नेपालगन्ज ४ बैशाख : नेपालगन्ज मुस्लिम समुदायको बाहुल्यता रहेको क्षेत्र हो । निर्वाचनमा यहाँका मुस्लिम समुदायको मत अर्थपूर्ण रहेकाले बढि चासोका साथ हेरिने गरिन्छ ।
स्थानीय निर्वाचनको मुखमा मुस्लिम समुदायको ठूलो पर्व ईद अघिको ‘रोजा’का अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालगन्जका मुस्लिम समुदायलाई फकाएकाछन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली शनिबार नेपालगन्ज आएर यहाँका मुस्लिम समुदायलाई फकाएका हुन् ।
नेपालगन्जका मुस्लिम समुदायलाई रोजाकै बेला भावनात्मक प्रभाव पार्न सकिने भन्दै कुटनीतिक र राजनीतिमा निपुर्ण ओलीले सामुहिक रोजा इफ्तार समेत गरे । त्यसो त ओली योसंगै नेपालगन्ज तीन पटक आइसकेकाछन् ।
यसअघि कर्णाली प्रदेशका विभिन्न जिल्लामा पार्टीको सभालाई सम्बोधन गर्न नेपालगन्ज आएका ओलीले यहाँका नेता तथा कार्यकर्तासंग भेट गरेका थिए । सो बेला राप्रपाका महामन्त्री एवम नेपालगन्ज उपमहानगरपालिका मेयर समेत रहेका डाक्टर धवल शम्सेरसंग वान टू वान वार्ता समेत गरेका थिए । सो भेटले नेपाली राजनीतिमा नयाँ तरङ समेत ल्याएको थियो ।
त्यसलगत्तै चैत्र मसान्तमा होटल सिद्धार्थ भ्यूमा भएको पार्टीको कार्यक्रममा आएका ओलीले नेकपमा एसका पिल्लर मानिएका यूवा नेता किशोर थापासहित ठूलो संख्या एमालेमा समाहित गरेका थिए । सोक्रममा उनले नेकपा ‘एस’ बाँकेमा ‘भुस’ भयो भनेर उद्घोष समेत गरेका थिए ।
एमाले निकट नेपाल मुस्लिम इत्तेहाद संगठनले शनिबार आयोजना गरेको रोजा इफ्तार कार्यक्रममा ओलीले नेपाली मुस्लिम समुदायको बेग्लै पहिचान भएको बताए ।
‘नेपाली मुस्लिम समुदायको बेग्लै पहिचान छ, मुस्लिम समुदायको पहिचानलाई एमाले पार्टीले सम्मान गर्दै आएको छ,’ रोजा इफ्तारमा सम्बोधन गर्दै ओलीले भनेका थिए ।
कार्यक्रममा बोल्दै ओलीले नेपाल सामाविक विविधताको देश भएकाले रमजानले सामाजिक एकता पर्वको प्रतिक गर्ने गरेको बताए । एमाले नेतृत्वको सरकारले विगतमा मुस्लिम समुदायको चार्डपर्वलाई विशेष प्राथमिकता दिएको उनले जिकिर गरे ।
एमाले नेतृत्वको सरकारको पालामा हज कमिटीले मुस्लिम समुदायका लागि राम्रा कामहरु गरेको अध्यक्ष ओलीको दाबी छ ।
पार्टी अध्यक्ष ओलीसँगै उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेल, पार्टीका केन्द्रिय सदस्यहरु मोहम्मद हारुन, सूर्य ढकाल, पशुपति दयाल मिश्र, शान्ति ढकाल, दीपा शर्मा, जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपति लगायत नेताहरु सामुहिक रोजा इफ्तारमा सहभागी भएका थिए ।
मुस्लिम इत्तेहाद संगठनले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर पार्टी अध्यक्ष ओलीको उपस्थितीमा रोजा इफ्तार कार्यक्रम राखेको हो ।
थप समाचार
नेपालगन्ज आएर ओलीले नेकपा एस बाँकेको पिल्लर भत्काए
‘निर्वाचनमा एमाले र राप्रपाबीच तालमेल हुने’
एमाले र राप्रपाबीच तालमेल भए नेपालगन्जको कस्तो होला चुनावी नतिजा ?