नायक पल शाह यसकारण दोषी हुन्


नायक पल शाह यसकारण दोषी हुन्

हुन त म कानूनको विद्यार्थी होइन, कानून व्यवसायी पनि होइन तर, नायक पल शाह र १७ वर्षीया गायिकाको विषयलाई लिएर सिर्जित वातावरण र बहसका वषयमा केही अध्ययन गरेरै भन्न मन लाग्यो । यहाँहरुका समक्ष केही कुरा राख्ने प्रयास गरेको छु ।

मैले विभिन्न सञ्चारमाध्यममा आएका समाचार, जाहेरीको विवरण, सामाजिक सञ्जालमा सार्वजनिक दुवै पक्षको अडियो रेकर्ड र पोष्ट्याइएको स्टाटसलाई पढे, अध्ययन गरे । यसले यो पंक्तिकारको मानसपटालमा द्वन्द्व नै सिर्जना गर्यो ।

त्यसो त नेपाली सिनेजगत होस् वा अन्तर्राष्ट्रिय सिनेजगत यसकिसिमका घटना नभएको भने होइन । तर, यो विषय कानूनले बर्जित गरेको, अझ सामान्य भाषामा भन्नुपर्दा कानून विरुद्धको अपराध भएपछि चर्चा नपाउनु कुरै भएन ।

नेपालको कानूनले स्पष्टसँग १८ वर्षमुनिको व्यक्तिलाई नावालिग भन्छ । त्यसैले सहमति–असहमतिको कुरा छोड्दिनुस्, जेसुकै होस् त्यो जबरजस्ती करणी नै हो । यो प्रमाणित भएमा पीडकलाई १० देखि १२ वर्ष जेल सजाय हुन्छ नै त्योसंगै पीडितलाई जरीवानासमेत दिनुपर्ने कानूनी व्यवस्था छ । र, यो नितान्त ब्यक्तिगत घटना हो ।

Kids Festival 2022
kanti aarogya hospital

विवाहपूर्वको सहवासमा हाम्रो साँस्कृतिक मूल्य–मान्यता, प्रजनन् स्वास्थ्यसम्बन्धी विश्वव्यापी दृष्टिकोण, किशोर मनोविज्ञान, सही र वेठिक भन्ने विषयमा निर्णय लिन सक्ने स्वविवेक, भावनाले बहकिने पक्षहरु माथिको आत्मनिर्णय र सम्भावित परिणामहरु माथिको विश्लेषणको परिपक्वता आदिको आधारमा १८ वर्षभन्दा कम उमेरमा चेतना नहुने भन्दै १८ वर्ष भन्दामुनि लिएको सहमतिलाई शारीरिक स्वास्थ्यको दृष्टिकोणले मात्र नभई मनोवैज्ञानिक तवरबाट पनि न्यायोचित मान्न नसकिने भएरै यस्तो कानून बनाइएको स्पष्ट छ । यो कुरा बालअधिकार सम्बन्धिका कानून, ऐन, सन्धि लगायतले समेत पुष्टि गरेकोछ ।

विवाहको प्रभोलनमा होस् वा प्रेमसहित १८ वर्षभन्दा कम उमेरकी बालिका वा बालकसँग सहमतिमै यौनसम्बन्ध राखे पनि त्यसलाई जवर्जस्ति करणी मानिन्छ । यो कानून र नेपाली समाज विरुद्धको कार्य हो ।

पल शाह र पीडित नावालिगको जाहेरी अनुसारको घटनालाई एउटा सामान्य जवर्जस्ती करणीको घटनाको रुपमा कदापी लिन मिल्दैन । यो यथार्थतालाई सबैले बुझे हुन्छ । यद्यपी उनीबीच त्यस्तो सम्बन्ध भए नभएको कुरा प्रहरी र कानूनी कारबाहीबाट पुष्टि हुनेछ ।

एउटा नावालिगको कुरा मात्र नगरौं, के सही के गलत थाहा भएको वयस्कलाई पनि त विभिन्न प्रलोभन देखाइ लिएको सहमति कति वास्तविक सहमति थियो भन्ने विश्लेषण आम सर्वसाधारणबाट हुन सकिरहेको छैन । यसले हाम्रो समाजमा बलात्कार र हिंसामा आम बुझाइ कति सामान्य छ भन्ने देखाउँछ । यौन तृष्णाले पैसा, पहुँच र शक्तिको अगाडि वास्तविक सम्बन्धहरु कति सस्तो छन् भन्ने बुझ्न सकिन्छ । यो यथार्थताबाट पर भाग्नु हामी कस्तो समाज सिर्जना गर्न गइरहेका छौं त्यो आँकल पनि गर्न सक्दैनौं ।

फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा पीडित भनिएकी १७ वर्षीया गायिका र उनको परिवारले प्रहरीमा जवरजस्ती करणीको जाहेरी दिएकाछन् । यो विषय प्रहरी अनुसन्धानको दायराभित्र आइसकेकोले कानूनी परिधिभित्र नायक पल शाह आउनेनै भए । तर, दोषी हुन वा होइनन् त्यो अदालती कारबाहीबाट पुष्टि हुनेनै छ ।

यो घटना बाहिरिएसंगै जुन तरिकाबाट नायक पल शाहका पक्षमा रहेका ब्यक्तिहरुले जाहेर गरेका मत छन् त्यो स्वभाविक मान्न सकिन्छ । एकातिर नाबालिक १७ वर्षीया गायिकाप्रतिको आक्रोस, धारणा यसै बनाउनु पनि न्यायसंगत होइन । किन भने घटनाका मुख्य पात्र भनेकै पल शाह र ती १७ वर्षीया गायिका हुन् । जे भएको हो वा नभएको हो त्यो यी दुई बाहेक अरुलाई कदापी थाहा हुनै सक्तैन । बाहिर आएको विभिन्न हल्लाका आधारमा मात्र हामीले आफ्नो धारणा बनाउने र त्यही अनुरुप मत जाहेर गर्ने हो त्यही भइरहेकाछन् पनि ।

यदि अदालतबाट नायक पल शाह दोषी ठहरिन्छन् भने उनी कानूनी कारबाहीको भागेदार बन्नैपर्छ । यसमा कसैले टाउको दुखाउनु वा आपत्ती मान्नुपर्ने देखिदैन ।

अब यहाँनिर बुझ्नु पर्ने कुरा के भने नायक पल शाह र १७ वर्षीया गायिकाबीच प्रेम थियो भने यो घटना यसरी बाहिर किन आयो ? के कारण थियो ? के यही हो त प्रेम ? प्रेमको परिभाषा के ? प्रेम नै थियो भने यस्तो असमझदारी वा भनौ कानूनी उपचारका लागि प्रहरीकोमा जाहेरीसम्म आउने अवस्था कसरी र किन सिर्जना भयो ? पीडित भनिएकी १७ वर्षिया गायिकालाई यसरी किन परिबन्धमा पारियो ? यी र यस्ता थुप्रै जिज्ञासा, प्रश्न र कौतुहुलता एकातिर छ ।

यस्तै अर्कोतिर बुझ्नुपर्ने कुरा के कुनै पनी बालिका त्यो पनि बलात्कार जस्तो विषयमा कानूनी उपचारका लागि अघि बढ्नुलाई सामान्य रुपमा आँकल गर्नु न्यायोचित हुदैँन । प्रहरीमा उजुरी दिनुपूर्व ती बालिका र उनको परिवारले यी र यस्ता विषयमा ध्यायन दिएनन र ? पक्कै पनि कुनै पनि अभिभावकले आफ्नो बच्चा बलात्कृत भयो भनेर कानूनी उपचार लिन त्यसै अघि बढ्छ र ? उसको आफ्नो नैतिकता, मानप्रतिष्ठा र ईज्जतको कुनै अर्थ छैन र ? यी र यस्ता थुप्रै प्रश्न र जिज्ञासा एकातिर पनि उठिरहेकाछन् ।

अब कुरा गरौं १७ वर्षीया बालिकाको यसअघि सार्वजनिक अडियो, सामाजिक सञ्जालमा लेखेको स्टाटस, उनले दिएको अभिब्यक्तिमा किन पटक–पटक परिर्वतन भयो ? उनी पीडित नै थिइन भने यो कदम केही पहिले किन उठाउन सकिनन् ? वा उनलाई कुनै प्रकारको प्रलोभन, दवाव, त्रास, धम्की दिइएकोे त थिएन ? दुरदराज ग्रामीण क्षेत्रका बालिका भन्दा उनीबिच ठूलो अन्तर छ । अझ उनी शिक्षित बालिका पनि थिइन ।

