राप्रपाले कसैसंग गठबन्धन नगर्ने, नेपालगन्जमा एक्लै लड्ने


राप्रपाले कसैसंग गठबन्धन नगर्ने, नेपालगन्जमा एक्लै लड्ने

नेपालगन्ज ७ बैशाख : राष्ट्रिय प्रजातन्त्र पार्टी, (राप्रपा)ले बाँकेको नेपालगन्जमा चुनावी तालमेल नगर्ने भएकोछ । आगामी स्थानीय तह निर्वाचनका लागि नेपालगन्जमा राप्रपाले कुनै पनि दलसंग गठबन्धन नगर्ने राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौडेलले पुष्टि गरे ।

जिल्ला अध्यक्ष पौडेलले बुधबार सेतोखरीसंग कुरा गर्दै भने–‘नेपालगन्ज उपमहानगरपालिकामा राप्रपाले कसैसंग गठबन्धन गर्दैन, राप्रपा एक्लै चुनाव लड्छ ।’ नेपालगन्जमा राप्रपाको राम्रो प्रभाव रहेकाले आफूहरु ढुक्क रहेको उनले बताए ।

‘नेपालगन्जमा हाम्रो पकड राम्रोछ, हामी धेरै वडाहरु जित्छौं, कसैसंग पनि गठबन्धन गर्दैनौं’ अध्यक्ष पौडेलले भने–‘यो हाम्रा लागि पनि शक्ति परीक्षणको अवस्था हो । हामीले आफ्नो मूल्यांकन पनि यहीबाट गर्छौं ।’

त्यसो त गत निर्वाचनमा नेपालगन्जको मेयरमा राप्रपाका महामन्त्री समेत रहेका डाक्टर धवल शम्शेर राणाले जितेका थिए । उनको लोकप्रियता र जनतामाझ परेको सकारात्मक प्रभावका कारण २०७४ सालको स्थानीय तह निर्वाचनमा राप्रपाले नेपालगन्ज उपमहानगरपालिकामा मेयर पदसहित तीन वटा वडा जितेको थियो । नेपालगन्जको वडा नम्बर– ५ का वडाअध्यक्ष कैफुलबरा जोलाहा र वडा नम्बर– ८ का वडाअध्यक्ष सुरेन्द्र गुप्ता ‘बैश्य’ हालै कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गरिसकेका छन् । भने वडा नम्बर– ४ का वडाअध्यक्ष मोहम्मद सफिक बेहना भने राप्रपामै छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसपटकको निर्वाचनमा डाक्टर राणाले अब मेयरमा नदोहोरिने घोषणा गरिसकेका छन् । त्यसैले पनि राप्रपा भित्र नेपालगन्जको मेयरमा आकांक्षि धेरै रहेकाछन् । राप्रपा बाँकेका अध्यक्ष पौडेलेका अनुसार नेपालगन्जको मेयरका लागि चार जना उम्मेदवार आकांक्षि भएकाले उनीहरुको नामावली केन्द्रमा सिफारिस गरिसकेको बताए ।

उनका अनुसार नेपालगन्जको मेयर पदको उम्मेदवारमा तेजविक्रम शाह, गौरव चन्द, सफिक बेहना र ओमप्रकाश आजादको नाम सिफारिस गरिएकोछ ।

शाह राप्रपाभित्र बौद्धिक नेताका रुपमा चिनिन्छन् । यसअघिको स्थानीय तह निर्वाचनमा खजुरा गाउँपालिकाको अध्यक्षका उम्मेदवार भएका थिए । तर, उनी पराजित बने । नेता आजाद २०७४ सालमा प्रतिनिधी सभा क्षेत्र नम्बर– २ बाट ‘काँग्रेस÷राप्रपा गठबन्धन’ बाट सांसदको चुनाव लडेपनि पराजित भएका थिए ।

यस्तै चन्द राप्रपाका प्रभावशाली नेता हुन् । बेहना हाल नेपालगन्ज वडा नम्बर–४ का वडा अध्यक्ष हुन् ।

यसैगरी उपमेयरमा राप्रपा नेतृ बिन्दु चर्तीमगर, कृष्णा पाण्डे र पिंकी शाह (बेहेना) आकांक्षी छन् ।

अध्यक्ष पौडेलका अनुसार राप्रपाले नेपालगन्ज उपमहानगरपालिकाका विवादरहित वडामा वडाअध्यक्षका लागि उम्मेदवार सर्वसम्मतरुपमा छनोट गरेको बताए ।

नेपालगन्ज उपमहानगरपालिकाको २३ वडा मध्ये १४ वटा वडाहरुमा आफ्नो उम्मेदवारको टुंगो लगाएको उनले जानकारी दिए । अध्यक्ष पौडेलका अनुसार हालसम्म नेपालगन्ज वडा नम्बर १,२,३,७,८,११,१३,१४,१५,१९,२०,२१,२२ र २३ मा उम्मेदवार टुंगो लागेको हो ।

यसैगरी राप्रपाले खजुरा गाउँपालिकाको अध्यक्षमा धनसिंह राना र उपाध्यक्षमा तिलकुमारी हमाललाई उम्मेद्वार बनाउने घोषणा गरिसकेको छ ।

अध्यक्ष पौडेलका अनुसार बाँकेका अन्य पालिका र वडाको उम्मेदवारको नामावली आज(बुधबार) बेलुकासम्म प्राप्त हुने र बिहीबार सार्वजनिक गर्ने गरि तयारी गरिरहेको बताए ।

थप समाचार

नेपालगन्ज मेयरमा ‘विरासत जोगाउन’ राप्रपाबाट ४ जना आकांक्षि

एमाले र राप्रपाबीच तालमेल भए नेपालगन्जको कस्तो होला चुनावी नतिजा ?

‘निर्वाचनमा एमाले र राप्रपाबीच तालमेल हुने’