विश्वकप छनोटमा नेपालको विजयी सुरुवात

नेपालको घातक बलिङका सामु टिक्न सकेन ओमन


विश्वकप छनोटमा नेपालको विजयी सुरुवात

नेपालगन्ज ६ फागुन : आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालको विजयी सुरुवात भएकोछ । नेपाली बलरहरुले घातक बलिङ गरेपछि आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा ओमानलाई ३९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो ।

अल अमिरात क्रिकेट मैदानमा नेपालले दिएको ११८ रनको सामान्य लक्ष्य पछ्याएको ओमान निर्धारित १७ ओभरमा सबै विकेट गुमाएर ७८ रनमा समेटियो । सुरुवातदेखि नै नेपाली बलरहरु खेलमा हावी भएपछि ओमानका कुनैपनि ब्याट्सम्यान खुलेर खेल्न सकेनन् । ओमानका नासिम खुशीले १८ बलमा एक चौका र दुई छक्कासहित २४ रनबाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

ओमानका जितेन्द्र सिंह ९, खावर अली ७, आमिर कालिम ९, आयान खान ३, जसिम मक्सुदले २ रनमात्रै जोड्न सकेन । यसअघि ब्याटरहरुले खराब प्रदर्शन गरेपछि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाएको थियो ।

नेपालका लागि आरिफ सेखले सर्वाधि ३८ रन बनाए । ३७ बलमा उनले २ चौका प्रहार गरे । कप्तान सन्दीप लामिछानेले अन्त्यमा ७ बलमा एक चौका र एक छक्कासहित १६ रन बनाउँदै नटआउट रहेका थिए । नेपालले दुवै ओपनर कुशल भुर्तेल र आसिफ सेखलाई सस्तैमा गुमाएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

कुशलले ५ तथा आसिफले ४ रनमात्रै जोड्न सके । मध्यक्रममा पनि नेपाली ब्याटरहरु रन जोड्न असफल रहे । तेस्रो नम्बरमा आएका ज्ञोनेन्द्र मल्लले १५ बलमा २ चौकासहित १५ रन जोडे । दीपेन्द्रसिंह ऐरीले १८ बलमा एक चौका प्रहार गर्दै ११ रनमात्रै बनाउँन सके ।

उनको स्थानमा क्रिजमा आएका लोकेश बमपनि धेरै बेर टिकेनन। १७ बलमा एक छक्कासहित उनले १६ रन बनाए । त्यसपछि क्रिजमा आएका विवेक यादव पनि १० बल खेल्दै ७ तथा कलमसिंह ऐरी पनि १ रनमै पवेलियन फर्किए ।

ओमानका खावर अलीले ३ विकेट लिए । ४ ओभरमा उनले ३० रन खर्चे। यस्तै बिलाल खानले २ तथा फयट भट र जसिम मक्सुदले १–१ विकेट लिएका थिए ।

जारी विश्वकप छनोटमा नेपालको समूहमा ओमान, फिलिपिन्स र क्यानडा छन् । सबैले एकअर्कासँग खेलिसकेपछि शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा पुग्नेछ । नेपालले शनिबार फिलिपिन्सको सामना गर्नेछ ।

समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछ । त्यसबाट फाइनलमा पुग्ने टोली यसैवर्षको अन्त्यमा अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा छनोट हुनेछ ।