महिला सैनिकले पाए सुपरम्यानको उपमा


महिला सैनिकले पाए सुपरम्यानको उपमा

नेपालगन्ज २५ फागुन : महिला सैनिकले गरेका असल कामको प्रशंशा सुनेर गडगडाहातले ताली बज्यो । ताली बजाउनेहरुमा महिला शैनिक मात्र नभएर विभिन्न क्षेत्रमा ख्याती प्राप्त महिलाहरु पनि थिए । ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाली सेनाको भैरवप्रसाद गण, ईमामनगर ब्यारेक राँझामा विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।

सम्भव त सैनिक र गैरसैनिक महिलाहरुसँगै बसेर दिवस मनाएको बाँकेमा यो पहिलो हुन सक्छ । क्रियटिभ ह्याड्सको सहकार्यमा ब्यारेक भित्र यस्तो कार्यक्रम गर्न सम्भव भएको गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले बताए ।

कार्यक्रलाई सम्बोधन गर्दै प्रमुख सेनानी कार्कीले महिला सैनिकको प्रशंशा गरिरहेका थिए । कोरोना भाईरसबाट मृत्यु भएका ब्यक्तिको शव ब्यवस्थापनमा महिला सैनिकले गरेका कामको उच्च मूल्यांकन गर्दै उनले महिलाहरु पुरुष भन्दा अझ सशक्त रहेको दावी गरे ।

ब्यारेकमा महिला भएकै कारण ड्यूटीमा कुनै किसिमको छुट हुँदैन, उनले भने –‘महिला सैनिकहरुपनि कसैको छोरी, आमा र श्रीमती हुन् । तर पनि सबै ब्यक्तिगत कर्तब्य निर्वाह गरेर पुरुष सैनिक बराबर ड्यूटी गरिरहेकाछन् यो सामान्य होईन । महिलाहरुमा अदभुत शक्ति रहेको भन्दै प्रमुख सेनानी कार्कीले महिलालाई सुपरम्यानको उपमा दिईरहँदा तालीले हल अझै गुञ्जायमान भएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

प्रमुख सेनानी कार्कीले क्रियटिभ ह्याण्डस जस्तै संस्थाको साथ र सहयोग पाए आगामी दिनमा पनि सबैसँग सहकार्य गरेर सैनिक–नागरिक सम्बन्ध सुमधुर बनाउने विविध गतिविधि गर्नसकिने बताए ।

दिवसको अवसरमा गणमा महिला सैनिक बीचमा नै मैत्रीपूर्ण फुटवल प्रतियोगिता आयोजना पछि बाँकेका विभिन्न क्षेत्रका अगुवा महिला र सैनिक महिलाले संयुक्त रुपमा केक काटेर खुशीयाली मनाएका थिए । कार्यक्रममा सैनिक महिलाले गरेका विभिन्न बहादुरी पूर्ण कार्य र उनीहरुको कला कौशलबारे बृतचित्र प्रदर्शन गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर र खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले सुरक्षा निकायमा होस् अथवा सामाजिक क्षेत्रमा होस्, नेतृत्वदायी भूमिका पाएका महिलाले कुशलतापूर्वक काम सम्पन्न गर्न सक्छन् भन्ने प्रमाणित गरिसकेको जिकिर गरे ।

संविधानले स्थानीय तहको प्रमुख तथा उप प्रमुखमा महिला अनिवार्य गरेपछि मात्र आफुहरुले यो स्थानमा पाउन सकेके उनीहरुको भनाई थियो ।

संविधानमा प्रमुख तथा उपप्रमुखमा महिला हुनुपर्ने ब्यवस्था गरेपनि महिला नेतृत्वदायी भूमिकामा सक्षम हुँदाहुँदै सबैजसो राजनैतिक दलले महिलालाई उपप्रमुखमै सिमित राखेको उनीहरुको गुनासो थियो । क्रियटिभ ह्याण्डसका संथापक अध्यक्ष टीएस ठकुरीले कार्यक्रमको सहजीकरण गर्दै महिला सशक्तिकरणकै लागि आठ वर्षदेखि नेपालगन्जमा प्रधानमन्त्री कप आमन्त्रित महिला भलिबल प्रतियोगिता हुँदै आएको बताए ।

प्रतियोगिताको आठौँ संसकरण चैत दोस्रो साता आयोजना हुने जानकारी दिँदै उनले प्रतियोगिता सफल पार्न सबैको साथ र सहयोगको अपेक्षा गरे । सो अवसरमा प्रमुख सेनानी कार्की र क्रियटिभ ह्याण्डसका अध्यक्ष ठकुरीले उपस्थित महिला अगुवाहरुलाई प्रधानमन्त्री कप लेखेको टिसर्ट प्रदान गरेका थिए ।

कार्यक्रममा राखेपका सदस्य सुमित्रा चौधरी, कैलपाल अस्पताल एड कलेजकी रेवती सिंह, एबीसी स्कुलका प्रधानाध्यापक शशी स्वाँर, डाक्टर रोमा बोरा, भारत्तोलनकी स्वर्णपदक विजेता सञ्जु चौधरी, नेपाल पत्रकार महासँघ बाँकका उपाध्यक्ष करुणा शाह लगायत विभिन्न सफल उद्यमी ब्यावसायी तथा समाजसेवी महिलाकाहरुको उपस्थिति रहेको थियो ।