राउटेका मुखियाले उद्घाटन गर्ने
नेपालगन्ज २५ फागुन : नेपालगन्जमा बिहीबारदेखि प्रदेश स्तरीय पर्यटन व्यवसायीहरुको व्यवसायिक विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत बजारका टुर अपरेटर एबम पर्यटन व्यवसायीसंग व्यवसायीक सम्बन्ध स्थापित गर्न ‘वेष्टर्न ट्राभल मार्ट’ सञ्चालन हुँदैछ ।
तीनदिनसम्म सञ्चालन हुने उक्त ‘वेष्टर्न ट्राभल मार्ट’को सम्पूर्ण तयारी पुरा भएको वेष्र्टन ट्राभल मार्ट सञ्चालन तथा व्यवस्थापन समितिले जनाएकोछ । ‘वेष्टर्न ट्राभल मार्ट’ को पूर्वसन्ध्यामा नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष श्रीराम सिग्देलले आवश्यक सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए ।
उनका अनुसार पश्चिम नेपालको पर्यटकीय क्षेत्रको ‘गेटवे’ का रुपमा परिचित नेपालगन्जमा पहिलो पटक ‘वेष्टर्न ट्राभल मार्ट’ हुन लागेको हो । नेपालगन्जको होटल सिद्धार्थ भ्यूमा फागुन २६ देखी २८ गतेसम्म ‘वेष्टर्न ट्राभल मार्ट नेपाल नेपालगन्ज गेटवे अफ कर्णाली’ आयोजना गरिदैँछ ।
कर्णाली र लुम्बिनी प्रदेशका पर्यटन गतिविधी तथा गन्तब्यको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार–प्रसार तथा प्रर्वद्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र नेपालगन्ज उपमहानगरपालिकाको मुल आयोजना, नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस (नाट्टा) बाँकेको आयोजना तथा पर्यटन प्रर्वद्धन मञ्च बाँके, हान बाँके, होटल ब्यवसायी संघ बाँके लगायत यस क्षेत्रका पर्यटन सम्बद्ध ब्यवसायीको सह–आयोजनामा मार्ट गरिदैंछ ।
प्रदेश सरकारसँगको साझेदारीमा प्रत्येक प्रदेशमा प्रादेशिक ट्राभल मार्टको आयोजना गर्ने नेपाल पर्यटन बोर्डको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम अनुरुप यो मार्ट आयोजन गर्न लागिएको वेष्टर्न ट्राभल मार्ट नेपालका अध्यक्ष सिग्देलले बताए ।
उनका अनुसार यो ‘मार्ट’ नितान्त पर्यटन सम्बन्धी ब्यापार आदान–प्रदान गर्ने मेला हो । मार्टमा पर्यटकीय गतिविधी सम्बन्धी ४० बढि स्टल राखिनुका साथै पर्यटन क्षेत्रसँग सम्बन्धित अतिथीलाई यस क्षेत्रको पर्यटकीय स्थलको अवलोकन गराइनेछ ।
यसका लागि भारतबाट बुधबार बेलुका ४० बढि भारतीय पर्यटन अपरेटर र पत्रकार नेपालगन्ज आएका छन् । उनीहरुको नेपाल–भारत सीमानाका जमुनाहमा भब्य स्वागत गरिएको थियो ।
उक्त मार्टमा नेपाल र भारतका गरी कुल १५० बढी पर्यटन ब्यवसायी सहभागी हुने आयोजकले बताएकोछ । मार्टमा सहभागि हुनेलाई बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, रारा, शेफोक्सुण्डो लगायत पश्चिम नेपालका पर्यटकीय स्थलको प्लेन तथा हेलिकप्टरबाट भ्रमण गराइनेछ । भने कर्णालीमा र्याफ्टिङ र बर्दिया राष्ट्रिय निकुञ्जमा जङ्गल सफारि समेत गराइने अध्यक्ष सिग्देलले जानकारी दिए ।
वेष्टर्न ट्राभल मार्टमा सहभागि हुने अतिथीका लागि विमान कम्पनी, होटल ब्यवसायी, ट्राभल ब्यवसायी लगायतले विशेष प्याकेज अघि सारेको अध्यक्ष सिग्देलले बताए ।
पश्चिम नेपालममै पहिलो पटक नेपालगन्जमा हुन लागेको पर्यटन मार्टले यस क्षेत्रको सिंगो व्यवसाय, पर्यटकीय क्षेत्रको चर्चा हुने भएकोले यसलाई सफल गराउन समेत आग्रह गरिएकोछ ।
राउटे मुखियाद्वारा उद्घाटन गरिने
लोपोन्मुख जाति राउटे समुदायका मुखियाद्वारा पहिलो पटक औपचारिक कार्यक्रमको उद्घाटन गरिने भएकोछ ।
समितिका अध्यक्ष सिग्देलका अनुसार पर्यटन प्रर्बद्धनमा समेत महत्वपूर्ण भूमिका रहेको राउटे समुदायका मुखियाबाट वेष्र्टन ट्राभल मार्टको औपचारक उद्घाटन गरिनेछ ।
उनका अनुसार नेपालमा सम्भवतः पहिलो पटक राउटे समुदायका मुखियाले औपचारिक कार्यक्रमको उद्घाटन गर्नेछन् । कर्णाली प्रदेशको गुँरासेका राउटे समुदायका मुखिया सुर्यनारायण शाहीले वेष्र्टन ट्राभल मार्टको औपचारिक उद्घाटन गरेसंगै नेपालमा फरक पहिचान र चर्चा हुने अध्यक्ष सिग्देलले बताए ।
‘कर्णाली प्रदेशको गुराँसेमा रहेका राउटे समुदायका मुखिया सुर्यनारायण शाही यो कार्यक्रको प्रमुख अतिथि हुनुहुन्छ, उहाँ नेपालगन्जमा आएर कार्यक्रमको उद्घाटन गर्दा पर्यटन प्रर्बद्धनमा नयाँ भाइभ उत्पन्न हुन्छ’ अध्यक्ष सिग्देलले बताए ।
नेपालगन्जको सिद्धार्थ भ्यू होटलमा हुने वेष्र्टन मार्टको नेपालगन्ज स्थित पश्चिम नेपालको शक्तिपीठ बागेश्वरी मन्दिर दर्शनपश्चात झाँकीसहित नगरपरिकर्मा गरि सुरुवात गरिनेछ ।
उक्त मार्ट यसअघि गत मंसिर २८ देखी पुष १ गते सम्म गर्ने तय भएपनि कोभिड–१९ महामारीका कारण स्थगित भएको थियो ।
थप समाचार