानी दैनिक एक लाख पुगेको छ । अस्पताललाई नेपाल सरकारले वार्षिक करिब ६ करोड अनुदान दिदैँ आएको छ । अनुदानको अधिकांश रकम चिकित्सकको तलब भत्ता र प्रशासनिक काममा खर्च हुन्छ ।
अस्पतालले क्यान्सरका बिरामीहरुको भित्री सेकाइ गरेर गरिने उपचारका ब्राकी थेरापी शुरु गर्ने तयारी गरिरहेको छ । माघ महिनाभित्रै ब्राकी थेरापी शुरु गर्ने अस्पतालको लक्ष्य छ । अस्पतालले ६ बेडको आईसीयु सेवा शुरु गर्ने तयारी गरिरहेको छ । त्यसैगरी, अस्पतालको बेड संख्या ४० बाट बढाएर एक सय बेड पु¥याउने लक्ष्य छ । क्यान्सरका बिरामीहरुको उपचारका लागि निकै महत्वपूर्ण मानिने रेडियसन थेरापी लागि लिन्याक मेसिन खरिदको प्रक्रिया अगाडि बढाएको छ ।
डा. आचार्यकै पहलमा लिन्याक मेसिनका लागि संघीय सरकारबाट २९ करोड ४० लाख बजेट सुनिश्चता भएर खरिदको प्रक्रिया अगाडि बढेकाले आगामी ३/४ महिनामा खजुरा क्यान्सर अस्पतालमा रेडियसन थेरापी पनि शुरु हुनेछ । रेडियसन थेरापी शुरु भएपछि क्यान्सरका बिरामीलाई उपचारका लागि चितवनको भरतपुर, भक्तपुर र भारतको लखनऊ, दील्ली जानुपर्ने बाध्यता हट्नेछ ।
सहज रुपमा गुणस्तरीय उपचार सेवा पाउन थालेपछि अस्पताल प्रति बिरामीहरुको विश्वास पनि बढ्दै गएको छ । कार्यकारी निर्देशक डा. आचार्य अस्पतालकै क्वार्टरमा बस्छन् । कार्यकारी निर्देशक भएपनि शल्यक्रिया गर्नुपर्ने बिरामीलाई आफै कन्सल्टेन्ट एनेस्थेसोलिष्टको रुपमा एनेस्थेसिया सपोर्ट दिन्छन् । हरेक दिन राति १०/११ बजे बिरामीहरुको ‘राउण्ड’ लिन्छन् । बिरामीहरुको अनुगमन गर्ने र समस्याहरु सुन्ने उनको बानी छ ।
शल्यक्रिया गरेर उपचार गराएका हरेक बिरामीसँग प्रत्यक्ष सम्पर्क राख्छन् । बिरामीलाई सम्भव भएसम्म सहज उपचारका लागि प्रबन्ध मिलाइ दिन्छन् । पछिल्ला दिनहरुमा डा. आचार्य क्यान्सर अस्पतालबाहेक अन्य स्वास्थ्य संस्थामा काम गर्न छाडेर आफ्नो पूरा समय र ध्यान क्यान्सर अस्पताल मै केन्द्रित गरेका छन् ।
क्यान्सर अस्पताललाई दिगो रुपमा सञ्चालनका लागि अस्पतालको ओएनएम सर्भे गराएर स्थायी दरबन्दीहरु स्वीकृत गराउने कार्यमा उनी लागि परेका छन् ।
को हुन् डा. आचार्य ?
