तटस्थ भएर काम गर्नेछु : वडा प्रहरी इन्चार्ज रिपेन्द्र


तटस्थ भएर काम गर्नेछु : वडा प्रहरी इन्चार्ज रिपेन्द्र

नेपालगन्ज ७ बैशाख : वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख रिपेन्द्र कुमार सिंहले तटस्थ भएर काम गर्ने प्रतिबद्धता ब्यक्त गरेकाछन् । हालै ईलाका प्रहरी कार्यालय मौलापुर, रौतहटबाट सरुवा भइ आएका प्रहरी निरीक्षक रिपेन्द्रले बुधबार पत्रकारसंग गरेको भेटमा यस्तो प्रतिबद्धता ब्यक्त गरेका हुन् ।

वडा प्रहरी कार्यालयमा आयोजित पत्रकार भेटमा बोल्दै प्रहरी निरीक्षक रिपेन्द्रले कमाण्ड सम्हाले लगत्तै वडाका जनप्रतिनिधि, राजनीतिक दल, उद्योगी, व्यवसायी, विभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधिसंग भेट समेत गरेको बताए ।

उनले भने–‘यहाँको बस्तुस्थिती, शान्तिसुरक्षा लगायत अपराधिक अवस्थाका बारेमा सुक्ष्मरुपमा अध्ययन गरिरहेकोछु । कर्तब्य पालना गर्ने विषयमा कसैको दवाव र प्रभावमा पर्ने छैन ।’

‘पत्रकार र प्रहरीबीचको सम्बन्ध नङ र मासु जस्तै हो । हामी एकअर्कालाई सहयोग गर्नुपर्छ’ प्रहरी निरीक्षक रिपेन्द्रले भने–‘हाम्रा कमीकमजोरीलाई रचनात्मक भूमिकामा औल्याइदिनुहोस् र गरेका सकारात्मक कार्यलाई प्रोत्साहन गर्नुहोला ।’

Kids Festival 2022
kanti aarogya hospital

पूर्व नेपालको तयारमा हुर्के बढेको र कार्यक्षेत्र पनि तराईमा रहेकाले मधेश, तराईको अपराध, शान्तिसुरक्षा, सामाजिक सद्भाव र अपराध अनुसन्धान आर्जन गरेको सीप, ज्ञान र क्षमतालाई भरपूर मात्रामा खर्चिने उनले बताए ।

पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रममा उपस्थित दुई दर्जन बढि पत्रकारले प्रहरी र पत्रकारबीचको समन्वय अझ सशक्तरुपमा अघि बढाउन प्रहरी निरीक्षक रिपेन्द्रलाई सुझाव दिएका थिए ।

वडामा देखिएको लागुऔषध सेवान तथा ओसारपसार, अनैतिक तथा अबान्छनिय गतिविधी, सामाजिक सद्भाव, शान्ति सुरक्षा र वडाका हरेक गली र टोलमा प्रहरीको सक्रिय उपस्थितीका लागि पत्रकारले प्रहरी निरीक्षक रिपेन्द्रलाई सुझाव दिएका थिए ।

प्रहरी प्रधान कार्यालयले गत चैत्र २५ गते शुक्रबार एकैपटक देशभरका ६७३ प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरेको थियो । निर्वाचन आयोगले आचारसंहिता लगाउने तयारी गरेको दिन नै गरिएको ठूलो संख्यामा प्रहरी निरीक्षकहरूको सरुवामा उनको नेपालगन्ज सरुवा भएको हो ।