एक्सनमा उत्रिए डिएसपी मल्ल, लागुऔषधका मुख्य नाइके ‘मुन्ना’ प्रहरी नियन्त्रणमा


एक्सनमा उत्रिए डिएसपी मल्ल, लागुऔषधका मुख्य नाइके ‘मुन्ना’ प्रहरी नियन्त्रणमा

नेपालगन्ज ३० चैत्र : लागुऔषध सेवन र कारोबार मौलाउँदै गएको बाँकेको कोहलपुर क्षेत्रमा इलाका प्रहरी कार्यालय कोहलपुर एक्सनमा उत्रिएकोछ । डिएसपीमा बढुवा भए लगत्तै ईलाका प्रहरी कार्यालय कोहलपुरको कमाण्ड सम्हालेका प्रहरी नायब उपरीक्षक (डिएसपी) ऐनबहादुर मल्लले लागुऔषध विरुद्ध एक्सनमा उत्रिएका हुन् ।

मल्लले आफ्नो सक्रियता देखाएसंगै कोहलपुर क्षेत्रबाट ठुलो मात्रामा लागुऔषधसहित एकजनालाई पक्राउ गर्न सफल हुनुका साथै अपराधका अन्य घटनामा पनि प्रहरीलाई सफलता मिलेकोछ । मंगलबार दिउँसो १ बजेतिर कोहलपुर चप्परगौडीमा रहेको रोहिनी खोला नजिकबाट प्रहरीले ८० ग्राम ब्राउन सुगर सहित एकजनालाई नियन्त्रणमा लिएको हो ।

अबैध लागूऔषध ब्राउन सुगर कारोबार हुँदैछ भन्ने गोप्य सूचना पाएको इप्रका कोहलपुरबाट खटेको प्रहरीले टोलीले कोहलपुर नगरपालिका वडा नम्बर–१२ बस्ने मुन्ना भनिने जगतलाई केसीलाई नियन्त्रणमा लिन सफल भयो ।
प्रहरीले पक्राउ गरेको केसीका साथबाट लागुऔषध नापतौल गर्न प्रयोग गरिने डिजिटल तराजु एक थान, सिमकार्ड –२ थान, लु १२ ख प २९० नम्बरको पहेंलो कालो स्कुटर समेत बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी मल्लले भने ‘घटना विवरण बुझ्दै जाँदा केसी ठुलै संयन्त्रमा जोडिएको देखिन्छ, थप अन्य ब्यक्ति समेत पक्राउ गर्छौं ।’

Kids Festival 2022
kanti aarogya hospital

डिएसपी मल्लले अबैध लागुऔषध ब्राउन सुगरका मुख्य नाइके मुन्ना भनिने जगत केसीलाई पक्राउ गर्न सफल भएको बताए । केसी लामो समयदेखि कोहलपुर क्षेत्रमा लागुऔषधको कारोबार गर्ने मुख्य नाइके भएको डिएसपी मल्लले बताए ।

बाँकेमा यसअघि वडा प्रहरी कार्यालय नेपालगन्ज र जिल्ला ट्राफिक प्रहरी प्रमुखको रुपमा कार्य गरिसकेका मल्ल अपराध अनुसन्धान, ट्राफिक ब्यवस्थापनमा अनुभवी एवम कुसल प्रहरीका रुपमा परिचित छन् ।

‘कोहलपुर क्षेत्रमा समस्याको रुपमा देखापरेका चोरी डकैती, लुटपात, हत्या, लागुऔषध दुर्व्यशन जस्ता अपराधिक गतिविधि र सडक दुर्घटना नियन्त्रण गर्न विशेष योजना बनाइनेछ’ मल्लले अगाडी थपे–‘प्रहरीले एक्लै चाहेर पनि सबै कुरा नहुने हुँदा यसमा सबैको साथ र सहयोग आवश्यक छ । यसमा नागरिक कर्तब्य समेत जोडिन्छ ।’

यस्तै कोहलपुर दूरसञ्चार रोडमा रहेको देबेन्द्र सुनारको सुनचाँदी पसलको ताला फोड्दै गरेको अवस्थामा २ जनालाई पक्राउ गर्न सफल भएको छ । उनीहरुका साथबाट ताला फोड्न प्रयोग गरिएका औजार समेत प्रहरीले बरामद गरेकोछ ।

पक्राउ पर्नेमा भेरी नगरपालिका वडा नम्बर –३ जाजरकोट बस्ने २० वर्षिय बिमल शाही र रुकुम चौरजहारी नगरपालिका वडा नम्बर–२ बस्ने २० वर्षिय सौगात केसी रहेकाछन् । यसअघि शाही र केसीले कोहलपुर–११ स्थित राष्ट्रिय बाणिज्य बैंक नजिकै रहेको प्रेमबहादुर टमाटाले सञ्चालन गरेको सिम्ताली होटलको सटरमा लागेको ताल्चा फोडेर चोरी गरेका थिए । चोरी कार्यमा संलग्नहरुलाई पक्राउ गरि कानूनी कारबाही अगाडी बढाएको कोहलपुर प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरले गत शनिबार बसपार्क नजिकबाट बेवारिसे २ लाख ४० हजार बराबरको लेडिज सुट, कपडा बरामद गरि आवश्यक कारबाही लागि राजस्व अनुसन्धान कार्यालय पठाएको थियो ।
इप्रका कोहलपुरका डिएसपी मल्लले यसअघि कोहलपुर क्षेत्रका उद्योगी, व्यापारी, राजनीतिक दल, विभिन्न संघसस्थासंग कोहलपुर क्षेत्रको अपराध, शान्ति सुरक्षा लगायतका विषयमा छलफल समेत गरेको थियो ।