वि.सं. २०३८ सालमा कास्कीको भरतपोखरीमा जन्मिएका आचार्यले २०५४÷०५६ मा अमृत साइन्स क्याम्पसबाट आइएस्सी गरे । नेपाल सरकारको छात्रवृत्तिमै त्रिवि शिक्षण अस्पतालबाट एमबीबीएस गरेका हुन् ।
एमबीबीएसपछि डा. आचार्यले कान्ति बाल, जिल्ला अस्पताल संखुवासभा र मुगुमा काम गरे । वि.सं. २०६९ देखि ७२ को ब्याजमा त्रिवि शिक्षण अस्पतालबाट एनेस्थेसियोलोजी एमडी गरेका हुन् । त्यसपछि वि.सं. २०७७ सालसम्म भेरी अस्पताल नेपालगन्जमा एनेस्थेसियोलोजिष्टको रुपमा काम गरे । भेरीमा काम गर्दा डा. आचार्यकै पहलमा ६ बेडको आईसीयु वार्ड स्थापना भयो ।
केही समय निमित्त प्रमुख हुँदा डा. आचार्यले भेरी अस्पतालको इमर्जेन्सीमा २४ घण्टे ल्याब सेवा शुरु गरे । भेरी अस्पतालमा सर्पदंशमा बिरामीहरुको उपचारका लागि डेलिकेटेड उपचार सेवा शुरु गरे । जसका कारण सर्पदंशका कारण ज्यान नै जोखिममा परेका दर्जनौ बिरामीको ज्यान जोगियो ।
डा. आचार्यको परिवार कास्कीबाट बसाइँ—सराइ गरेर बर्दियाको कालिका झरेका हुन् । कालिकामा झरेपछिका हरेक वर्ष उनको गाउँ टोलकै १–२ जना साथीभाइ तथा छिमेकीहरुको सर्पको दंशबाट मृत्यु हुने गरेको दुःखद् खबर उनले सुन्नु प¥यो । डाक्टर भएपछि सर्पदशंबाट हुने मृत्युलाई घटाउनका लागि योगदान पु¥याउनुपर्छ भन्ने सोँचाइ उनको एमबीबीएस पढ्दादेखि नै थियो ।
भेरीमा एनेस्थेसियोलोजिष्ट डाक्टरको रुपमा उनको जिम्मेवारी अस्पतालमा बिरामीहरुको अप्रेशन गर्दा बिरामीहरुलाई बेहोस बनाउने, उनीहरुको दुखाइ कम गर्ने र गम्भीर किसिमका बिरामीलाई आईसीयुमा राखेर उपचार गर्ने थियो । उनको मुख्य जिम्मेवारीमा नपर्ने भएपनि उनी सर्पदंशका बिरामीको उपचारमा दिनरात खटिन थाले ।
कुनै पनि सर्पदंशका बिरामी अस्पतालमा आएको खबर पाएको ५ मिनेटभित्रै अस्पतालमा पुगेर बिरामीको उपचारमा संलग्न हुनुपर्छ भन्ने मान्यताका साथ काम शुरु गरे । सर्पदंशका गम्भीर बिरामीहरुलाई आईसीयु वार्डको भेन्टिलेटरमा राखेर उपचार गर्ने काममा लागि डा. आचार्य र उनका सहकर्मीहरुको टिम रातदिन नभनेर खटियो ।
सर्पदंशका बिरामीहरुलाई भेन्टिलेटरमा राखेर उपचार गर्न शुरु गरियो । जसका कारण वि.सं. २०७१ सालको तुलनामा २०७२ सालमा सर्पदंशबाट हुने मृत्युदर ५० प्रतिशत घट्यो । डा. आचार्यले भेरी अस्पतालमा आउनुअघि पहिले एउटा सर्पदंशका बिरामीको उपचारमा १ सय ३९ भाइल्ससम्म एन्टिस्नेक भेनम खर्च हुने गरेको थियो ।
सिकिस्त अवस्थामा रहेका बिरामीलाई उनको सक्रियतामा भेन्टिलेटरमा राखेर उपचार गर्न थालिएपछि करिब १० भाइल्स एन्टिस्नेक भेनमबाटै बिरामी निको हुन थाले । सर्पदंशको उपचारमा उनले गरेको मेहनत र प्राप्त गरेको सफलताका कारण स्वास्थ्य मन्त्रालयले उनलाई सर्पदंशको प्रशिक्षकका रुपमा स्वास्थ्यकर्मीहरुलाई तालिम दिने जिम्मेवारी पनि दिदैँ आएको छ ।
थप समाचार
खजुरा क्यान्सर अस्पतालबाट सेवा लिनेको संख्यामा दोब्बर बृद्धि
क्यान्सर अस्पताल खजुरामा पहिलो पटक दुरबिन प्रबिधिबाट ४ जना बिरामीको अप्रेशन
२० दिनमा १५ जनामा क्यान्सर भेटियो : कार्यकारी निर्देशक डाक्टर आचार्य
अस्पताल सञ्चालन भएको ४ वर्षपछि पहिलोपल्ट स्तन क्यान्सरको सर्जरी
क्यान्सर अस्पताल खजुरामा पहिलो पटक मुटुरोग उपचार शिबिर
ग्यास्ट्रो सर्जन डाक्टर ध्रुब शाहको टिमद्वारा पहिलोपटक ‘ग्याष्टिक क्यान्सर’को सफल शल्यक्रिया
मिर्गौला, क्यान्सर र मुटु रोगीलाई दुई लाख सहयोग गर्ने लुम्बिनी सरकारको निर्णय
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?
प्रधानमन्त्रीका सल्लाहकारलाई तत्काल पक्राउ गर्न माग
आइजिपीमाथि फेरि खनिए खगेन्द्र सुनार
अलमलमा नपर्नुस्, महाधिवेशन १ घण्टा पनि सर्दैन : गगन थापा
जुम्ली स्याउको प्रवर्द्धनमा बाबुराम, गरे यस्तो अपिल