अटेरी गजुरमुखीलाई कारबाही गर

सम्झौता सकियो सडक निर्माण भएन, आन्दोलनमा उत्रिए स्थानीय


अटेरी गजुरमुखीलाई कारबाही गर

नेपालगन्ज ५ फागुन : नेपालगन्ज–गुलरिया सडक निर्माणमा गजुरमुखी कन्स्ट्रक्सनले ४ वर्षदेखि बदमासी गर्दै आएकोछ । उक्त सडक निर्माणको ठेक्का पाएको गजुरमुखी कन्स्ट्रक्सनले सडक निर्माणमा ४ वर्षदेखि बहानाबाजी गर्दै ठूलो लापरबाही गरेपछि खजुराबासी सडक आन्दोलनमा उत्रिन बाध्य बने ।

विकास निर्माणमा ठेकेदार कम्पनीले कमसल निर्माण सामाग्री प्रयोग गर्ने र समयमै कार्यसम्पादन नगर्दा सर्वसाधरणले सास्ती भोग्नु परेको हो । निर्माण कम्पनिको बदमासी र सम्बद्ध सरोकारवालाको उदासिनताका कारण यतिबेला नेपालगन्ज–गुलरिया सडकको अवस्था दयनिय बन्दै गएकोछ । भने यो विषय झन पेचिलो बन्दै गएकोछ ।

गजुरमुखी कन्स्ट्रक्सन निर्माण कम्पनीको अटेरिपन र सम्बद्ध सरोकारवालाको मौनताका कारण सास्ती भोगेका खजुराबासीले बिहीबार सडक अबरुद्ध पारे । सडक निर्माणको क्रममा निर्माण कम्पनीले चरम लापरबाही गरेको भन्दै आक्रोसित बनेका खजुराबासीले बिहीबार टायर बालेर सडक अबरुद्ध पार्न बाध्य भए ।

चारलेन सडक विस्तारका नाममा स्थानीय जनता र व्यवसायीको स्वास्थ्य तथा सुरक्षाप्रति लापरबाही भएको भन्दै दवाव स्वरुप उनीहरुले सडकमै टायर बालेर अबरुद्ध पारेका हुन् । निर्माणाधिन उक्त सडकको काम अझैं अगाडी बढ्न नसकेको र सडकमा दिनहुँ जसो दुर्घटना हुदै जानु तथा धुलोले सर्वसाधरणको आवागमन, स्वास्थ्य एवम ब्यवयसाय सञ्चालनमा सास्ती भोग्नुपरेकोसडक आन्दोलनमा उत्रिएका स्थानीयहरुको भनाइ रहेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

पटक–पटक सडक निर्माणका कामलाई सक्न ताकेता गरेपनि निर्माण कम्पनीले काम अलपत्र छाड्दा चक्का जाम गर्न बाध्य बनेको सडक अबरुद्धमा सहभागि एक स्थानीयले बताए । सडकको अवस्था प्रति चिन्तित स्थानीयले सडकमै टाएर बालेर सवारीसाधन आवागमनमा अबरोध गरेका थिए । यसो गर्नाले सरोकारवालालाई दवाव हुनुका साथै यो समस्या समाधन हुनेप्रति ध्यानाकर्षण हुने उनीहरुको दावि छ ।

विहीबार विहान करिब साढे ९ बजेबाट तीन घण्टासम्म स्थानीयहरुले सडक जाम गरि दुवैतर्फको सवारीसाधन अबरुद्ध पारेको स्थानीयबासी एवम पत्रकार खगेन्द्र दाहालले जानकारी दिए । खजुरा गाउँपालिकाका उपाध्यक्ष एक माया विकले निर्माण कम्पनीलाई जानकारी गराएको र दुई दिन भित्र सडकको काम पुनः शुरु गराउने प्रतिवद्धता दिएपछि अवरुद्ध सडक सुचारु भएको दाहालले जानकारी दिए ।

निर्माण कम्पनी गजुरमुखि कन्स्ट्रक्सनको बदमासी यतिमा सीमित रहेन । सडक विभागका एक कर्मचारीका अनुसार उक्त कम्पनी अत्यन्त अटेरी रहेको बताए । सेतोखरीसंग कुरा गर्दै ती अधिकारीले भने– ‘गजुरमुखि कन्स्ट्रक्सनको यस्तै रवैयाले हामी आजित बनेका छौं, कार्यसम्पादन समयमै नसक्ने, कमसल काम गरि बीलभर्पाइ फच्छ्र्यौट गर्न मात्र खोज्छ ।’

गजुरमुखीले हुलाकी सडक अन्र्तगत बाँके र बर्दियाको सडक निमार्णको ठेक्का पाएको छ । बर्दियाको गुलरिया र बाँकेको खजुरामा निर्माण जिम्मा लिएको गजुरमुखिका कारण निर्माणाधिन सडक काम पुरा हुनु अगावै ठाउँठाउँमा भत्किदै गएकोछ ।
अघिअघि सडक निर्माण कार्य भइरहेको छ पछिपछि नव निर्मित सडक भत्किरहेकोछ । यो गजुरमुखि कन्स्ट्रक्सनले निर्माण गरिरहेको सडकको वर्तमान अवस्था हो ।