नायक पल शाह र १७ वर्षीया गायिका दुवैको उज्जल भविष्य हुदाँ हुदैँ पनि यस्तो घटना आखिर कसरी हुन पुग्यो त ? यो पनि सोचनिय र विचारणीय विषय कुरा हो । किन भने नायक पल शाह र ती १७ वर्षीया गायिकालाई आफ्नो आईडलका रुपमा मान्दै थुप्रै किशोरकिशोरी कला क्षेत्रमा मात्र नभइ अन्य क्षेत्रमा समेत अग्रसर भइरहेका थिए । कतिपय अभिभावकले यी दुई ब्यक्ति जस्तै आफ्ना छोराछोरीको भविष्य होस् भनेर त्यही अनुसार अघि बढिरहेका थिए । अब यो घटनाले ती किशोरकिशोरी र अभिभावकमाथि ठूलो प्रश्न उब्जिएकोछ । यसले पछिल्लो समय यो क्षेत्रप्रति बढ्दो आर्कषणमाथि पूर्णविराम लगाउने त होइन भन्ने चिन्ता पनि छ ।

नायक पल शाह र ती १७ वर्षीया गायिकाबीच सम्बन्ध नभएको भने होइन् । पल शाहको ‘डाई हार्ट’ फ्यान मध्ये एक थिइन् ती गायिका । समय र संयोग पनि मान्नुपर्छ उनीहरु संगै काम पनि गरे । योबिच उनीहरु एकअर्कामा सम्बन्ध गहिरिदैं गयो र अन्ततः उनीहरु गहिरो प्रेम सम्बन्धमा परे, आपसी समझदारीमा सम्बन्ध लम्बिदै गयो । भावना र सम्बन्धको घुमाउरो दवावमा पर्दै दुवैजनाबीच शारिरीक सम्बन्ध पनि पक्कै भयो अथवा भएन । यो दुबैजनाको सहमती र सुझबुझमा भएको शारीरिक सम्बन्धले उनीहरुको सम्बन्धमा नयाँ मोड ल्याएको देखिन्छ । यद्यपी कानूनले यसलाई बलात्कार भन्छ ।

किशोरअवस्था त्यसमा पनि विभिन्न दवाव, प्रलोभन वा सहमतीमै बारम्बार शारीरिक सम्बन्ध हुनु र एकाएक सम्बन्धबाट छुट्टिन खोज्नुले ती गायिकामा मानसिक, शारीरिक पीडा त हुने नै भयो । उनीहरु समास्या समाधान भन्दा पनि एकअर्कादेखि भागाभाग र आक्षेप लगाउने जस्ता कामहरु हुन थाले । गायिकासंगको सम्बन्ध (शारिरीक सम्बन्ध– पीडित गायिकाको जाहेरी अनुसार) पश्चात नायक पल शाहको चेत खुल्छ कानूनी जटिलताले करियर र स्टारडम नै संकटमा पर्ने भन्दै उनी झन् तनावमा पर्छन् । उनी यो घटना बाहिर नल्याउन र गुपचुपमा मिलाउन हरसम्भव प्रयास गर्छन् । गायिका उनको यो प्रयासमा अन्ततः सहमत भएजस्तै हुन्छिन तर, पुनः गायक शाहलाई गायिकाले फोटो, भिडियो लगायतको हवाला दिदै बार्गेनिङ्ग गर्न थालेको र त्यो घटनाले कानूनी रुप लिए आफूमाथि महासंकट आउने ठानेर घटना थामथुप पार्न व मोड्ने काम भएको अर्को पाटोबाट देखाउँछ ।

अब यता नायक पल शाहलाई फसाउन खोजिएको हो भन्दै उनकै पूर्व म्यानेजर कृष्ण जोशीले दिएको अन्तरवार्ताले यो घटनामा नयाँ ट्विष्ट ल्याएको छ । एकातिर ती गायिका र शाहविरुद्ध योजना बनाउने भन्ने अर्कोतिर हामीले गल्ति गरेको र सजाय भोग्न तयार भएको भन्नुले अब यो घटना यस्तो हुनेछ ।

