त्रिभुवनको शालिकमा शुरु भयो राजनीति, हटाउन भन्दै सिडियोलाई ज्ञापन पत्र


त्रिभुवनको शालिकमा शुरु भयो राजनीति, हटाउन भन्दै सिडियोलाई ज्ञापन पत्र

नेपालगन्ज ९ फागुन : बाँके स्वतन्त्रबासी समुहको अगुवाईमा त्रिभुवनको अर्धकदको शालिक पुर्नस्थाना गरिएपछि एकाएक बाँकेको राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएकोछ । नेपालगन्जस्थित त्रिभुवनचोकमा स्वर्गीय राजा त्रिभुवनको शालिक पुर्नस्थापना भएपछि शालिकको विषय लिएर राजनीति शुरु भएकोछ ।

सत्ता गठबन्धनका चार दलले त्रिभुवनको शालिक हटाउन भन्दै बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । विगतमा भएको सहमति विपरित नेपालगन्जको त्रिभुवन चोकमा राजा त्रिभुवनको शालिक स्थापना गरिएको भन्दै नेकपा माओवादी केन्द्र बाँके, नेकपा एकिकृत समाजवादी पार्टी बाँके, जनता समाजवादी पार्टी बाँके र राष्ट्रिय जनमोर्चा बाँकेले सोमबार प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीलाई संयुक्तरुपमा ज्ञापन पत्र बुझाए ।

ज्ञापनपत्र बुझाउँदै सिडिओलाई राजा त्रिभुवनको शालिक तत्काल नहटाईए आफुहरुले हटाउन बाध्य हुने उनीहरुले चेतावनी समेत दिएकाछन् । सो ज्ञापन पत्रमा जनआन्दोलन, जनयुद्ध, मधेश विद्रोह र संघीयताका लागि भएको आन्दोलनमा सहादत प्राप्त गरेका महान शहीदहरुको अपमान गरि प्रहरी प्रशासनकै उपस्थितिमा शालिक राखिएकोमा तत्काल हटाउन माग गरिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

साथै प्रहरी प्रशासनले नहटाए आफुहरुले हटाउने र त्यस क्रममा हुने जुनसुकै घट्नाको जिम्मेवार प्रहरी प्रशासन स्वय हुने पनि ज्ञापनपत्रमा जनाईएको छ । विगतमा पनि पटक–पटक शालिक राख्ने विषयमा विवाद हुँदा नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शमसेर राणाको अध्यक्षतामा २०७७ साल कार्तिक ६ गते बसेको सर्वदलीय बैठकले उक्त स्थानमा नेपालको झण्डा र नेपालको नक्शा राख्ने सहमति भएकोमा सो विपरित स्वयं मेयर राणाकै अगुवाईमा शालिक स्थापना गरिएकोले तत्काल हटाउनु पर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

निर्वाचनको मुखमा सर्वदलीय सहमति विपरित एकलौटी ढंगले जिल्लामा सामाजिक सद्भाव विगार्ने नियतका साथ सो शालिक स्थापना गरिएकोले विगतको सहमति अनुसार नै हटाउनु पर्ने ज्ञापनपत्रमा जनाईएको छ ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी खत्रीले सो शालिक स्थापना गरिएको सम्बन्धमा प्रशासनको पनि ध्यानाकर्षण भएको जनाउँदै उपमहानगरपालिका र मेयर राणासंग कुन निर्णयबाट स्थापना गरिएको हो भनि सोधपुछ गरिएको बताए । उनले प्रशासनले आफ्नो तरिकाले सो समस्याको समाधान निकाल्ने प्रयत्न गरिरहेको भन्दै ज्ञापनपत्र बुझाउन गएका सत्ता गठबन्धन दलका नेताहरुलाई आश्वस्त पारेका थिए ।

ज्ञापत्र पत्र बुझाउन नेकपा माओवादी केन्द्रका नेपालगन्ज नगर समितिका अध्यक्ष रतन शाही, जनता समाजवादी पार्टी बाँकेका सचिव राजेन्द्र विश्वकर्मा, नगर अध्यक्ष श्रवण कुमार यादव, एकिकृत समाजवादी नेपालगन्ज नगरका अध्यक्ष सरोज तामाङ्ग र राष्ट्रिय जनमोर्चा नेपालका जिल्ला उपाध्यक्ष जगदिश ढकाल लगायत नेता कार्यकर्ताहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

यता नेपालगन्जस्थित त्रिभुवनचोकमा स्वर्गीय राजा त्रिभुवनको शालिक पुर्नस्थापना मात्र गरिएको छैन शनिबारदेखि लगातार शालिक परिसरमा युवाहरुले पहरा दिइरहेकाछन् ।

त्रिभुवनको शालिक हटाउन माथिबाट निर्देशन आएको हल्ला चलेपछि बाँके स्वतन्त्रबासी समुह र राजसंस्था समर्थित युवाले शालिक परिसरमै आगो बालेर रातभर जागा बस्ने र दिनभर निगरानी गरिरहेकाछन् । राजा त्रिभुवनको शालिक पुर्नस्थापना गरिएसंगै यतिबेला आम सर्बसाधारणले शालिक पुर्नस्थापना भएकोमा खुसी ब्यक्त गर्दै सेल्फी समेत खिचिरहेका छन् ।

थप समाचार

त्रिभुवनको शालिक बचाउन युवाको पहेरेदारी, हटाउन सिडियोलाई ज्ञापन पत्र बुझाउने तयारी

नेपालगन्जको त्रिभुवन चोकमा राजा त्रिभुवनको शालिक राखियो, हटाए कडा प्रतिकार गर्ने चेतावनी