नेपाल–भारतका सुरक्षाकर्मी ‘हाई अर्लट’, दशगजामा संयुक्त गस्ती


नेपाल–भारतका सुरक्षाकर्मी ‘हाई अर्लट’, दशगजामा संयुक्त गस्ती

File Photo

नेपालगन्ज १८ वैशाख : स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमानाका दशगजा क्षेत्रमा संयुक्त गस्ती शुरु गरिएको छ । यसअघि दशगजा क्षेत्रमा नेपाल–भारतका सुरक्षाकर्मीले गस्ती गर्दै आएता पनि निर्वाचन नजिकिएसंगै संयुक्त गस्तीलाई तिव्रता दिइएको हो ।

निर्वाचन केन्द्रित सुरक्षा सतर्कता बढाउँदै नेपाल–भारतका सुरक्षाकर्मी हाई अर्लटमा रहेका हुन् । उनीहरुले दशगजा क्षेत्रमा संयुक्त गस्तीलाई तिव्रता दिदैं सम्भावित गैरकानूनी गतिविधि रोक्न संयुक्त गस्ती गरिरहेका छन् ।

नेपाल र भारतका सुरक्षाकर्मीले दुई देशको सीमानाका जमुनाहदेखि पश्चिम सुक्खा बन्दरगाह क्षेत्र र साइगाउँसम्म संयुक्त गस्ती गरेको इलाका प्रहरी कार्यालय जमुनाहले जानकारी दिएकोछ ।

ईलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख वरिष्ठ सई मीनबहादुर विष्टका अनुसार नेपाल–भारत दुवै देशका सुरक्षाकर्मीको टोलीले सीमानाको दशगजा क्षेत्रमा शुरु गरेको संयुक्त गस्ती निरन्तर जारी रहने बताए ।

Kids Festival 2022
kanti aarogya hospital

उनले सो गस्ती जिल्लाको ६५ किलोमिटर पर्ने खुला सीमानाको सबै ठाउँमा गरिने जनाउँदै गस्ती शुरु गरिएपछि नाकामा निर्वाचन सुरक्षाको औपचारिक कार्य पनि शुरु भएको छ ।

निर्वाचनलाई ध्यानमा राखेर बाँकेको जिल्ला सुरक्षा समितिले नेपाल–भारत सीमानाका बन्द गर्ने तयारी गरेकोछ ।

यता निर्वाचन सम्पन्न भएर मतगणना पूरा नभएसम्म दुवै देशका सुरक्षाकर्मीले नाकामा संयुक्त गस्ती गर्नुका साथै नाकामा रहेका दुवै देशका सुरक्षा पोस्टका चेकजाँचलाई पनि कडाईका साथ अघि लगिने बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले बताए ।

उनले भारतमा निर्वाचन हुँदा यसैगरि दुवै देशका सुरक्षाकर्मीले मिलेर संयुक्त रूपमा गस्ती गर्दै आएको समेत बताए ।

खुला सीमानाका कारण अवैध हातहतियार भित्रिन सक्ने तथा निर्वाचनलाई प्रभावित पार्न भारतबाट पेशेवर अपराधीलाई बोलाउन सकिने वा त्यस्ता अपराधी आफैँ आउने सम्भावना अत्यधिक रहेकाले नाकामा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले बताएकोछ ।

बाँकेका ८ पालिकामा कायम गरिएका १३६ मतदान स्थलमध्ये ११२ मतदान स्थल अति संवेदनशील र २४ वटा मतदान स्थललाई संवेदनशील तोकिएको छ ।

भौगोलिक अवस्था र खुला सीमाना लगायतका कारण सुरक्षा संवेदनशीलता भए पनि जिल्लाको सुरक्षा प्रहरी नियन्त्रणमा रहेको डिएसपी न्यौपानेले बताए ।

स्थानीय तहको निर्वाचनका समयमा मतदान स्थल तथा मतदान केन्द्रसम्म जानको लागि बाटोको अवस्था, मतदान स्थल तथा केन्द्रको सुरक्षाको अवस्था र मतदाताको मनोभावना बुझेर निर्वाचन लक्षित सुरक्षा रणनीतिसहित अघि बढेको उनले बताए ।

उनले निर्वाचनलाई अत्यन्त मर्यादित र भयरहित तरिकाले सम्पन्न गर्नको लागि सुरक्षा व्यवस्था बलियो बनाउन कुनै कसर बाँकी नराखेको र यसका लागि जिल्लाका सम्बन्धित सबै निकायसंग समन्वय गरि अघि बढेको पनि बताए ।

निर्वाचन लक्षित जिल्लाको सुरक्षालाई लिएर बाँके प्रहरी हाई अलर्टमा रहेकोछ । यसका लागि ७५ जनाको रिजर्भ फोर्स २४ सै घण्टा ‘हाई अलर्ट’मा रहनेछ । जिल्ला प्रहरी कार्यालय बाँके, ईलाका प्रहरी कार्यालय कोहलपुर र ईलाका प्रहरी कार्यालय भगवानपुरमा २५–२५ जना गरी ७५ जनाको रिजर्भ फोर्स ‘हाई अलर्ट’मा राखिएकोछ ।

थप समाचार

बाँकेका ११२ मतदान स्थल संवेदनशील

बाँकेका ५५५ जनासँग इजाजत प्राप्त हतियार, सबैभन्दा बढि नेपालगन्जमा

बाँकेमा छ्यापछ्याप्ती हतियार, जनतासँगको हतियारले चुनावमा कति खतरा ?