नायक पल शाहको पूर्व म्यानेजर कृष्ण जोशीले अन्तरवार्ता दिएर यो घटनाको सम्पूर्ण भागेदार आफू र आफ्नो टिम भएको प्रमाणित गर्न खोजेका छन् । यसले शाह र गायिकाबीचको घटनाक्रमलाई विषयान्तर गरि उनीहरुलाई उन्मुक्ति दिन खोजेको पुष्टि हुन्छ । उनले यो घटनाको आफू र आफ्नो टिमका गायक दुर्गेश थापा, सरोज ओली र सम्राट चौलागाई दोषी प्रमाणित गरि पल शाहलाई सामान्य सजायको भागिदार बनाउने चेष्टा गरेकाछन् । प्रहरीले सार्वजनिक भएका अडियो रेकर्ड, दुवै पक्षले पेश गरेका सवुत, प्रमाण, बयान र मेडिकल रिर्पोट लगायतका आधारमा अनुसन्धान अघि बढाउनेनै छन् । तर, त्यो भन्दा अघि नै यो मुद्दा कमजोर बनाइनेछ । यसका लागि १७ वर्षीया ती गायिकालाई अदालतमा बयान फेर्न समेत लगाउन सकिनेछ । उनले पनि बयान फेर्ने सक्ने सम्भावना यसअघिका अन्तरवार्ता, उनले लेखेको स्टाटसबाट पनि पुष्टि हुन्छ । यद्यपी यो पछि थाहा हुन्छ ।

अतः यी सबै घटनाक्रम हेर्दा, बुझ्दा नायक पल शाहबाट यो या त्यो बहानामा गल्ती भएकै हो । उनको गल्ति अनुसार उनी सजायका भागिदार पक्कै बन्नेनै छन् । एक वयस्क ब्यक्ति त्यो पनि फिल्मी क्षेत्रका एक चर्चित हस्तिले जो समाजमा सकारात्मक सन्देश प्रदान गर्छन् उनी स्वयम यो घटनामा चुके अर्थात गल्ती गरे । प्रेम गरेर होस् या ललाएर फकाएर होस् नाबालिकसँग सम्बन्ध कायम गर्नु अपराध नै हो । अपराध जति नै ठूलो या लोकप्रिय व्यक्तिबाट भएको भए पनि पीडकले उन्मुक्ति पाउनु हुदैन । दिनु पनि हुँदैन ।

यता पल शाहले दावी गरेझैं उनको चरित्रहत्या गर्ने काम मात्रै भैरहेको हो भने पल शाहले पनि न्याय पाउनु पर्छ । यसरी कसैको चरित्रहत्या गरिनु हुँदैन । बलात्कारको जाहेरी परेपछि लुकेर बसेका अभिनेता पल शाह अन्नतः आज आईतबार स्वयम जिल्ला प्रहरी कार्यालय तनहुँमा हाजिर भएकाछन् । यो कार्य पनि सकारात्मक मान्न सकिन्छ ।

यसअघि उनले आज विहान आईतबार शाहले आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको र आफ्नो फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शन भइरहँदा आफ्नो कारण फिल्मलाई असर पर्ने डरले प्रहरीको सम्पर्कमा नआएको भन्दै फेसबुकमा लेखेका थिए । शाहले फेसबुकमा लेखेका छन्, ‘नेपालको कानूनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरीसामु म आफैं उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु ।’ सोही अनुसार उनी प्रहरीकोमा उपस्थित भए । उनी प्रहरीको सम्र्पकमा आइसकेपछि प्रहरीले अनुसन्धान प्रकृया अगाडी बढाएकोछ ।

झन् नाबालिक गायिका बलात्कार गरेको भन्दै जाहेरी परेपछि प्रहरी नियन्त्रणमा रहेका नायक शाहविरुद्ध बलात्कार सम्बन्धि अर्को जाहेरी परेको छ । ईलाका प्रहरी कार्यालय नवलपुरमा नायक शाहविरुद्ध बलात्कारसम्बन्धी अर्को जाहेरी परेको हो । प्रहरीका अनुसार नायक शाहविरुद्ध परेको किटानी जाहेरीमा गत चैत ७ गते नवलपरासीको गैंडाकोट रिसोर्टमा सुटिङका बेला जबरजस्ती करणी भएको दाबी गरिएको छ ।

थप समाचार

पल शाह प्रहरी नियन्त्रणमा

प्रहरी नियन्त्रणमा रहेका नायक पलविरुद्ध अर्को बलात्कारको जाहेरी

अभिनेता पल शाहले भने– ‘कानूनलाई सम्मान गर्दै आज प्रहरीसामु म आफैं उपस्थित हुनेछु’

पल शाहविरुद्ध जवरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी