प्रधानमन्त्री बिनाको पिएम कप, ८ औं संस्करणमा पनि बलियो घरेलु टिम बनेन


प्रधानमन्त्री बिनाको पिएम कप, ८ औं संस्करणमा पनि बलियो घरेलु टिम बनेन

नेपालगन्ज २८ फागुन : बाँके जिल्लाले पहिलोपटक प्रधानमन्त्री पाउँदा थालिएको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता यतिबेला आठौं संस्करणमा प्रवेश गरेकोछ । भब्य र सभ्यरुपमा सम्पन्न गर्न जिल्ला भलिबल संघ, बाँकेले यसको तयारीमा तिव्र पारेकोछ ।

बाँकेका स्वर्गीय नेता सुशील कोइराला प्रधानमन्त्री भएदेखि नेपालगन्जमा नियमित भइरहेको यो प्रतियोगितासंग जिल्लाको ईज्जत समेत जोडिएकोछ ।

बाँकेमै अन्तरर्राष्ट्रिय स्तरको प्रतियोगिता हुनुका साथै महिला सशक्तिकरणसंग जोडिएको विषय भएकै कारण यो प्रतियोगिताले देशभर ब्यापक चासो र चर्चा कमाइरहेकोछ । त्यसैले पनि छैठौं र सातौं संस्करणमा बाँकेका सबै पालिकाका (महिला नेतृ) उपप्रमुखहरु गोलबद्ध भए ।

यसअघि छैठौं र सातौं संस्करण गर्दै गर्दा महिला सशक्तिकरणलाई जोडेर प्रतियोगिताको नेतृत्व महिलाबाटै गरियो । सो बेला प्रदेश सांसद कृष्ण केसी ‘नमूना’ लाई प्रतियोगिता मुल समारोह समिति संयोजकको जिम्मेवारी दिइएको थियो । उक्त समितिमा बाँकेका ८ वटै पालिकाका उपप्रमुख (महिला नेतृ)हरु गोलबद्ध भएका थिए । सो बेला विभिन्न राजनीतिक उतारचढाव, कोरोना र प्रधानमन्त्रीको ब्यस्तताको कारण देखाउँदै प्रधानमन्त्री उपस्थित हुन नसक्ने बताइएको थियो । यसको विकल्पमा राष्ट्रपति विद्यादेवि भण्डारीबाट उद्घाटन वा समापन गराउने चर्चा गरियो । तर, त्यसो हुन सकेन ।

Kids Festival 2022
kanti aarogya hospital
add

पिएम कप भलिबल प्रतियोगिताले नेपालगन्जको मात्र नभएर समग्र जिल्लाको चिनारीको रुपमा प्रतिनिधित्व गरेको छ । यसको विकास र निरन्तरतामा सबैको साथ र सहयोग हुँदै आएको छ । तर, प्रतियोगिताको नाम नै प्रधानमन्त्री कप महिला भलिबल राखिएपनि प्रधानमन्त्रीको उपस्थित गराउन नसक्दा प्रतियोगितामा उत्साह घट्दै जान थालेकोछ ।

सबैको साथ र सहयोग पाइरहेको प्रतियोगिता सञ्चालनको जिम्मेवारी लिएकाहरुकै कमजोरी र उदासिनताले आठौं संस्करणसम्म आइपुग्दा समेत प्रतियोगितामा प्रधानमन्त्रीको सहभागिता गराउन सकिएको छैन ।

आयोजकले हरेक वर्ष प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता सञ्चालन गरिरहँदा प्रधानमन्त्रीलाई सहभागिता गराउनेतर्फ चासो देखाएको भन्दै पन्छिने गरेको भएपनि प्रधानमन्त्रीको सहभागिता गराउन असफल बनेकोछ ।
यस्तै आठौं संस्करणसम्म आइपुग्दा समेत बाँकेले बलियो घरेलु टिम समेत उतार्न नसक्दा जिल्लाको ईज्जतसंग जोडिएको प्रतियोगिताले आयोजकसंगै बाँकेलाई गिज्याइरहेकोछ । प्रतियोगिताको तेस्रो संस्करणदेखि लुम्बिनी युनाइटेड घरेलु टिम प्रतिस्प्रर्धा गरिरहेकोछ ।

अहिलेसम्म बलियो घरेलु टिम बन्न नसकेको भन्दै त्यसतर्फ लाग्न आयोजक बाँके जिल्ला भलिबल संघसँगै खेलसम्बद्ध सरोकारबालाहरुलाई दबाब दिइरहेकाछन् । आठौं संस्करणको पूर्वसन्ध्यामा पनि प्रधानमन्त्री कप महिला भलिबलको उद्घाटन तथा समापनमा प्रधानमन्त्रीको उपस्थिती नहुने लगभग पक्कापक्की भएकोछ ।

बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले प्रधानमन्त्रीलाई सहभागिता गराउन प्रयासरत भएको बताएका छन् । प्रधानमन्त्रीको उपस्थितीले प्रतियोगितामा थप रौनकता बढाउने भन्दै वर्षेनी पहल र प्रयास गरेपनि मोफसलको प्रतियोगिता हो भन्दै त्यती महत्व नराख्दा उहाँहरुको प्राथमिकतामा नपरेको हुनसक्ने बताए ।

प्रतियोगितामा प्रधानमन्त्रीको सहभागिता गराउने प्रयास र पहल भइरहेको बताउँदै अध्यक्ष ठकुरीले भने–‘नेपालगन्जको चिनारीको रुपमा विकास भएको प्रतियोगितालाई दक्षिण एशियाकै नम्बर एक क्लब च्याम्पियनशीपका रुपमा स्थापित गराउने लक्ष्यका साथ अघि बढेकाछौं ।’

‘प्रतियोगितामा देशका चर्चित क्लबहरुसँग मित्र राष्ट्र भारतका क्लबलाई पनि सहभागी गराउने प्रयास भइरहेको छ,’ अध्यक्ष ठकुरीले प्रतियोगिता तयारीलाई तिब्रता दिइएको छ, आठौं संस्करणका लागि साझेदारहरु थपिंदै गएकाछन् ।’

अध्यक्ष ठकुरीले भने–‘लुम्बिनी युनाइटेड घरेलु टिम हो । बलियो बन्न सकेन भन्ने बहस ठिकै हो, टिम नै नबनेको भन्ने हैन । तेस्रो संस्करणदेखि हरेक वर्ष खेलिरहेकै छ ।’

अध्यक्ष ठकुरीका अनुसार शनिवार पाँचतारे होटल सेन्ट्रल प्लाजा र बाँके जिल्ला भलिबल संघबीच प्रतियोगिताका लागि सहकार्य भएको छ ।

प्रतियोगिता तयारीबारे जानकारी दिंदै उनले भने, ‘सहभागी टोलीका खेलाडीदेखि अफिसियलका लागि आवास तथा भोजनको व्यवस्थापन सेन्ट्रल प्लाजामा हुनेछ ।’

‘कोहलपुरमा खेलाडीको बसोबास तथा नेपालगन्जमा खेल सञ्चालन हुँदा दुवै सहरको आर्थिक पक्ष चलायमान हुने अपेक्षा गरेका छौं,’ अध्यक्ष ठकुरीले भने, ‘त्यसले नेपालगन्ज कोहलपुर सडकखण्डले बिभिन्नजातीय, धार्मिक र साम्प्रदायिक क्लस्टरलाई पनि जोड्नेछ ।’

थप समाचार

पिएम कप तयारी तीव्र : सेन्ट्रल प्लाजामा आवास तथा भोजनको व्यवस्थापन गरिने

चैत्र दोस्रो साता पिएम कप, तयारीमा जुट्यो संघ