अर्जुन दास हत्या घटनाः भारतबाट प्रहरीलाई चुनौती दिने मनोज भण्डारीसहित ४ जना पक्राउ


अर्जुन दास हत्या घटनाः भारतबाट प्रहरीलाई चुनौती दिने मनोज भण्डारीसहित ४ जना पक्राउ

नेपालगन्ज २ बैशाख : कैलालीका २५ वर्षीय युवक अर्जुन दासको हत्यामा संलग्न रहेका भनिएका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा समेतबाट खटिएको टोलीले ४ जना युवकलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो ।

पक्राउ पर्नेमा कैलालीको जानकी गाउापालिका–९ का १९ वर्षीय मनोज भण्डारी, जानकी–९ कै १९ वर्षीय सुमित साउद, सोही ठाउँका बमे भनिने बमबहादुर बोहोरा र रोनी परियार भनिने दिलिप दास छन् ।

कैलालीको जानकी गाउँपालिका–९ को अमरावती सामुदायिक वनमा सोही ठाउँका २५ वर्षीय अर्जुन दासको घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । घटनाको अनुसन्धानका क्रममा लागुऔषध प्रयोग गर्ने युवाहरुले दासको हत्या गरेको खुलेको थियो ।

हत्या गरेकै दिन घटनाका मुख्य अभियुक्त भनिएका मनोज भण्डारी सहितका युवाहरु भारत भागेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

हत्यापछि मनोज भण्डारीले एक जनालाई फोन गरेर दासको हत्या आफूले नै गरेको हो भनेको अडियो नै सार्वजनिक भएको थियो । पछि भण्डारीले एक भिडियो नै सार्वजनिक गरेर ‘हत्यारा हौं, पक्राउ गरेर देखा’ भन्दै प्रहरीलाई चुनौती समेत दिएका थिए ।

प्रहरीका अनुसार उनीहरुले मोबाइल चोरी गरेको भन्दै अर्जुनलाई जंगलमा ल्याएर रुखमा बाँधेर कुटपिट गरेका थिए । रुखमा बाँधेकै अवस्थामा खुकुरीले घाँटी रेटेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

हत्यापछि उनीहरु भारतको मुम्बई पुगेको र त्यहाँबाट गोवामा गएर लुकेर बसेका थिए । उनीहरुको खोजीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको मुम्बई नै पुगेको थियो ।

पछि उनीहरुको खोजीका लागि अपराध मशाखाबाट ‘गोप्य टोली’ परिचालित भएको थियो । अपराध महाशाखाले भने उनीहरुलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेहलियास्थित नेपाल–भारत सीमा नाकाबाट पक्राउ गरेको जनाएको छ ।