File Photo
नेपालगन्ज ७ फागुन : ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी चम्किएपछि नेपालले आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा फिलिपिन्समाथि शानदार जित निकालेको छ ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले फिलिपिन्सलाई एक सय ३६ रनले हरायो । जितका लागि दुई सय १९ रनको विशाल लक्ष्य पछ्याएको फिलिपिन्स निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ८२ रनमा समेटिएको थियो ।
फिलिपिन्सका जोर्डन अलेगाले अविजित सर्वाधिक २७ रन बनाए । डानियल स्मिथले सर्वाधिक २० र कप्तान जोनाथन हिलले ११ रन जोडे । बलिङमा नेपालका कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए । सन्दीपले एकै ओभरमा दुई विकेट लिए भने जितेन्द्र मुखिया, अविनाश बोरोहा, कुशल मल्ल, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा दुई सय १८ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले अविजित एक सय चार रन बनाए । कुशलले ६१ बलमा १३ चौका र एक छक्काको सहयोगमा शतकीय पारी खेले ।
शानदार शतक पूरा गरेका भुर्तेल टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट शतक प्रहार गर्ने तेस्रो खेलाडी बनेकाछन् । यसअघि नेपालबाट पूर्वकप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका थिए । पारसले २०१९ मा सिंगापुरविरुद्ध त्रिदेशीय शृंखलाका क्रममा १०६ रनको शतकीय पारी खेले । ज्ञानेन्द्रले सोही वर्ष भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा भुटानविरुद्ध १०७ रनको पारी खेलेका थिए ।
दीपेन्द्रसिंह ऐरीले ८३ रन बनाए । ऐरीले ४७ बलमा ६ चौका र चार छक्काको सहयोगमा ८३ रन बनाएका थिए । कुशल मल्लले १२ र लोकेश बमले अविजित ६ रन बनाए । ओपनर आरिफ शेख शून्य रनमा आउट भए ।
बलिङमा फिलिपिन्सका डानियल स्मिथ, मिडी पोडोस्की र गुर्भुपिन्डर चोहानले एक एक विकेट लिए । नेपालले पहिलो खेलमा आयोजक ओमानलाई ३९ रनले हराएको थियो । अब नेपालले समूह चरणको अर्को खेलमा सोमबार क्यानडासँग प्रतिस्पर्धा गर्नेछ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’