महिला भलिबल खेलाडी नगदसहित सम्मानित


महिला भलिबल खेलाडी नगदसहित सम्मानित

काठमाण्डौं २१ माघ : नेपाली राष्ट्रिय भलिबल टोलीका खेलाडीहरु सम्मानित भएका छन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सम्मान कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुद मन्त्री महेश्वरगंज गहतराज (अथक) ले ‘बंगबन्धु एशियन सेन्ट्रल जोन महिला भलिबल च्यालेञ्ज कप’ विजेता महिला भलिबल टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गरे ।

गत पुष ६ देखि १६ गतेसम्म बंगलादेशको राजधानी ढाकामा सञ्चालन भएको प्रतियोगितामा नेपाली महिला टोलीले उपाधि जितेको थियो । नेपालले उपाधी जितेलगत्तै युवा तथा खेलकुद मन्त्री अथकले नगद पुरस्कारको घोषणा गरेका थिए ।

मन्त्री अथककै पहलमा पौष १४ गते बसेको मन्त्रीपरिषदको बैठकले उपाधि बिजेता टिमका १२ खेलाडीहरुलाई जनही ५÷५ लाख, २ जना प्रशिक्षकलाई जनही ३ लाख र एक जना अफिसियललाई २ लाख नगदले पुरस्कृत गर्ने निर्णय गरेकोे थियो ।

Kids Festival 2022
kanti aarogya hospital

सोही निर्णयलाई कार्यान्वयन गर्दै सरकारले शुक्रबार खेलाडी, प्रशिक्षक तथा ब्यवस्थापकलाई प्रमाण पत्र तथा नगद पुरस्कारले सम्मान गरेको हो । सम्मानित हुने खेलाडीहरुमा अरुणा शाही (कप्तान), मनिषाकुमारी चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, उषा भण्डारी, प्रतिमा माली, सलिना श्रेष्ठ, सरस्वती चौधरी, सुनिता खड्का, सफिया पुन, कृपा अधिकारी र शान्तिकुमारी थारु छन् ।

त्यसैगरी प्रमुख प्रशिक्षक जगदिशप्रसाद भट्ट र प्रशिक्षक भरत यादव तथा व्यवस्थापक ज्योती केसीलाई समेत सम्मान गरिएको छ ।

‘विश्व नं. १’ प्रिन्स सम्मानित

नेपाली युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल सम्मानित भएकाछन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा दाहाल सम्मानित भएका हुन् । विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) को विश्व वरीयताको जुनियरतर्फ शीर्ष स्थानमा उक्लदै ईतिहास रचेका प्रिन्सलाई प्रधानन्त्री शेरबहादुर देउवाले सम्मान गरे ।

युवा तथा खेलकुद मन्त्री महेश्वरगंज गहतराज(अथक) को उपस्थितीमा भएको सम्मान कार्यक्रममा प्रिन्सलाई सम्मानपत्र प्रदान गरिएको थियो । ब्याडमिन्टनको विश्व वरीयताको शीर्ष स्थानमा पुग्ने प्रिन्स पहिलो नेपाली खेलाडी हुन् ।