नेपालगन्ज ७ बैशाख : राष्ट्रिय प्रजातन्त्र पार्टी, (राप्रपा)ले बाँकेको नेपालगन्जमा चुनावी तालमेल नगर्ने भएकोछ । आगामी स्थानीय तह निर्वाचनका लागि नेपालगन्जमा राप्रपाले कुनै पनि दलसंग गठबन्धन नगर्ने राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौडेलले पुष्टि गरे ।
जिल्ला अध्यक्ष पौडेलले बुधबार सेतोखरीसंग कुरा गर्दै भने–‘नेपालगन्ज उपमहानगरपालिकामा राप्रपाले कसैसंग गठबन्धन गर्दैन, राप्रपा एक्लै चुनाव लड्छ ।’ नेपालगन्जमा राप्रपाको राम्रो प्रभाव रहेकाले आफूहरु ढुक्क रहेको उनले बताए ।
‘नेपालगन्जमा हाम्रो पकड राम्रोछ, हामी धेरै वडाहरु जित्छौं, कसैसंग पनि गठबन्धन गर्दैनौं’ अध्यक्ष पौडेलले भने–‘यो हाम्रा लागि पनि शक्ति परीक्षणको अवस्था हो । हामीले आफ्नो मूल्यांकन पनि यहीबाट गर्छौं ।’
त्यसो त गत निर्वाचनमा नेपालगन्जको मेयरमा राप्रपाका महामन्त्री समेत रहेका डाक्टर धवल शम्शेर राणाले जितेका थिए । उनको लोकप्रियता र जनतामाझ परेको सकारात्मक प्रभावका कारण २०७४ सालको स्थानीय तह निर्वाचनमा राप्रपाले नेपालगन्ज उपमहानगरपालिकामा मेयर पदसहित तीन वटा वडा जितेको थियो । नेपालगन्जको वडा नम्बर– ५ का वडाअध्यक्ष कैफुलबरा जोलाहा र वडा नम्बर– ८ का वडाअध्यक्ष सुरेन्द्र गुप्ता ‘बैश्य’ हालै कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गरिसकेका छन् । भने वडा नम्बर– ४ का वडाअध्यक्ष मोहम्मद सफिक बेहना भने राप्रपामै छन् ।
यसपटकको निर्वाचनमा डाक्टर राणाले अब मेयरमा नदोहोरिने घोषणा गरिसकेका छन् । त्यसैले पनि राप्रपा भित्र नेपालगन्जको मेयरमा आकांक्षि धेरै रहेकाछन् । राप्रपा बाँकेका अध्यक्ष पौडेलेका अनुसार नेपालगन्जको मेयरका लागि चार जना उम्मेदवार आकांक्षि भएकाले उनीहरुको नामावली केन्द्रमा सिफारिस गरिसकेको बताए ।
उनका अनुसार नेपालगन्जको मेयर पदको उम्मेदवारमा तेजविक्रम शाह, गौरव चन्द, सफिक बेहना र ओमप्रकाश आजादको नाम सिफारिस गरिएकोछ ।
शाह राप्रपाभित्र बौद्धिक नेताका रुपमा चिनिन्छन् । यसअघिको स्थानीय तह निर्वाचनमा खजुरा गाउँपालिकाको अध्यक्षका उम्मेदवार भएका थिए । तर, उनी पराजित बने । नेता आजाद २०७४ सालमा प्रतिनिधी सभा क्षेत्र नम्बर– २ बाट ‘काँग्रेस÷राप्रपा गठबन्धन’ बाट सांसदको चुनाव लडेपनि पराजित भएका थिए ।
यस्तै चन्द राप्रपाका प्रभावशाली नेता हुन् । बेहना हाल नेपालगन्ज वडा नम्बर–४ का वडा अध्यक्ष हुन् ।
यसैगरी उपमेयरमा राप्रपा नेतृ बिन्दु चर्तीमगर, कृष्णा पाण्डे र पिंकी शाह (बेहेना) आकांक्षी छन् ।
अध्यक्ष पौडेलका अनुसार राप्रपाले नेपालगन्ज उपमहानगरपालिकाका विवादरहित वडामा वडाअध्यक्षका लागि उम्मेदवार सर्वसम्मतरुपमा छनोट गरेको बताए ।
नेपालगन्ज उपमहानगरपालिकाको २३ वडा मध्ये १४ वटा वडाहरुमा आफ्नो उम्मेदवारको टुंगो लगाएको उनले जानकारी दिए । अध्यक्ष पौडेलका अनुसार हालसम्म नेपालगन्ज वडा नम्बर १,२,३,७,८,११,१३,१४,१५,१९,२०,२१,२२ र २३ मा उम्मेदवार टुंगो लागेको हो ।
यसैगरी राप्रपाले खजुरा गाउँपालिकाको अध्यक्षमा धनसिंह राना र उपाध्यक्षमा तिलकुमारी हमाललाई उम्मेद्वार बनाउने घोषणा गरिसकेको छ ।
अध्यक्ष पौडेलका अनुसार बाँकेका अन्य पालिका र वडाको उम्मेदवारको नामावली आज(बुधबार) बेलुकासम्म प्राप्त हुने र बिहीबार सार्वजनिक गर्ने गरि तयारी गरिरहेको बताए ।
थप समाचार
नेपालगन्ज मेयरमा ‘विरासत जोगाउन’ राप्रपाबाट ४ जना आकांक्षि
एमाले र राप्रपाबीच तालमेल भए नेपालगन्जको कस्तो होला चुनावी नतिजा ?
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’