उता नेपालगन्ज–राजापुर हुलाकी राजमार्ग अन्तर्गत बर्दियाको गुलरिया स्थित जिल्ला प्रहरी कार्यालयदेखि बबई नदि स्थित भादा घाटसम्म निर्माण भइरहेको फोरलेनको बाटो कालो पत्रेको अवस्था पनि उस्तै छ । कमसल सामाग्रीको प्रयोग भएपछि अघिअघि सडक निर्माण कार्य भइरहँदा पछिपछि पिच उप्किदै गएकोछ ।

नेपालगन्ज–गुलरिया हुलाकी राजमार्गमा पर्ने जिल्ला प्रहरी कार्यालय बर्दियादेखि भादा घाटसम्मको एक हजार ८ सय मिटर अर्थात १ किलो मिटर ८ सय मिटर लम्बाई फोरलेनको बाटो मर्मत कार्य जारी रहेको छ । पुर्वतर्फ भादा घाटबाट निर्माण सुरु गरिएको फोर लेनको बाटो सम्पन्न नहुँदै दर्जनौ स्थानमा भत्किएको पाइएको छ ।

पुर्वतिरबाट बाटो पिच हुँदै आएको छ, भने पश्चिमको अन्तिम भाग जिल्ला प्रहरी कार्यालयसम्म नपुग्दै पुर्वतर्फको बाटोमा गरिएको पिच उप्किएको हो ।  यतिमात्र होइन सो बाटोका विभिन्न स्थानमा खाल्टाखुल्टि परेका छन् । सडक पिच गरेको दुइ हप्ता नपुग्दै उप्किएपछि उक्त सडक निर्माणमा कमसल सामाग्री प्रयोग गरिएको पुष्टि हुन्छ ।

यता सोहि कन्स्ट्रक्सनले निर्माण गरिहेको बाँकेको खजुर क्षेत्रको पनि कालो पत्रे सडकको अवस्था उस्तै छ । हुलाकी राजमार्ग अन्तरगत बाँकेको खजुरा बजारमा निर्माण भइरहेको २ किलो मिटर २ सय मिटरको फोरलेनको बाटोको कालोपत्रे पनि दुई हप्ता नपुग्दै भत्किएको छ ।

एउटै कन्स्ट्रक्सनले बाँके र बर्दियाको बाटो मर्मतका लागी काम गरिरहँदा कमसल सामाग्रीको प्रयोगले हप्ता दिनमै सडक भत्किएको पाइएको हो । बर्दियाको जिल्ला प्रहरी कार्यालयदेखि भादा घाटसम्म र बाँकेको खजुरा स्थित धनौली प्रहरी चौकीदेखि खजुर–१ नम्बरसम्मकोे फोरलेन सडक जम्मा ४ किलो मिटर कालो पत्रे गर्नका लागी गजुरमुखी कन्स्ट्रक्सनले २१ करोड ४९ लाख ३३ हजार रुपैयामा जिम्मा लिएको सडक डिभिजन कार्यालय बाँकेका प्रमुख होमबहादुर एसीले बताए ।

स्थानीयबासीले सडक निर्माणमा चासो दिनु स्वभाविक भएको भन्दै एसीले मर्मत भैरहेको फोरलेन सडक पिच उप्किएको भन्ने विषयमा सम्बन्धित निर्माण कम्पनीलाई जानकारी गराइएको बताए ।

उनले २०७७ साल चैत्र मसान्तमा सम्झौता म्याद सकिएको बताउँदै उक्त कन्स्ट्रक्सनले म्याद थपका लागी निवेदन समेत नदिएको बताए । म्याद थपका लागि समेत निवेदन नआएको र काम किन ढिला भएको हो भन्ने विषयमा पनि आफुहरुले बुझ्दा सन्तोषजनक जवाफ नआएको उनले बताए ।

एक त समयमै निर्माण गर्न नसक्ने, ढिलो काम गर्ने त्यसमाथि पनि कमसल सामाग्रीको प्रयोग हुँदा निर्माण भैरहेको फोरलेन सडकका विषयमा पनि सोच्नुपर्नेै बेला आएको गुलरियाका स्थानीयबासी नरेश देवकोटा बताउँछन् ।

निर्माण कम्पनी गजुरमुखि कन्स्ट्रक्सनका बामदेव रेग्मीले सडकको बेस भत्किएको स्थानमा मर्मत कार्य जारी रहेको बताए । तर, कालो पत्रेको बेस नै भत्किएपछि अब मर्मत गदै बनाउँदै गरेको बाटोको गुणस्तरको विषयमा सम्बन्धित निकाय मौन बस्नुले धेरै कुराको संकेत गरेको छ ।

थप समाचार

गजुरमुखी कन्स्ट्रक्सनको बदमासी : २१ करोड बढि लागतमा निर्माण भइरहेको नेपालगन्ज–गुलरिया सडकमा कमसल सामाग्री प्रयोग